केन्द्रबिन्दु बुलेटिन : आफूमाथि शारीरिक आक्रमण हुन सक्ने प्रधानमन्त्री ओलीको आशंका (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : आफूमाथि शारीरिक आक्रमण हुन सक्ने प्रधानमन्त्री ओलीको आशंका (भिडियोसहित)


हामीले हरेक दिन दिनभरका महत्वपूर्ण समाचारहरुलाई केन्द्रबिन्दु बुलेटिनका रुपमा प्रस्तुत गर्दै आइरहेका छौं । आज पनि हामीले यस्तै समाचारहरु प्रस्तुत गरेका छौं । आजका समाचारहरु मध्ये प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक आक्रमण हुन सक्ने बताएका छन् । सोमबार पोखरामा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफूमाथि ज्यान मार्नेसम्मको प्रयास भएको संकेत गरेका हुन् । यस्तै प्रधानमन्त्री ओलीले नियुक्ति दिनेले बदर पनि गरिदिन सक्ने भन्दै प्रचण्ड–नेपाल समूहका केन्द्रीय सदस्यदेखि सांसदहरुलाई नै हटाइदिने चेतावनी दिएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् बैठकले सिफारिस गरे अनुसार फागुन २३ गते अपरान्ह ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नयाँ बानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको अधिवेशन आव्हान गरिएको उल्लेख छ । 

म्यानम्यारको सैन्य कु विरुद्ध शान्तिपूर्णरूपमा निस्किएको जनप्रदर्शन दबाउन सुरक्षाकर्मीको गोली लागि कम्तिमा १८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । गोलीसँगै अश्रुग्याँस, रबरका गोली लगायतले आन्दोलन दवाउने प्रयास गरेपछि त्यहाँको स्थिति तनावग्रष्त बनेको र कयौं घाइते भएका छन् । म्यानमार सेना शान्तिपूर्ण जनप्रदर्शनमाथि कठोर बन्दै जाँदा त्यसविरुद्ध राष्ट्रसंघसहित अन्तर्राष्ट्रिय समूदायले निन्दा गरेका छन् ।

नेपालको शिक्षा प्रणाली पुरानो ऐन अनुसार चलिरहेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले यसमा आमूल परिवर्तन ल्याउनु पर्ने बताएका छन् । देशमा ठूला ठूला राजनैतिक परिवर्तन देखिएपनि शिक्षा क्षेत्रमा भने पुरानै ऐन अर्थात शिक्षा ऐन २०२८ अनुसार काम गर्नु पर्ने भएकाले कुनै नयाँ महसुस गर्न नसकिने मन्त्री श्रेष्ठको भनाइ छ ।

प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा विघटनपछि दर्ता गराएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वासको प्रस्ताव अघि नबढाउने निर्णय गरेको छ । यस्तै प्रचण्ड–माधव समूहले केन्द्रीय समितिको बैठक फागुन १९ गते बस्ने निर्णय गरेको छ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले अब बस्ने केन्द्रीय समितिको बैठकमा पदाधिकारीहरूले सक्कल नागरिकता र पार्टीको परिचय–पत्रसहित अनिवार्य उपस्थित हुन पनि नेकपाले सर्कुलर नै जारी गरेको प्रचण्ड-माधवपक्षिय नेकपा स्रोतले जनाएको छ । 

Logo