इमरानको नाम स्वर्णक्षरमा लेखिन सक्छ !

इमरानको नाम स्वर्णक्षरमा लेखिन सक्छ !


पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान अहमद खान यतिवेला चर्चाको शिखरमा छन् । उनको पार्टीसँग बहुमत सांसद छैनन् । यही कारण कुनैपनि वेला उनी अपदस्त हुन सक्छन् । यसअर्थमा कमजोर प्रधानमन्त्रीको रुपमा उनले इन्ट्री मारेका छन् । तर इन्ट्री हुँदा हुँदै उनले लोकप्रियता ‘गेन’ गरेका छन् । पूर्व क्रिकेटर इमरानले पहिलो बलमा नै छक्का शैलीमा संसारवाट ताली बटुलेका छन् । यसै सन्दर्भमा राजनीतिक विश्लेषक तथा कवी हरि अधिकारीको विचार पठन योग्य लागेकाले जस्ताको त्यस्तै राखेका छौं । सं

हरि अधिकारी
पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान अहमद खान नियाजीले मूलत सामन्ती संस्कार भएको त्यस इस्लामिक गणतन्त्रको सत्ता सम्हालेका क्षणदेखि नै सोच र शैलीका हिसाबले केही क्रान्तिकारी कदम चालेका छन् । त्यस मुलुकका उनका पूर्ववर्ती प्रमहरूद्वारा आफ्नो निजी आवास, सचिवालय, सहायक गण, गाडी, सुरक्षा दस्ता आदिमा गरिंदै आएको भयानक अपब्यय रोक्न कम्मर कसेका पूर्व क्रिकेटर इमरानले ती शीर्षकहरूमा भइरहेको खर्चमा व्यापक कटौती गरेर पाकिस्तानी निजामतलाई आम अवामको नजिक ल्याउने जुन जमर्को गरेका छन् त्यसको सर्वत्र प्रशंसा भएको छ ।

विदेशबाट झिकाएको हजारौं रुपियाँ पर्ने पानी खाने प्रधानमन्त्री भएको हाम्रो देशका जनताहरूका लागि त खान साहेब अनुकरणीय नेता हुने नै भए । त्यसैले नेपालीहरूले खानको विरुदावली गाउन सुरु गरिसकेका छन् भलै उनको मीतव्ययिताको अनुकरण यहाँका नेताहरूले गर्ने कुरा अकल्पनीय नै किन नहोस् !

धनी, शौकीन स्वभाव भएका, विविधित् बिबाह र मात्र सहबास गरेर आधा दर्जन जति महिलाहरूसँग घोषित सम्बन्ध बनाइसकेका प्रम इमरानले यस्तो सात्विक जीवन यापन गर्ने निर्णय गर्नु आफैँमा महत्वपूर्ण छ । आफ्नो यस निर्णयमा टिकेर उनले भ्रष्टाचारमा घाँटीसम्म डुबेको पाकिस्तानको सार्वजनिक जीवनको सुद्धीकरणको प्रक्रियालाई वास्तवमै अगाडि बढाउन सके भने उनी विश्वकै उदाहरणीय नेता बन्नेछन् ।

पकिस्तानी निजामको सदरे आजमका रूपमा प्रम खानको यात्रा सजिलो भने छैन । त्यस देशको राजनीतिलाई नेपथ्यबाट आफ्नो इच्छा माफिक घुमाइरहेका रूढाग्रही इस्लामिक अतिवादीहरू, सैनिक नेतृत्व र आईएसआईको चक्रव्युह जस्तो लाग्ने जालोलाई तोडेर कास्मीर मुद्दाको सर्वमान्य समाधान खोज्नु र सन् १९४७ देखि नै वैरभाव रहँदै आएको र ३ पटक आमुन्ने सामुन्नेको युद्ध भइसकेको छिमेकी भारतसँगको सम्बन्धलाई मित्रवत् बनाउनु उनका सामुन्ने उभिएका दुई ठूला चुनौतीहरू हुन् । त्यसमाथि उनको सरकार अल्पमतको भएकोले कुनै पनि क्षण अपदस्थ हुनसक्ने डरलाई साथै लिएर हिँडिरहेका छन् उनी ।

अलि गहिरिएर हेर्ने हो भने चाहिँ त्यो डरलाई असीमित तागतमा परिणत गरेर इतिहासमा आफ्नो नाम अमर बनाउने अवसर पनि छ उनीसँग । त्यसो गर्न उनले ‘गए त्यही एउटा पद जाने त हो’ भनेर जति दिन सत्तामा रहने अवसर प्राप्त गर्छन् तिनको पकिस्तानका करोडौं शोषित पीडित जनताको हितमा उपयोग गरेभने त्यो डर असीमित तागतमा परिणत हुनेछ । पाकिस्तानी समाजमा क्यान्सरझैँ फैलिएको भ्रष्टाचार, सामन्ती सोच, धार्मिक अतिवाद, महिलामाथिको अत्याचार र धनी र गरीबका बीचको दूरी कम गर्न थोरै मात्रामा भए पनि सफलता प्राप्त गर्न सके भने यी ’कप्तान’ को नाम स्वर्णाक्षरमा लेखिनेछ त्यस देशको राजनीतिक इतिहासमा ।

स्रोत –सामाजिक सञ्जाल

Skip This
Logo