काठमाडौं,११,मंशिर
आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक सय वर्ष कटेका वृद्ध वृद्धाले पनि मतदान गरेका छन् । "/>

सय वर्ष उमेर कटेका वृद्धवृद्धाद्वारा पनि मतदान

सय वर्ष उमेर कटेका वृद्धवृद्धाद्वारा पनि मतदान


काठमाडौं,११,मंशिर
आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा एक सय वर्ष कटेका वृद्ध वृद्धाले पनि मतदान गरेका छन् । उनीहरुले छोरा छोरी तथा आफन्तको सहयोगमा मतदान गरेका हुन् । मतदान गर्न पाउँदा उनीहरु अत्यन्तै खुसी देखिन्थे । बैतडीको सुनर्या गाउँपालिका–८ कठ्मडाकी ११४ वर्षीया वृद्धा पशुपति साउदले मतदान गरेकी छन् । कान्छा छोरा प्रताप साउदले बोकेर ढोल्या मतदान केन्द्रमा पुर्याए पछि वृद्धा साउदले मतदान गरेकी हुन् । वृद्धा साउदका चार छोरा छन् । अहिले उनको परिवार २७ जनाको भइसकेको छ । उनका जेठा छोरा हरि साउद ७२ वर्षका छन् भने कान्छा छोरा पनि ५२ वर्षका भइसके ।

आफूले पञ्चायतकाल देखि अहिले सम्म निरन्तर मतदान गर्दै आएको उनको भनाइ छ । बिहानै मतदान स्थल पुगेकी वृद्धा पशुपतिले आफूले ११४ वर्ष टेक्दा सम्म मुलुकमा धेरै परिवर्तन देखिसकेको बताइन् । ‘उहिले बाटोघाटो, सडक, खानेपानी, टेलिफोन, रेडियो, टेलिभिजन केहीको पनि विकास थिएन,’ पछिल्लो समयमा आएको परिवर्तन भोग्न पाएकी उनले हँसिलो मुद्रामा भनिन्, ‘अहिले आफैंले मोबाइलमा कुरा गर्न पाएकी छु, मोटर चढ्न पाएकी छु ।’ आफ्नो भोट पाएर जितेका नेताले समाजको विकासको काममा ध्यान दिनुपर्ने उनको कथन थियो । यसैगरी बैतडीको सुनर्या गाउँपालिका–५ की १०८ वर्षीया नन्दा लुहारले पनि मतदान गरेकी छन् । लुहारले रौलेश्वर माविमा रहेको मतदान केन्द्रबाट मत खसालेको स्थानीय नरेन्द्र विष्टले जनाए । सोही मतदान केन्द्रबाट ९४ वर्षका जयबहादुर विष्ट, ८२ वर्षका महावीर विष्टले पनि मतदान गरे । यस्तै सुनर्या गाउँपालिकै वडा नम्बर ४ मा ९९ वर्षीया मानमतीदेवी चन्दले पनि भोट हालेको स्थानीय प्रकाश भाटले बताए ।

नुवाकोटको ककनी गाउँपालिका–८ की ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकी छिन् । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आइतवार अपराह्न मतदान गरेकी हुन् । उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए । १० चैत १९५९ सालमा जन्मेकी लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा व्यक्त गरिन् । यस्तै नुवाकोटको सूर्यगढी गाउँपालिका–३ का १०१ वर्षका अनन्तप्रसाद अधिकारी पनि आइतवार नै भएको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी भए । नाति समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट उनले मत दिएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिए । यसैगरी बाजुराको बडीमालिका नगरपालिका–५ मनाका १०२ वर्षीय रत्न साउदले पनि मतदान गरेका छन् । उनले मनामा रहेको कैलाशेश्वरी मतदान केन्द्रमा मतदान गरेका हुन् । त्यस्तै सो मतदान केन्द्रमा बडीमालिका नगरपालिका ५ मनाकै १०१ वर्षीय धने साउदले पनि मताधिकार प्रयोग गरेको धर्म विकले जानकारी दिए ।

राजधानीबाट

Logo