प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो

प्रधानमन्त्रीसँग प्रश्न सोध्न पाउने भएपछि संसद् खुल्यो


काठमाडौँ

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको माग अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तरमा सहभागी गराउने सभामुख कृष्णबहादुर महराको आश्वासनपछि संसद् बैठक सञ्चालन भएको छ । प्रधानमन्त्रीसँग प्रश्नोत्तर गर्न नदिए संसद् बैठक अवरुद्ध गर्ने कांग्रेस अडानपछि सभामुख महराले संसद्को अर्को बैठकमा उक्त कार्यक्रम राख्ने आश्वासन दिएका थिए । सो आश्वासनपछि कांग्रेसले बुधबारको बैठक अघि बढ्न दिएको हो ।

प्रधानमन्त्री ओलीले आइतबारको संसद् बैठकमा सम्बोधन गरेपछि विपक्षीलाई प्रश्न गर्न नदिएकोमा रुष्ट कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले संसद् बैठकको सुरुमा बोल्दै प्रतिनिधिसभाको नियमावली बमोजिम प्रधानमन्त्रीले आफूले संसद्मा दिएको सार्वजनिक महत्वको विषयमा जवाफ दिनुपर्ने बताए । ‘सरकार संसद्प्रति उत्तरदायी हुनुपर्छ । संसदप्रति सभामुख उत्तरदायी नभए सदन अवरुद्ध हुुन्छ । यस्तो घटना दोहोरिरहनु सदनको मर्यादाको लागि उपयुक्त हुँदैन,’ उनले भने । सदनले प्रश्न सोध्दा सरकार किन उत्तर दिन खोज्दैन भन्दै उनले भने यसमा आफूहरूको गम्भीर आपत्ति रहेको बताए । प्रमुख सचेतक खाँणले भने, ‘सभामुखले यसलाई सहजतापूर्वक अघि बढाउनु पर्दछ ।’
नागरिकबाट

Logo