काठमाडौं

सरकारले समय अभावको कारण देखाउँदै संसदमा ‘फास्ट ट्र्याक’बाट विधेयकहरू पारित गर्न थालेको छ । "/>

संसदमा नियम निलम्बन गर्दै सरकार : ३ वटा विधेयक फास्ट ट्र्याकबाट पारित

संसदमा नियम निलम्बन गर्दै सरकार : ३ वटा विधेयक फास्ट ट्र्याकबाट पारित


काठमाडौं

सरकारले समय अभावको कारण देखाउँदै संसदमा ‘फास्ट ट्र्याक’बाट विधेयकहरू पारित गर्न थालेको छ । असार १५ गते यता मात्रै पनि तीन वटा विधेयक सरकारले फास्ट ट्र्याक विधिबाट पारित गरेको छ ।

संसद्को कार्यसञ्चालन नियमावलीका कतिपय धारा निलम्बन गर्दै सरकारले बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक, राष्ट्रियसभा गठन सम्बन्धी प्रतिस्थापन विधेयक र संघीय संसद्का महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारि श्रमिक, सेवाको सर्त र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

संसद आफैंले पारित गरेको संसद्को कार्यसञ्चालन नियमावलीका केही धारालाई निलम्बन गर्दै छोटो विधिबाट विधेयकहरू संघीय संसद्को बैठकबाट पारित हुन थालेका हुन् । सोमबार मात्रै पनि बेपत्ता छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (पहिलो संशोधन) विधेयक ०७५ तीन पटक छुट्टाछुट्टै समयमा बैठक बसी प्रतिनिधिसभाले पारित गरेको छ ।

प्रतिपक्षी कांग्रेस लगायत अन्य साना दलका सांसदको असहमति हुँदाहुँदै सरकारले नियम निलम्बनको विधिबाट ती विधेयक पारित गरेको हो । अझै केही विधेयक त्यसरी नै पारित गर्ने तयारीमा सरकार छ । कतिपय विधेयक निर्धारित समय भित्रै पारित गरिसक्नु पर्ने बाध्यात्मक अवस्थामा सरकार रहेकाले नियम निलम्बन गरेर विधेयक पारित गर्नुपर्ने अवस्था आएको कानुनमन्त्री शेरबहादुर तामाङले बताए ।

‘समय अभावका कारण फास्ट ट्र्याक विधिबाट विधेयक पारित गर्नु पर्ने अवस्था आएको हो’, उनले भने, ‘यो समयको बाध्यात्मक चापलाई सांसदहरुले पनि बुझ्नु भएकै छ ।’ कतिपय प्रतिस्थापन विधेयक संसद सुरु भएको ६० दिन भित्र पारित गरिसक्नु पर्ने संवैधानिक व्यवस्थाका कारण सरकार चापमा छ । समयमै विधेयक संसदमा दर्ता नगरेका कारण सरकारलाई अहिले समयको बाध्यात्मक चाप परेको हो । त्यही क्रममा उसले अहिले संसद्को कार्यासञ्चालन नियमावलीका धारा निलम्बनको अस्त्र प्रयोग गर्दैै विधेयक पारित गर्ने शैली अपनाएको हो ।
अन्नपूर्णबाट

Logo