विभेद विरुद्धको एउटा ओजनदार भाषण जसले संसारलाई रुवायो

विभेद विरुद्धको एउटा ओजनदार भाषण जसले संसारलाई रुवायो


स्पष्ट वक्ता र स्वतन्त्रताका लागि कसैसँग सम्झौता नगर्ने अहिंसावादी योद्धा थिए मार्टिन लुथर किङ जूनियर । वासिंग्टन डिसीस्थित अब्राहम लिंकनको शालिक अगाडि उभिएर  उनले अगस्ट २८, १९६३ मा जोडदार भाषण दिए। रोजगारी र स्वतन्त्रताको माग गर्दै वासिङटनमा मार्चपासमा उत्रिएका झन्डै तीन लाख मानिसले यो भाषण प्रत्यक्ष सुने । किङको भाषण सुनेपछि भावूक भएर काला र गोराहरुले एक अर्कालाई अंकमाल गरेको दृश्य त्यतिबेला टेलिभिजनमार्फत प्रशारण भएको थियो, जसलाई संसारभर लाखौंले हेरेका थिए।  प्रस्तुत छ, त्यही भाषणको भावानुवाद :

यो प्रदर्शन स्वतन्त्रताका लागि एक महान् प्रदर्शनका रूपमा हाम्रो इतिहासमा दर्ज हुनेछ । त्यस्तो प्रदर्शनमा आज तपाईंहरू माझ उपस्थित हुन पाउँदा खुसी लागेको छ ।  १ सय वर्षअघिका एक महान् अमेरिकी अब्राहम लिंकन, उनको प्रतिमूर्तिको छायामा आज हामी उभिएका छौँ । उनले स्वतन्त्रताको बिगुल फुकेका थिए । अन्याय र उत्पीडनमा परेका लाखौँ काला जाति दासका लागि उनले गरेको मुक्तिको घोषणा आशाका किरण बोकेर आएको थियो । लामो रातको अन्त्यपछि सुखद दिनको शुभारम्भका रूपमा त्यो घोषणालाई लिइयो ।

तर आज १ सय वर्षपछि अझै कालाजाति स्वतन्त्र छैनन् । सय वर्षपछि कालाजातिको जीवन अझै विभाजन र विभेदको जन्जिरले बाँधिएको छ । १ सय वर्षपछि अझै पनि निग्रो अर्थात् कालाजाति भौतिक समृद्धिको महासागरबीच गरिबीको एक्लो टापुमा निराश जीवन बाँचिरहेका छन् । उनीहरू अझै अमेरिकी समाजको कुनामा थन्क्याइएका छन् । र, आफ्नै भू–भागमा लज्जाजनक अवस्थामा शरणार्थी जीवन बिताउन बाध्य छन् ।

यस अर्थमा आज हामी राजधानीमा आफ्नो पुरानो चेकबाट नगद साट्न आएका छौँ । हाम्रो गणतन्त्रका अभियन्ताहरूले संविधानमा सही शब्द रोज्दै स्वतन्त्रताको घोषणा गरेका थिए । उनीहरूको भीष्मप्रतिज्ञा सबैका लागि थियो । हो, काला, गोरा सबैका लागि जीवनको अधिकार सुरक्षित गर्ने उनीहरूको प्रतिज्ञा थियो । स्वतन्त्रता र खुसीको बहार थियो । तर, आज अमेरिकाले त्यो प्रतिज्ञा पूरा गर्न सकेन । आज अमेरिकाले कालाहरूलाई क्षतिपूर्तिका नाममा नक्कली चेक दिएको छ । त्यस्तो खाताको चेक जहाँ पर्याप्त पैसा छैन । तर, हामी अझै न्यायको बैंक लुटिएको मान्न तयार छैनौँ । 

सम्भावनाको खानी रहेको यस देशको बैंकमा जनताका लागि न्यायको पर्याप्त रकम छैन भन्ने हामीलाई पटक्कै विश्वास छैन । हामी त्यही चेकलाई नगदमा बदल्न आएका छौँ । त्यस्तो चेक, जसले हामीलाई बदलामा हदैसम्मको स्वतन्त्रता र न्यायिक सुरक्षा दिनेछ ।

