चर्चित लेखक मुस्ताकको जेलमै मृत्यु भएपछि बङ्लादेशमा प्रदर्शनकारी र प्रहरीबीच झडप

चर्चित लेखक मुस्ताकको जेलमै मृत्यु भएपछि बङ्लादेशमा प्रदर्शनकारी र प्रहरीबीच झडप


बङ्लादेशमा आइतबार प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दर्जनौं घाइते भएका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई रबरको गोली, अश्रुग्यास लगायत प्रहार गरेको थियो । घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

चर्चित लेखक मुस्ताक अहमदको जेलमै मृत्यु भएपछि बङ्लादेशमा अधिकारवादी तथा विपक्षीहरु आन्दोलित भएका  छन् । 

स्थानीय टेलिभिजनहरुले प्रदर्शन र झडपको प्रत्यक्ष प्रसारण गरेका थिए । झडपपछि आन्दोलनकारीहरु थप आक्रोसित भएको र घटनाको धेरैले विरोध गरेको देखाइएको छ । 
प्रहरीले भने प्रदर्शन निषेध गरिएको ठाउँमा प्रदर्शन गरिएकाले रोक्न खोज्दा झडप भएको बताएको छ । 

“उनीहरुलाई त्यहाँ प्रदर्शनका लागि अनुमति थिएन, अनुमति नहुँदा नहुँदै पनि प्रदर्शन गरेर नियमको उल्लङ्घन गरेकाले हामीले उनीहरुलाई रोकेका हौँ,” एक प्रहरी अधिकारीले भने ।  

विपक्षी दल बिएनपीका प्रवक्ता रिज्भी अहमदले आफ्नो पार्टीका मात्रै ३० जना घाइते भएको जानकारी दिए। घाइते हुनेमा वरिष्ठ नेताहरु समेत रहेको उनले बताए ।

प्रदर्शनमा ५०० भन्दा बढी सहभागी भएको अहमदले दावी गरे । प्रदर्शनकारीहरुले प्रेस क्लबमा मानवसाङ्लो बनाएका थिए । प्रदर्शन ऐतिहासिक भएको दावी गर्दै प्रवक्ता अहमदले प्रदर्शनकारीमाथि भएको हस्तक्षेपले घटनामा सरकारी पक्ष नै संलग्न भएको हो की भन्ने आशंका उब्जाएको टिप्पणी गरे।रासस

Logo