मलद्वार नभएका शिशुको उपचारमा आर्थिक अभाव

मलद्वार नभएका शिशुको उपचारमा आर्थिक अभाव


दमक

धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नर्मल डेलिभरी गरेपछि झापा दमक–४ की दीपा माझीलाई चिकित्सकले डिस्चार्ज गरिदिए ।

सबै सरसामान मिलाएर उनी घर फर्किने तयारीमा थिइन् । डाइपर लगाउने बेलामा उनले थाहा पाइन्, शिशुको मलद्वार नै रहेनछ ।

उनका अनुसार अस्पतालका स्वास्थ्यकर्मीले शिशुको मलद्वार भए नभएको ख्याल गरेका रहेनछन् । पछि थाहा पाएपछि चिकित्सकले शल्यक्रिया गरेर शिशुको पेटबाट दिसापिसाब बाहिर निस्कने प्वाल बनाइदिए ।

दीपालाई फेरि उपचारमा ल्याउनू भन्दै घर पठाइदिए । शिशुको दिसापिसाब चिकित्सकले पेटमा बनाइदिएको प्वालबाटै बाहिर जान्छ ।

यो घटना तीन महिना अघिको हो । दीपालाई अहिले तीनमहिने छोरोको मलद्वार खुला गर्न चाहिने रकम अभाव भएको छ । छोराको उपचार खर्च जुटाउन सकिरहेकी छैनन् उनी ।

परिवारिकको आर्थिक अवस्था कमजोर भएकै कारण शिशुको उपचारमा समस्या देखिएको छ । ‘चिकित्सकले अस्ति नै ल्याउनू भनेका थिए’, दीपाले भनिन्, ‘पैसा नभएर लैजान सकिएन ।’

उपचारमा ६० हजार रुपैयाँ मागिएको र रकम जुटाउन नसक्दा समस्यामा परेको उनले दुखेसो पोखिन् । ‘उपचारमा कति खर्च हुन्छ भन्ने कुरा उपचारपछि मात्रै थाहा हुन्छ भनेका छन् ।’

अहिलेसम्म कसैबाट पनि सहयोग नपाउँदा उनी थप तनावमा छिन् । उपचारमा सहयोग गरिदिन सबैलाई उनले आग्रह गरेकी छिन् ।
अन्नपूर्णबाट

Logo