सालाकी श्रीमतीलाई सांसद बनाउन खोज्दा…

सालाकी श्रीमतीलाई सांसद बनाउन खोज्दा…


प्रदेश ५ की राजपा सांसद बिना पन्तले राजीनामा दिएकी छिन् । पन्त रुपन्देहीबाट राजपाकी समानुपातिक सांसद निर्वाचित भएकी थिइन् । निर्वाचन आयोगले उनी निर्वाचित भएको घोषणा गरे पनि शपथ नै नलिई उनले पदबाट मंगलबार राजीनामा दिएकी हुन् । ७ माघमा शपथग्रहणका दिन उनी उपचारका क्रममा भारतको लखनउमा थिइन् । उनलाई सांसद बनाएकोमा पार्टीभित्र विवाद बढेपछि शपथ नै नलिई राजीनामा दिएकी हुन् ।

‘स्वास्थ्य अवस्था’को कारण देखाउँदै राजीनामा

पन्त राष्ट्रिय जनता पार्टीका नेता सर्वेन्द्रनाथ शुक्लकी सालाकी श्रीमती हुन् । अस्वस्थता तथा प्रदेश सदस्य बन्ने इच्छा नभएकाले राजीनामा नै दिने तहसम्म उनी पुगेको शुक्लले दाबी गरे । बिनाका श्रीमान् प्रेम शर्माले चिकित्सकले ‘टेन्सन हुने काम नगर्न’ सुझाब दिएकाले कुरियरमार्फत निर्वाचन आयोगमा राजीनामा पठाएको बताए । बिना पन्त अहिले पनि भारतमा उपचाररत रहेको उनले जानकारी दिए ।

पन्तलाई प्रदेश सभा सदस्य बनाएपछि राजपामा असन्तुष्टि बढेको थियो, जसका कारण उनी थप तनावमा थिइन् । तर, श्रीमान् प्रेमले पार्टीभित्र दबाब बढेको र दबाब झेल्नुपरेकोबारे केही बोलेनन् ।

पार्टीमा कुनै योगदान नगरेकी पन्तलाई एकाएक प्रदेश सांसद बनाएपछि नेता शुक्लको आलोचना भएको थियो । तर, उनी आफूमाथिको आरोपमा कुनै सत्यता नरहेको दाबी गर्छन् । ‘२८ वर्षको राजनीतिक जीवनमा मेरा दाजुभाइ तथा रगतको नाता पर्ने कसैलाई पनि लाभको पदमा पुर्‍याउने भूमिका खेलेको छैन,’ उनले भने, ‘नातावाद, कृपावाद गरेको हुन्थेँ भने उनलाई हात समातेर शपथ गराउन लैजाने थिएँ, त्यसैले पार्टीमा विवाद छ र मैले नातावाद गर्‍यो भन्ने कुरा वाहियात हो ।’

राजपा नेता भन्छन्, ‘शुक्लले च्याप्न  खोज्दाको परिणाम’

समानुपातिकमा शुक्लले आफूखुसी पन्तको नाम पहिलो नम्बरमा राखेर पठाउँदा यस्तो अवस्था आएको राजपाका एक नेताले बताए । ‘आफन्तलाई पार्न शुक्लले यसो गरेका हुन्,’ ती नेताले भने, ‘खस–आर्य भए पनि नाम लेखाउँदा मधेसी महिलामै पहिलो नम्बरमा लेखाइएको थियो । तर, आफन्त भन्दै धेरै विवाद भएपछि उनको नाम फिर्ता बोलाउन लगाइएको बुझिएको छ ।’

यसरी उनको नाम पठाएको थिएँ : शुक्ल

निर्वाचन आयोगमा खस–आर्यबाट १० जनाको नाम पठाउनुपर्ने थियो । तर, खर्स–आर्यको कार्यकर्ता शून्य भएपछि मैले नै खोजेर बिना पन्तलाई पठाएको हुँ । पार्टीका कार्यकर्ताबाट छान्दा नाम नपुगेर उनलाई राखेर पठाएको हुँ । कोटा पुर्‍याउन नाम पठाए पनि उनी निर्वाचित हुन्छिन् भन्ने थिएन । त्यहाँ पठाइएका नाममध्ये जनजाति, मुस्लिमलगायतबाट अरू महिला परेको भए कार्यकर्ता नै पर्ने थिए । मलाई बिनाको नाम पठाउने इच्छा थिएन । उनका श्रीमान्ले बिनाले सांसद पदबाट राजीनामा दिन लागेको बताए । मैले आयोगमा राजीनामा दिन सुझाब दिएँ । उनी अलि लामो समयदेखि डिप्रेसनबाट पीडित छिन् । प्रदेश सदस्यमा निर्वाचित हुनुभन्दा पहिलेदेखि नै उनी अस्वस्थ रहँदै आएकी थिइन् । उनले राजीनामा दिएपछि पार्टीकै कार्यकर्ताले अवसर पाउँछन् ।

अब के हुन्छ ?

प्रदेश ५ की राजपा सांसद बिना पन्तले पदबाट दिएको राजीनामा निर्वाचन आयोगको केन्द्रीय कार्यालय पुग्न अझै केही दिन लाग्नेछ । राजीनामापत्र प्राप्त हुँदैमा आयोगले स्वीकृत गर्नेछैन । ‘सांसदहरूको राजीनामा स्वीकृति गर्ने निकाय आयोग होइन,’ आयोगका प्रवक्ता नवराज ढकालले भने, ‘निर्वाचन आयोगले परिणाम घोषणा गरिदिने हो । पद खाली भएमा चुनाव गरिदिने हो ।’

आयोगले सांसदको राजीनामा स्वीकृत गर्ने विषय आफूसँग नरहेको बताएकाले बिना पन्तको राजीनामा प्रकरणको टुंगो लाग्न पनि समय लाग्ने देखिएको छ । प्रदेश सभा सदस्यको विषय भएकाले पार्टीले उनको राजीनामाबारे प्रदेश सभालाई जानकारी गराउने र प्रदेश सभा वा सरकारमार्फत केन्द्रीय सरकारसमक्ष अनुरोध गरी आयोगलाई पद खाली भएको जानकारी गराएपछि अर्को सदस्य निर्वाचित हुन सक्ने बताइन्छ । नयाँ पत्रिका

Logo