केन्द्रबिन्दु बुलेटिन : कांग्रेस प्रतिनिधिसभा विघटनको विपक्षमै रहेको देउवाद्वारा स्पष्ट (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : कांग्रेस प्रतिनिधिसभा विघटनको विपक्षमै रहेको देउवाद्वारा स्पष्ट (भिडियोसहित)


काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँचवटा समाचार प्रस्तुत गर्ने गरेका छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमको विरुद्धमै रहेको प्रष्ट परेका छन् । प्रतिनिधिसभा विघटनबारे नेपाली कांग्रेसभित्र फरक मत रहेको हल्ला भएपछि सभापति देउवाले विज्ञप्ति नै निकालेर आफू संसद विघटनको विरुद्धमै रहेको र सोमबार हुने प्रदर्शनको प्रस्ताव पनि आफैँले अघि सारेको प्रष्ट्याएका हुन् ।

प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै माइतीघर मण्डलामा नागरिक समाजका अगुवाहरुले विरोध प्रदशर्न गरेका छन् । प्रदर्शनमा सहभागिहरुले शंख बजाएर विरोध गरेका हुन् । यता, राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले भने, सरकारद्वारा घोषणा गरिएको चुनावको स्वागत गर्दै राजसंस्था र हिन्दु राष्ट्रको माग गर्दै राजधानीमा मोटरसाइकल र्याली निकालेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले शुक्रबार पाँच वर्ष पूरा गरेको अवसरमा आफ्नो प्रगति विवरण सार्वजनिक गरेको छ । जस अनुसार, प्राधिकरणले भूकम्प प्रभावित ३२ जिल्लामा अहिलेसम्म निजी आवासको पुनर्निर्माणको काममा ९० प्रतिशत भन्दा बढी प्रगति भएको उल्लेख गरेको छ । प्राधिकरणका अनुसार हालसम्म पुनर्निर्माणका लागि स्वीकृत भएको कुल बजेट ४ खर्ब ८८ अर्ब रुपैयाँ मध्ये कुल ३ खर्ब ३९ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

यूकेमा देखिएको कोरोना भाइरसको नयाँ प्रकार फ्रान्समा पनि पहिलो पटक देखा परेको छ । नयाँ प्रकारको भाइरसका बारेमा थप चासो र चिन्ता बढिरहेका बेला यो भाइरस डेनमार्क, अस्ट्रेलिया र नेदरल्यान्ड्समा पनि देखिएको छ । यसले मानिसमा थप त्रास सृजना गरेको छ । तर, यो नयाँ प्रकारको भाइरस थप घातक भएको कुनै प्रमाण भने नभेटिएको विविसीले उल्लेख गरेको छ ।

शनिबारबाट सुरु भएको प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टिम एपीएफले विजयी सुरुवात गरेका छन् । शनिबार दाङको लमहीमा सुरु भएको प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनीले प्रदेश २ माथि ९ विकेटको फराकिलो जित निकाल्यो भने एपीएफले पनि कर्णालीमाथि २ सय ४ रनको फराकिलो जित निकालेको छ ।

Logo