हामी यस पवित्र क्षेत्रमा उत्शृंखल बन्दै गएको वर्तमान तनाव सुनाउन पनि आएका हौँ । हामीसँग कुलिङ अफको आनन्द लिने वा निरन्तर विकासका प्रक्रिया आत्मसात गर्दै धैर्यताको ड्रग्स लिने समय छैन । यो विभाजनको अँध्यारो मरुभूमिबाट उठ्दै रंगभेद हटाएर न्यायको सुनौलो गोरेटोमा बढ्ने समय हो । हाम्रो देशलाई रंगभेदको बालुवाबाट उठाएर भ्रातृत्वको कडा चट्टानसम्म लैजाने समय हो। यो समय भगवानका सबै बालबच्चाका लागि न्यायको सपना वास्तविकतामा परिणत गर्ने समय हो ।

वर्तमान आन्दोलनको महत्वलाई कम आँक्नु राष्ट्रका लागि खतरनाक हुनेछ । यो अधिकारप्रतिको निग्रोको असन्तुष्टिको तातो गर्मीयाम हो । त्यसैले स्वतन्त्रता र समानताको हिउँदले ताजा नगरेसम्म यो तातो पोल्ने गर्मी हट्ने छैन । सन् १९६३ अन्त्य होइन, तर सुरुआत हो । त्यसैले अमेरिकाले फेरि पुरानै अवस्थामा फर्कन खोजे निग्रोहरू असभ्य रूपमा जाग्नेछन् ।  निग्रोले आफ्नो अधिकार नपाएसम्म अमेरिकामा न शान्ति हुनेछ, न त अमनचयन नै । आन्दोलनको आँधी हाम्रो देशको जगसम्म पुग्नेछ, जतिबेलासम्म न्यायको सुनौलो घाम उदाउने छैन ।

न्यायको दरबारसम्म पुर्‍याउने दैलोमा उभिनुभएका जनतासामु मैले अझै केही भन्नै पर्ने हुन्छ । हामीले आफ्नो अधिकार प्राप्तिका क्रममा गलत काम गरेर पश्चाताप गर्नुपर्ने दिन नआओस् । घृणा र अशान्तिको कपबाट पानी खाएर अधिकारको तीर्खा मेट्ने प्रयास कृपया हामी नगरौँ । हामीले हाम्रो संघर्षलाई अनुशासन र वजनको अग्लो विमानमा सजाउनुपर्छ । सिर्जनात्मक प्रदर्शनलाई भौतिक दंगा वा उत्शृंखलतामा लगेर ठोक्काउनु राम्रो हुँदैन । जारी राख्नुपर्छ ।

फेरि फेरि पनि हामीले राजकीय शैलीमा उदाउँदै भौतिक फौजसँग आत्मिक बलले लड्ने ताकत राख्नुपर्छ । निग्रो समुदायका हरेक सैन्यले हामीलाई प्रत्येक गोराहरूसँग अविश्वास गर्नका लागि बाध्य पार्न मिल्दैन । हाम्रा धेरै गोरा दाजुभाइ आज साक्षीका रूपमा यहाँ उपस्थित हुनुहुन्छ । उहाँहरूलाई थाहा छ कि हाम्रो गन्तव्य र उहाँहरूको गन्तव्य जोडिएको छ । उहाँहरूले यो मनन गरिसक्नुभएको छ कि हामी स्वतन्त्र नभएसम्म उहाँहरूको स्वतन्त्रता कुण्ठित नै रहनेछ ।

हामी एक्लै हिँड्न सक्दैनौँ । हामीले हिँड्दा सधैँ प्रतिज्ञा गर्न सक्नुपर्छ, हामी अगाडि जानेछौँ । हामी पछाडि फर्कन सक्दैनौँ । त्यहाँ जनअधिकारका अनुयायीसँग प्रश्न राख्नेहरू भन्छन्, ‘तिमीहरू कहिले सन्तुष्ट हुन्छौ ?’

हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौँ, जति बेलासम्म निग्रोहरू प्रहरीको क्रूरताका कारण त्रासविरुद्ध बोल्न सक्दैनन् ।

हामी त्यति बेलासम्म सन्तुष्ट हुन सक्दैनौँ, जति बेलासम्म हाम्रो शरीरले लामो यात्रापछि थकित भएर सहरको होटलमा आराम गर्न कोठा पाउँदैनौँ ।

हामी निग्रोका आधातभूत तत्व पूरा नभएसम्म सन्तुष्ट हुँदैनौँ ।

हामी कहिल्यै सन्तुष्ट हुँदैनौँ जबसम्म हाम्रा बालबालिका आफ्नोपनबाट नांगो रहन्छन् र ‘गोराहरूका लागि मात्रै’ भनेर लेखिएका संकेतहरूबाट उनीहरूको विचारको तौल लुटिन्छ ।

हामी त्यति बेलासम्म सन्तुष्ट हुँदैनौँ, जति बेलासम्म मिसिसिपीको निग्रोले भोट गर्ने अधिकार पाउँदैन ।

त्यति बेलासम्म जतिबेलासम्म न्युर्योकको निग्रोले भोट हाल्नुपर्ने कारण पाउँदैन ।

हामी त्यति बेलासम्म सन्तुष्ट हुनेछैनौँ, जति बेलासम्म ‘न्याय पानी जसरी बग्नेछैन र अधिकार कडा मूलझैँ फुट्ने छैन ।’

तपाईहरुमध्ये यहाँ उपस्थित धेरैले महान् समस्या भोगेको कुरासँग म बेखबर छैन । कोही भर्खरै जेलबाट छुटेर आउनुभएको छ । कसैले आफ्नो क्षेत्रमा स्वतन्त्रताका लागि लड्दा मानसिक पीडाको आँधी र प्रहरीको क्रूरता सामना गर्नुपरेको छ । तपाईंहरू सिर्जनात्मक पीडाका दिग्गज हुनुहुन्छ । यो विश्वासका साथ काम अघि बढाउनुहोस् कि नसुनिएको पीडा अझै शक्तिशाली हुन्छ ।

मिसिसिपी फर्कनुस्, अलाबामा फर्कनुस्, दक्षिणी कारोलिना फर्कनुस्, जर्जिया फर्कुनस्, लुइसियाना फर्कनुस् । उत्तरी सहरका झुपडीहरूतिर फर्कनुस्, यो बुझेर कि अहिलेको अवस्थामा परिवर्तन हुनेछ ।

आशाबिनाको उपत्यका भ्रमण नगर्नुहोस्, मेरा साथीहरू, आज म भन्दै छु । हामी आज र भोलिका समस्या भोग्दै छौँ, मसँग अझै सपना छ । यो सपना अमेरिकी सपनासित गहिरोसँग जोडिएको छ ।

मेरो सपना छ कि एक दिन यो राष्ट्र जाग्नेछ र यसको सच्चा अर्थसँग मलाई विश्वास छ । यो सत्य साँचो हुनेछ कि सबै मानिसको सृष्टि समान हो ।

मेरो सपना छ, एक दिन जर्जियाको रेडहिलमा पूर्वनोकरको छोरा र पूर्वनोकरको मालिकको छोरा एउटै टेबुलमा भ्रातृत्वको भावनासहित बस्ने छन् ।

मेरो सपना छ, एक दिन मिसिसिपी राज्य, अन्यायको गर्मी चढेको राज्य, दमनको गर्मी चढेको राज्य, एक दिन स्वतन्त्रता र न्यायको राज्य बन्नेछ ।

मेरा सपना छ, एक दिन मेरा चार छोराछोरी त्यस्तो देशमा हुनेछन्, जहाँ उनीहरूको मूल्यांकन छालाको रंगबाट होइन, बरु उनीहरूको चरित्रबाट हुनेछ ।

मसँग आज सपना छ ।

मसँग सपना छ । अलाबामा, जहाँ क्रूर रंगभेदी छन्, त्यहाँ एक दिन सानो कालो बच्चा र सानी काली बच्चीले सानो गोरो बच्चा र सानी गोरी बच्चीसँग दाजु र बहिनीका रूपमा हात मिलाउनेछन् ।

मसँग आज सपना छ ।

मसँग सपना छ । कुनै दिन सबै उपत्यका उच्च हुनेछन् र सबै पहाड तथा हिमालहरू झुकेका हुनेछन् ।

बाँझो जमिनहरू खेतीयोग्य हुनेछन् र घुमाउरा ठाउँहरू सीधा हुनेछन् । भगवानको महिमा प्रदर्शन हुनेछ र सबै जीवितहरूले त्यसलाई एकसाथ हेर्नेछन् । यो हाम्रो आशा हो र यही आशा बोकेर म दक्षिण जाँदै छु ।

