धानबालीमा कतै फौजी कीरा, कतै खैरो फड्के कीराको प्रकोप

धानबालीमा कतै फौजी कीरा, कतै खैरो फड्के कीराको प्रकोप


केन्द्रबिन्दु संवाददाता । बर्दिया, २५ असोज ।

गुलरियाका किसानले लगाएको धानमा फौजी कीराको प्रकोप बढेको छ । फौजी कीराले फलेका धानको पात खाएर खेत नै बाँझो बनाउने अवस्थामा पु¥याएको हो ।

गुलरिया नगरपालिकाको विभिन्न स्थानमा लगाइएको धानमा फैलिएको फौजी कीराको प्रकोपले पाकेको धान खाएर खेत नै बाँझोे अवस्थामा पु¥याएको एक किसानले बताए । फौजी कीराको प्रकोप गुलरियाको थारु पर्सिया, मथुरा हरद्वार, खैरापुर क्षेत्रमा देखिएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।

कीराले धानको बाला खाएर क्षति पुर्याएपछि जिल्ला कृषि विकास कार्यालयका प्रमुख परशुराम रावत तथा सरोकारवाला निकायको प्रतिनिधिसहितको टोलीले कीरा प्रभावित क्षेत्रको मंगलबार अवलोकन गरेको थियो ।

फौजी कीराको प्रकोप देखा परेका स्थानमा जिल्ला कृषि विकास कार्यालयले निःशुल्क रूपमा विषादी वितरण गरिने कृषि विकास कार्यालयका प्रमुख परशुराम रावतले बताए ।

जिल्ला कृषि विकासका प्राविधिकले फौजी कीरा नियन्त्रण गर्न १ लिटर पानीमा २ एमएल इमिडोकोलोप्रिड नामक विषादी मिसाएर धानको गाँज भिज्ने गरी छर्कनुपर्ने बताए ।
पुतली प्रजातिको एक प्रकारको लार्भाले काट्न बाँकी धानको बाला काटेर नष्ट पार्न थालेको प्रमुख रावतले बताए । दिउँसो शान्त भएर बस्ने तर राति र बादल लागेको बेला मात्र सक्रिय रहने एक प्रकारको कीराले धानको बाला काट्ने र खाने गरेको प्रमुख रावतले बताए । सुख्खा र घमाइलो मौसममा फैलने र हुर्कने फौजी कीराको नामले पनि चिनिने यो कीराको हुलले एकै रातमा पनि ठूलो नोक्सानी पार्ने गरेको कृषि प्राविधकहरू बताउँछन् ।

फौजी कीराको लार्भा उत्पादन भएको २५ दिनसम्म सक्रिय हुने गरेका छन् । त्यही समयमा उक्त कीराले आक्रामक रूपमा हरियो वनस्पति खाने हुँदा धान जोगाउन नियमित विषादीको प्रयोग र हेरचाहमा विशेष ध्यान दिनुपर्ने कार्यालयले जनाएको छ ।

पाल्पाको धानमा खैरो फड्के कीराको प्रकोप
यसैबीच राससले जनाएअनुसार, पाल्पामा पनि धानबालीमा खैरो फड्के कीराको प्रकोप देखा परेको छ । पश्चिम पाल्पामा धानको फूल फुल्नासाथ खैरो फड्के कीराको प्रकोप देखा परेको कृषकले बताएका छन् । अर्गली क्षेत्रमा लगाइएको धानबालीमा यसले निकै सताउन थालेको छ ।

जिल्लाको धान उत्पादनका लागि मुख्य पकेटक्षेत्र मानिएको अर्गली फाँटमा धानबालीमा खैरो फड्के कीराले बाली नै सखाप पारेको अर्ग कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पाण्डेले बताए । कीराको प्रकोप बढ्न थालेपछि बोट नै मर्न थालेको छ ।

जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत कफिल अहमदले निराकरणका लागि इमिडा क्लोपिरिड नामक विषादीको प्रयोग गर्न कृषकलाई सल्लाह दिएका छन् । खेतमा पानी जमिराखेको अवस्थामा सो कीराले धानबालीलाई सताउने उनले बताएउनुभयो ।

खैरो फड्के कीराले धान पसाउने बेलामा आक्रमण गर्छ । डाँठमा बसी चुसेर खाएपछि धानको बोट नै मर्छ । यसको रोकथामका लागि कृषकले खेतमा पानी जम्न नदिने र जमेको पानी सुकाए खैरो फड्के कीराबाट बचाउन सकिने पाण्डेको भनाइ छ । यस वर्ष धानको उत्पादन घट्ने चिन्तामा कृषक छन् ।

 

Skip This
Logo