प्याड लगाउँन सिकाउँदै अभिनेत्री प्रियंका (भिडियोमा)

प्याड लगाउँन सिकाउँदै अभिनेत्री प्रियंका (भिडियोमा)


सुजाता मुखिया

काठमाडौं । ‘न महिना वारी, न महिना पारी, म हुँ महिनाभरी’ लेखिएको टिर्सट लगाएर प्रियंका कार्की र आयुष्मान देशराज जोशी सोमबार धनुषा पुगे । आयंका फाउण्डेशनले आयोजना गरेको महिनावारी सचेतना लगायत विभिन्न कार्यक्रममा सहभागि हुन उनीहरु धनुषा पुगेका हुन् । खानेपानी मन्त्रालयले उनीहरुलाई महिनावारी स्वच्छता दूत नियुक्त गरेको थियो ।

उनीहरुले महिनावारीप्रति आम मानिसहरुमा रहेको नकारात्मक धारणालाई चिर्न आयंका फाउण्डेशन मार्फत् यो अभियान थालेका हुन् । एक महिनाअघि स्थापना भएको उक्त फाउण्डेशनले धनुषाका ३ विद्यालयबाट यो अभियानको शुरुवात गरेको छ । नायिका प्रियंका आयंका फाउन्डेसनकी अध्यक्ष हुन् भने, अभिनेता आयुशमान देशशराज जोशी उक्त फाउण्डेशनका कोषाध्यक्ष हुन । त्यस्तै फाउन्डेसनका सल्लाहकारमा सरोज ओली रहेका छन् ।

धनुषा जिल्लाको तीन विद्यालय जनता मावि, हरिपुर निगाहरपुर मावि र आधारभुत निमाविमा कार्यक्रम आयोजना गरी विभिन्न सामाग्रीहरु वितरण गरेको छ । पञ्चकन्या फाउण्डेसनको सहयोगमा महिलामैत्री शौचालय निर्माण गरि तीन वटै विद्यालयमा उक्त सामाग्रीहरु हस्तान्तरण गरिएको हो । फाउण्डेसनले तीनवटै विद्यालयमा दुईवटा महिलामैत्री शौचालय, १० वटा फलफूलका विरुवा, २ थान डस्टविन, सय थान स्कुल व्याग वितरण गरेको थियो ।

त्यस्तै केजीएच फाउण्डेसनको सहयोगमा ५० थान पुनः प्रयोग गर्न मिल्ने प्याडको किट पनि वितरण गरिएको थियो । कार्यक्रममा अभिनेत्री प्रियंका कार्कीले महिनावारीको विषयमा अहिलेसम्म खुलेर कुरा गर्ने संस्कार विकास भइनसकेको भन्दै छात्राहरुलाई महिनावारी भएको समयमा सरसफाईमा विशेष ध्यान दिन आग्रह गरिन् ।

साथै महिनावारी भएको बेला लाज नमान्न अनुरोध गर्दै यो प्राकृतिक कुरा भएकोले सबै छात्राहरुलाई प्याडको प्रयोग गरिसकेपछि पुनः घाममा सुकाएर प्रयोग गर्न पनि सल्लाह दिइन् । केजीएच फाउन्डेसनको सहयोगमा वितरण गरिएको उक्त प्याड वातावरणमैत्री रहेको नायिका कार्कीले बताइन् । कपडा र कपासबाट बनेको प्याडको एउटा किटले एक बर्षसम्म पुग्ने र धोएर पुनः प्रयोग गर्न सकिने भएकोले पर्यावरणमा पनि कुनै असर नगर्ने उनले बताइन् ।

फाउन्डेसनका कोषाध्यक्ष आयुष्मानले महिलाहरु महिनावारी भएको बेला पुरुषहरुले महिलाहरुको बिशेष ख्याल राख्नुपर्ने बताए । महिनावारी भएको बेला महिलाको पीडालाई बुझेर पुरुषहरुले सहयोग गर्नुपर्ने उनको भनाई थियो । साथै उनले आयंका फाउण्डेशन महिला सचेतनामा निरन्तर लागिरहने प्रतिबद्धता पनि ब्यक्त गरे ।

Logo