यही विश्वासका साथ हामी आशाको ढुंगाले हामी निराशाका शिखर चिर्नेछौँ । आशाको ढुंगा खोज्नेछु । जंगली अवस्थामा रहेको हाम्रो देशलाई भ्रातृत्वको सुन्दर कलाका रूपमा रुपान्तरण गर्नेछु । यही आशाका साथ हामी एकसाथ काम गर्न सक्छौँ । एकसाथ प्रार्थना गर्न सक्छौँ । एकसाथ संघर्ष गर्न सक्छौँ ।

एकसाथ जेल जान सक्छौँ । एकसाथ स्वतन्त्रताका लागि उभिन सक्छौँ । यही थाहा पाएर कि एक दिन हामी स्वतन्त्र हुनेछौँ । र, त्यो दिन हुनेछ, जब सबै भगवानका बालबच्चाले नयाँ अर्थसहित हाम्रो राष्ट्रिय गीत गाउनेछन् । र, यदी अमेरिका महान् देश हुने यो भने यो साँचो हुन आवश्यक छ ।

स्वतन्त्रतालाई न्यु ह्याम्प्सायरको हिलटपबाट बज्न दिऔँ

स्वतन्त्रतालाई न्युर्योकको हिमालहरूबाट बज्न दिऔँ…

स्वतन्त्रतालाई हरेक पहाड र मिसिसिपीबाट बज्न दिऔँ…

यस्तो हुनेछ र हामीले स्वतन्त्रतालाई बज्न दिनेछौँ । जब हामीले यसलाई हरेक गाउँ, राज्य र सहरबाट बज्न दिनेछौँ, तब एक दिन सबै भगवान्का सन्तान, काला र गोरा, जिउज र जेन्टाल्स, प्रोटेस्टटेन्ट र क्याथोलिकहरू एकसाथ हातेमालो गर्न सक्नेछौँ र पुराना निग्रोका आध्यात्मिक शब्द एकसाथ गाउन सक्नेछौँ ।

अन्त्यमा स्वतन्त्र ! अन्त्यमा स्वतन्त्र !

धन्य भगवान्, अन्त्यमा हामी स्वतन्त्र छौँ…

मार्टिन लुथर किङबारे

मार्टिन लुथर किङको यो भाषण सुनेपछि कार्यक्रममा उपस्थित भएका गोरा र कालाहरुले भावूक भएर एकअर्कालाई अंकमाल गरेका दृश्य टेलिभिजनहरुले प्रशारण गरेका थिए। अमेरिकामा गोरा र कालाहरुबीचको विभेद अन्त्यका लागि मार्टिन लुथर किङको यो भाषण हिजो जति सान्दर्भिक भएको थियो । आज पनि उत्तिकै सान्दर्भिक छ । विभेदको अन्त्यका कुरा चल्दा यस भाषणलाई उदाहरणका रुपमा पेश गरिन्छ ।

३७ वर्षअघि मार्टिन लुथर किङमाथि गोली प्रहार भएको थियो । आजिवन मानवता, समानता र न्यायको वकालत गर्ने मार्टिन लुथर किङले यस घटनासँगै आँखा चिम्लिए । हत्या आरोपमा प्रहरीले धेरैलाई पक्राउ गरेर अनुसन्धान समेत गर्‍यो । तर हत्या कसले गर्‍यो भन्ने विषय अझै रहस्यमै छ ।

मार्टिन लुथर किङ लाई छोटकरीमा ‘एमएलके’ भनेर पनि सम्बोधन गरिन्छ । अमेरिकाका थुप्रै राज्यमा तत्कालीन समयमा रहेको काला र गोराबीचको विभाजन र त्यसले जगाएको बदलाभावलाई मेटाउन उनले खेलेको भूमिकालाई विश्वले कहिल्यै भुल्नेछैन । सत्याग्रही एमएलकेबाट संसारका धेरै नेताहरु प्रभावित भएका छन् ।

 एमएलकेले सन् १९५९ मा भारत भ्रमण गरेर गान्धी परिवारलाई भेटेका थिए, जसले उनलाई आफ्नो आन्दोलन उत्सर्गमा पुर्‍याउन थप प्रेरणा दियो ।

