खेम भण्डारीले हाले रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा मुद्दा

खेम भण्डारीले हाले रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा मुद्दा


कञ्चनपुर । पत्रकार खेम भण्डारीले ‘सिधा कुरा जनतासंग’ कार्यक्रमका प्रस्तोता रवि लामिछाने विरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् । पत्रकारिताको विश्वव्यापी मान्यता, सिद्धान्त र आचारसंहिता तथा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघद्वारा जारी गरिएको पत्रकार आचारसंहिताको उल्लघन गरेको भन्दै पत्रकार भण्डारीले लामिछानेविरुद्ध उजुरी हालेका हुन् ।

लामिछानेसहित न्यूज २४ टेलिभिजन, सिधा कुरा जनतासंग कार्यक्रम विरुद्ध ईमेल मार्फत मुद्धा दर्ता गरिएको पत्रकार भण्डारीले सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । उनले पत्रकार आचारसंहिताको उल्लंघन गर्दै विपक्षीहरुले आफुलाई समेत अन्यायमा पारेको र पत्रकारिता पेशालाई नै कलंकीत पार्ने गरि काम गरेको आरोप लगाएका छन् ।

सिधा कुरा जनतासँग नामक कार्यक्रमबाट आफ्नो चरित्र हत्या गर्ने तथा पत्रकारिताकै मान मर्दन गर्ने गरेको भन्दै उनलाई हदैसम्मको कारवाही माग गरेका छन् । उनले कार्यक्रममा आउँदा लाग्ने सबै खर्च दिने सहमति भएको तर पछि टिकटको पैसा फिर्ता मागेको समेत बताएका छन् ।

उनले भनेका छन्, ‘२०७६ साउन १६ को कार्यक्रममा सञ्चालक लामिछानेले पनि टेलिभिजनमैं बोलेका थिए र मसँगको एसएमएस सम्वादमा पनि उनले ती शर्त स्वीकारेका थिए । तर, विपक्षीहरुले कुनै पनि शर्त पालना गरेनन् । न्यूज–२४ टेलिभिजनले मेरा लागि धनगढी–काठमाडौंको आतेजाते हवाई टिकट पठाइदिएको भए पनि कार्यक्रमकै बीचमा सञ्चालक लामिछानेले सो रकम फिर्ता मागे । पछि मैले रु. १२०००।– (बाह्र हजार) बुझाएँ जसमध्ये उनले मलाई रु. २००।– फिर्ता गर्नुपर्ने थियो तर अहिलेसम्म सो रकम मैले फिर्ता पाएको छैन । पूर्वशर्त र पूर्वसहमतिको धज्जी उडाउँदै विश्वव्यापी प्रचलनअनुसार मेरो सबै खर्च स्वयं टेलिभिजनले उठाउनुपर्ने भए पनि उल्टै निकृष्टताको हद नाघेर कार्यक्रममैं मसँग रकम फिर्ता मागियो । यो निकृष्टताले नेपाली पत्रकारितालाई थप कलंकित बनाएको छ ।’

पत्रकार भण्डारीले विपक्षीहरुलाई माफीनामामा दस्तखत गराई तथा न्यूज २४ टेलिभिजनको सोही कार्यक्रमबाट क्षमायाचना गराउनको समेत माग गरेका छन् ।

उक्त निर्देशन नटेरेमा राज्यबाट विपक्षीहरुले पाउने सबै सुविधा स्थगन गराउन उनले निवेदनमा उल्लेख गरेका छन् । त्यस्तै उक्त प्रकरण नेपाली पत्रकारिताको निधारमा लागेको कलंक भएको ठहर गर्दै सो सम्बन्धमा व्यापक छलफल गरी पत्रकारितालाई स्वच्छ राख्नका लागि नयाँ कानुनी व्यवस्थातर्फ पहल गरिदिन समेत अनुरोध गरेका छन् ।

Logo