नेपाली कांग्रेसका सांसद अफताब आलम पक्राउ

नेपाली कांग्रेसका सांसद अफताब आलम पक्राउ


रौतहट । रौतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद मोहम्मद अफताब आलम पक्राउ परेका छन् । नेपाली कांग्रेसबाट निर्वाचित सांसल आलमलाई २०६४ चैत्र २७ गते रौतहटको राजपुर खदवामा भएको बम विस्फोटमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको हो ।

आइतबार बिहान पौन ११ बजे पक्राउ परेका आलमलाई जिल्ला प्रहरी कार्यालय रौटहटमा राखिएको छ । संविधानसभा निर्वाचनलाई लक्षित गरेर बम बनाउँदै गर्दा बम बिस्फोट हुँदा केही मानिसको मृत्यु भएको थियो भने २३ जना बढी घाइते भएका थिए ।

प्रमाण नष्ट गर्नका लागि घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएर मारेको अभियोगमा किटानी जाहेरी परेपछि उनलाई प्रहरीले खोजी गरेको थियो।

२०६५ असार ३० गते महान्यायाधीवक्ताको कार्यालय मार्फत जिल्ला सरकारी कार्यालय रौतहटले अनुसन्धान प्रतिवदेन हेरेर मुद्दा नचलाउने निर्णय गरेको थियो ।

२०६९ जेष्ठ १४ तत्कालिन न्यायाधीश शुशीला कार्कीको इजलासले जघन्य अपराधमा छानबिन गरेर मुद्दा चलाउने आधार हुँदा हुँदै अनुसन्धान नगरेकोमा सुरुबाट अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई आदेश दिएको थियो । सर्वोच्चको आदेश पालना नगरेको भन्दै घटनाका पीडित परिवारले अदालतको मानहानी भएको भन्दै पुनः सर्वोच्चमा निवदेन दिएका थिए ।

सर्वोच्चको आदेश अनुसार आरोपीलाई पक्राउ गरेर थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी भुपेन्द्र खत्रीले जानकारी दिए । आलम नेपाली कांग्रेसका पूर्वजिल्ला सभापति एवं पूर्व केन्द्रिय सदस्य समेत हुन्। उनलाई पक्राउ गरेसँगै प्रहरीले जिल्लामा उच्च सतर्कता अपनाएको छ ।

Skip This
Logo