१९५५ को घटना टर्निङ प्वाइन्ट

सन् १९५५ मा १५ वर्षकी एक बालिकाले मोन्टगोमेरीमा एक गोरा व्यक्तिलाई आफू बसेको सिट छाड्न अस्वीकार गरिन् । गोराको सिटमा जबर्जस्ती बसेको भन्दै उनलाई तत्काल प्रहरीले पक्राउ गर्‍यो । त्यसयता कालाहरुले एमएलकेकै अगुवाईमा आन्दोलन छेडे । उनीहरुले बस नै बहिष्कार गर्न थाले ।

बसमा पनि काला र गोराका लागि छुट्टाछुट्टै सिटको व्यवस्था हुन्थ्यो । अस्पताल, विद्यालय र सिनेमा हलमा समेत त्यस्तै व्यवस्था थियो । जसको विरोधमा कालाहरुले एमएलकेकै अगुवाईमा तीन सय ८१ दिनसम्म अहिंसावादी आन्दोलन छेडे । सुरुमा मार्टिन लुथर किङलाई यो आन्दोलन सफल हुँदैन कि भन्ने शंका समेत थियो ।

तर एकदिन उनले एक वृद्धलाई लौरो टेकेर पैदल हिँडिरहेको देखेँ । ‘जून दिन काला र गोराहरुबीचको विभेद हट्दैन त्यतिबेलासम्म म बस चढ्ने छैन्,’ ती वृद्धले भनेकी थिइन् । यसरी समानताका पक्षमा कालाहरुले थालेको आन्दोलनमा गोराहरुको समेत साथ मिल्दै गयो । 

राजनीतिमा आएका दुर्लभ अवसर सदुपयोग गर्न एमएलके माहिर थिए । उनले विभेदलाई अवसरका रुपमा बुझे र निरन्तर संघर्ष जारी राखे । यहीबीचमा एट्लान्टातर्फ सन् १९६० मा पुगेको थियो, उनको परिवार । उनीले त्यहाँ एक चर्चमा आफ्ना बाबुसँगै सहायक पास्टरको काम गर्न थाले ।

तर, नयाँ पदले उनलाई संघर्षमा लाग्नबाट रोकेन । उनीहरुले नयाँ आन्दोलन चाले । मार्चपास सहितका शान्तिपूर्ण बस बहिष्कारको आन्दोलन जारी रह्यो । सर्वाधिक रंगभेद हुने सहरमा उनीहरुले आन्दोलन जारी राखे । उनले सन् १९६३ मा वासिंग्टनमा कालाहरुलाई समान रोजगारी र स्वतन्त्रका लागि पनि आवाज उठाए ।

आन्दोलनको विश्वव्यापी चर्चा भयो । त्यही वर्ष अगस्टमा तीन लाखसम्मले प्रदर्शनमा सहभागिता जनाए । उनको अविराम संघर्षले अन्नत अमेरिकी सरकारलाई झुकायो । सन् १९६४ मा समान अधिकारसहितको नयाँ ऐन पारित भयो ।

सन् १९६४ मै एमएलके नोबल शान्ति पुरस्कारबाट सम्मानित भए, जतिबेला उनी ३५ वर्षका थिए । त्यसको एक वर्षपछि अमेरिकाले मतदानसम्बन्धी ऐन ल्यायो ।

एमएलके लोकप्रियताको शिखरमा थिए । त्यसैले उनको हत्यामा धेरै संलग्न रहेको अनुमान गरियो । भियतनाम युद्धको विरोधमा उत्रिएर कालाको मात्रै नभई गोराहरुको समेत मन जित्ने मार्टिन लुथर किङसँग तत्कालीन सरकार समेत असन्तुष्ट थियो ।

मार्टिन लुथर किङको योगदानको कदर गर्दै सरकारले सन् १९८६ देखि अमेरिकामा सार्वजनिक बिदा दिँदै आएको छ । मार्टिन लुथर किङ सिनियर (एमएलकेका बाबु)  चर्चका पास्टर थिए । उनकी श्रीमती अल्बार्ट विलियम्स किङ शिक्षिका थिइन् । उनीहरु दुवैले छोराले गरेको संघर्ष देखे । छोराको उचाइ देखेँ र आफ्नै अगाडि उसको कारुणिक हत्या देखेँ । जसको रहस्य उनीहरुको निधनपछि पनि खुल्न सकेको छैन ।

Logo