काठमाडौं । यस वर्षको नोबेल शान्ति पुरस्कारका लागि स्वीडेनकी एक १५ वर्षे किशोरी मनोनयनमा परेकी छन् । जलवायु परिवर्तनको क्षेत्रमा योगदान पुर्याएवापत १५ वर्षीया किशोरी ग्रेटा थन्बर्गलाई नोवेल शान्ति पुरस्कारको लागि नाम मनोनय सूचीमा परेको हो ।
नर्वेका तीन जना सांसदले उनलाई मनोनित गरेका हुन् । उनको नाम मनोनित गर्दै नर्वेका सांसद फ्रेडी एन्ड्रे ओभ्स्टगार्डले भने, ‘हामीले जलवायु परिवर्तन रोक्न केही गरेनौं भने यसले युद्ध, कलह र शरणार्थी समस्याको उत्पादन गर्नेछ ।
यदि उनले जितिन् भने पाकिस्तानकी मलाला युसाफजाईको रेकर्ड तोड्नेछिन् । मलालाले १७ वर्षको उमेरमा नोबल शान्ति पुरस्कार जितेकी थिइन् ।
शुक्रबार हजारौं स्कुले विद्यार्थीले संसारका १०० भन्दा बढी देशमा जलवायू परिवर्तन विरुद्ध प्रदर्शन गर्दैछन् । थन्बर्गले सुरु गरेको ‘फ्राइडे फर द फ्यूचर’ नामक अभियान अन्तरगत यो प्रदर्शन गर्न लागिएको हो ।
आजको कार्यक्रम अहिलेसम्मकै सबैभन्दा ठूलो हुने थन्बर्गको दावी छ । थन्बर्गले ट्विटरमा आफूलाई ‘१६ वर्षकी जलवायु कार्यकर्ता’ भनेर चिनाएकी छन् । उनले गत वर्षको अगष्टमा स्वीडेनको सांसद अगाडि पहिलोपटक आफ्नो समुहसहित प्रदर्शन गरेकी थिइन् । त्यसयता उनले हरेक शुक्रबार विभिन्न कार्यक्रम गर्दै आएकी छन् ।
प्रकाशित: १ चैत २०७५ १४:०६ शुक्रबार