हुण्डीको अवैध कारोवार गर्ने पक्राउ

हुण्डीको अवैध कारोवार गर्ने पक्राउ


विराटनगर,

अवैधरुपमा सीमावर्ती भारतीय बजार जोगबनीबाट नेपाली रकमको हुण्डीको कारोवार गर्दै आएका दुई जनालाई सात लाखसहित पक्राउ गरी प्रहरीले आइतबार सार्वजनिक गरेको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित भन्सार कार्यालय अगाडिको ३९ प ७३९६ नम्बरको मोटरसाइकल जाँचको क्रममा विराटनगर–१४ ओमसाइराम टोल बस्ने ३० वर्षीय ज्योतिकुमार साह र पछाडि बस्ने भारत जोगबनी–१७ का १९ वर्षीय बिक्की कुमारबाट शुक्रबार सात लाख बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता राजकुमार खिउँले जानकारी दिनुभयो ।

प्रहरीले सोधपुछको क्रममा उक्त रकम विराटनगरका एक व्यापारीलाई बुझाउन प्रति एक लाख बराबर १०० पारिश्रमिक पाउनका लागि ल्याएको बताएका छन् । निजहरुलाई थप आवश्यक अनुसन्धान र कारवाहीका लागि मूल भन्सार कार्यालय विराटनगर रानी बुझाइएको प्रहरीले जनाएको छ ।

घुस लिएको अभियोगमा पक्राउ

यता अख्तियार दुरुपयोग अनुसनधान आयोगले १५ हजार घुस लिएको अभियोगमा जिल्ला अदालत पश्चिम रुकुममा कार्यरत नायब सुब्बा रमेशकुमार खड्कालाई पक्राउ गरेको छ । नायब सुब्बा खड्कामाथि अदालतबाट फैसला भइसकेको मुद्दामा मालपोत कार्यालयलाई जग्गा दाखिला दर्ता पूर्जी उपलब्ध गराउनुपर्नेमा नगराई एक सेवाग्राहीसँग घुस लिएको आरोप लागेको छ ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार आयोगको सुर्खेतबाट गएको टोलीले कात्तिक २२ गते खड्कालाई १५ हजार घुससहित मुसिकोट नगरपालिका– १ खलङ्गास्थित राप्ती होटलबाट पक्राउ गरिएको हो । आयोगले अनुसन्धान कार्य जारी रहेका कारण उल्लेख गर्दै खड्काको पक्राउबारे आइतबारसार्वजनिक रुपमा जानकारी दिएको हो ।
रासस

Logo