प्रधानमन्त्रीको निर्देशन यातायात मन्त्रीसम्म पुगेन : टुटल र पठाओ

प्रधानमन्त्रीको निर्देशन यातायात मन्त्रीसम्म पुगेन : टुटल र पठाओ


काठमाडौँ

मोबाइल एप्लिकेसन (एप्स) मार्फत उपत्यकामा भाडामा सञ्चालित मोटरसाइकल र स्कुटरलाई निर्वाध चल्न दिने प्रधानमन्त्री केपी ओलीको निर्देशनलाई यातायात व्यवस्था विभागले कार्यान्वयन गर्न अटेर गरेको छ ।

प्रधानमन्त्री ओलीले बुधबार सिंहदरबारस्थित योजना आयोगको बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रधुवीर महासेठलाई भाडामा चल्ने मोटरसाइकल र स्कुटरलाई नरोक्न निर्देशन दिएका थिए । तर विभागले प्रधानमन्त्रीको निर्देशन अनुसार मन्त्रालयबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा भाडामा सञ्चालित दुईपांग्रे सवारीसाधनलाई निर्वाध चल्न दिन भनी कुनै निर्णय गरेको छैन ।

निजी सवारीसाधन भाडामा चलाउनु गैरकानुनी

सवारी यातायात व्यवस्था ऐन, २०४९ को दफा ८ को उपदफा १ बमोजिम दर्ता भएको निजी सवारीसाधन भाडामा चलाउन नपाउने व्यवस्था छ । त्यसो हुँदा उक्त ऐन संशोधन नभएसम्म प्रधानमन्त्रीकै निर्देशन भए पनि निजी प्रयोजनमा दर्ता भएका सवारीसाधन भाडामा चलाउनु गैरकानुनी हुने यातायात व्यवस्था विभागको भनाइ छ ।

यातायात व्यवस्था विभागले माथिल्लो निकायबाट कुनै लिखित निर्देशन प्राप्त नहुँदा टुटल र पठाओ एप्स प्रयोग गरी भाडामा सञ्चालित मोटरसाइकल र स्कुटर निर्वाध चल्न दिने कुनै निर्णय नभएको जनाएको छ । विभागका अनुसार उजुरी परेमा प्रहरीले कुनै पनि वेला त्यस्ता मोटरसाइकल फेरि पनि नियन्त्रणमा पर्ने स्पष्ट पारेको छ ।
नयाँ पत्रिकाबाट

Logo