समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ : मुख्यमन्त्री पौडेल

समृद्ध नेपाल निर्माणको अभियानमा पत्रकार पनि लाग्नुपर्छ : मुख्यमन्त्री पौडेल


काठमाडौं ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले देशलाई समृद्ध बनाउने योजनालाई सफल बनाउन पत्रकार पनि लाग्नुपर्ने बताएका छन् । पौडेलले समाज परिवर्तन गर्ने दायित्व पत्रकारको पनि भएको बताउँदै सकारात्मक समाचारलाई प्रथमिकता दिन अनुरोध गरे ।

प्रेस सङ्गठन, नेपालको वाग्मती प्रदेश कमिटीका सदस्य तथा पदाधिकारीको शपथग्रहण कार्यक्रम तथा प्रथम प्रदेश भेलामा बोल्दै उनले सञ्चारमाध्यमले नकारात्मकता प्रवाह गरेर नागरिकमा नैराश्यता पैदा गराइदिनु नहुने बताए । पत्रकारले सरकारका राम्रा कामका बारेमा जनतालाई सुसूचित गराउनुपर्ने बताउँदै उनले पत्रकारहरु आफ्नो दायित्वबाट पन्छिन नहुने धारणा राखे ।

अवस्था अनुसार नेतृत्व अलग हुने गरे पनि सरकार भनेको देशको स्थायी राज्य सञ्चालक भएकाले सरकारप्रति नै बितृष्णा उत्पन्न गराउँदा जनताको नैराश्यता बढ्ने र राष्ट्रियता कमजोर हुने भन्दै मुख्यमन्त्री पौडेलले सरकारप्रति सकारात्मक भैदिन अनुरोध गरे ।

सरकारले गरेका राम्रा कामलाई राम्रो र नराम्रा कामलाई नराम्रो भन्नुपर्नेमा कतिपयले नराम्रोलाई नराम्रो भनिहाल्ने तर राम्रोलाई नदेख्ने र देखिहाले पनि नराम्रो गरी नै प्रस्तुतिकरण गर्ने गरेको देखिएकोले त्यसले कसैलाई पनि राम्रो नगर्ने उनको भनाइ थियो । “हामी मात्रै ठिक र अरु सबै बेठिक भन्ने मानसिकतालाई त्याग्नु आवश्यक छ”, उनले भने।

कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले पत्रकारका लागि प्रदेशले धरै कुरा गर्न चाहेको भए पनि नसकिरहेको बताए । उनले देशको ‘मेकानिज्म’ नै परिर्वतनको बाधक भएको बताए । उनले व्यवस्था बदलिएर पनि कसैलाई केही फरक नपरेको बताए । मन्त्री जम्कट्टेलले कुरा गरेर समाजवाद नआउने बताउँदै काम गरे मात्र परिवर्तन हुने उल्लेख गरे।
रासस

Logo