रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी चौधरी पक्राउ

रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी चौधरी पक्राउ


रुपन्देही । रुपन्देही सामूहिक बलात्कारका मुख्य आरोपी दुई हप्तापछि पक्राउ पक्राउ परेका छन् । गैडहवा गाउँपालिकामा गत असार २ गते राति भएको सामूहिक बलात्कारका मुख्य आरोपी विष्णु थारु चौधरी पक्राउ दुई सातापछि पक्राउ परेका हुन् ।

गैडहवा गाउपालिका–८ का २२ वर्षीय थारुलाई रुपन्देहीकै सूर्यपुरा इलाकाबाट गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय, लुम्बिनीका प्रमुख प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए ।

उक्त बलात्कार घटनामा संलग्नको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रम गैडहवा गाउँपालिका संयोजक ३० वर्षीय जीवन ज्ञवाली यसअघि नै पक्राउ परेका छन् ।

असार २ गते साँझ गैडहवा ९ नागेश्वरीचोकको एक रेष्टुरेन्टमा विष्णु चौधरीसँगै दुई युवती राति १० बजेसम्म मदिरा सेवन गर्दै बसेका थिए । घर छोड्ने भनेर दुई युवतीलाई बाइकमा राखेर फर्कने बेला हसनापुरस्थित बोर्डिङ स्कूल नजिकको खेतमा चौधरीले एक युवतीमाथि बलात्कार प्रयास गरेका थिए ।

अर्की युवती भागेर गाउँमा पुगेर गुहार मागेपछि गाउँका युवाहरु घटनास्थलमा पुगेका थिए । तर उनीहरुले संरक्षण दिनुको साटो आफैं बलात्कारमा संलग्न भएको युवतीहरुले प्रहरीलाई बताएका थिए । चौधरीले घटना बाहिर नल्याउन धम्की दिएका कारण तीन दिनपछि मात्र घटना सार्वजनिक भएको थियो ।

युवतीहरुले बलात्कार गर्ने मध्येमा जीवन ज्ञवाली र चौधरीलाई मात्र चिनेको बयान दिएका थिए । चौधरीले ती दुई युवतीसँग घटनाको २ दिन अघिदेखि निरन्तर फोन सम्पर्क गरेको अनुसन्धानबाट खुलेको छ । बलात्कारको शिकार भएका दुईमध्ये एकजना विवाहित र अर्की अविवाहित हुन् ।

Logo