अमेरिकी खर्बपति मस्कले पृथ्वीमै बनाउँदै छन् खगोल सहर

अमेरिकी खर्बपति मस्कले पृथ्वीमै बनाउँदै छन् खगोल सहर


पृथ्वीमा ‘स्टारबेस’ नामक सहर बसाउने तयारी भइरहेको छ। स्टारबेस अर्थात् खगोलीय पिण्डहरूको यात्राका लागि ‘बेस स्टेसन।’ कुनै बेला यस्तो स्टेसन अन्तरिक्ष अथवा चन्द्रमामा बनाउने परिकल्पना गरिएको थियो।  

तर, अब यस्तो बेस स्टेसन पृथ्वीमै बनाउने सोच सार्वजनिक भएको छ। खर्बपति व्यापारी एलन मस्कले ३ मार्चका दिन ट्वीट गरेर यसको जानकारी दिएका हुन्।

एलन अमेरिकाको टेक्सासमा यस्तो योजना कार्यान्वयन गर्ने सोचमा अघि बढेका छन्। अन्तरिक्ष विज्ञानसम्बन्धी उनको अग्रणी कम्पनी स्पेसएक्स रहेको स्थान वरपर नै उनी स्टारबेस सहर बनाउने तयारीमा जुटेका छन्। मस्कको स्पेसएक्स कम्पनी टेक्सासको  बोबा चिका भिजेल क्षेत्रलाई आफ्नो परीक्षण उडान केन्द्र र प्रक्षेपण गतिविधिका लागि उपयोग गर्दै आइरहेको छ।

मस्कको योजना यसै क्षेत्रमा स्टारबेस नामक सहर विकसित गर्ने रहेको छ। स्पेसएक्स कम्पनीले  सन् २०१४ देखि नै बोबा चिका भिलेजलाई आफ्नो गतिविधिको केन्द्र बनाउँदै आइरहेको छ।  यहीँबाट स्पेसएक्सले आफ्ना उत्पादन ‘स्टारसिप रकेट प्रोटोटाइप’ बनाउने र परीक्षण गर्ने कार्य गर्दै आएको छ।

मस्कको योजनामा यस गाउँ वरिपरिको थप जग्गा  अधिग्रहण गरेर नया सहर बसाउने रहेको छ। यस क्षेत्रका क्यामरुन काउन्टी जजले योजनालाई मन्जुरी दिइसकेका छन्।  क्यामरुन काउन्टी कमिसनर कोर्टले यस विषयक स्वीकृति प्रदान गर्दै कम्पनीले सारा काम नियम र कानूनअन्तर्गत रही गर्नुपर्ने आदेश दिएको छ। कमिसनरले मस्कको कम्पनीलाई  अनुमति प्रदान गर्दै यस सम्बन्धमा  काउन्टीले कुनै पनि नियमको अनुपालन गराउन कुनै पनि पाइला चाल्न सक्ने चेतावनी पनि दिएको छ।

मस्कको कम्पनी चन्द्रमा, मंगल ग्रहलगायत अन्य खगोलीय पिण्डको यात्रा–अन्वेषण गर्ने कार्यमा संलग्न रहँदै आएको छ। कम्पनीले यसका लागि रकेटको डिजाइनदेखि निर्माण, परीक्षण र प्रक्षेपण कार्य आफैं गर्दै आइरहेको छ। कम्पनीले सन २०२३ मा चन्द्रयात्राका लागि र सन् २०२६ भित्र मंगल ग्रहमा आफ्नो ‘स्पेसक्राफ्ट’ ओर्लाने महत्वाकांक्षी  योजना अघि सारिसकेको छ।

यसका साथै मस्कको कम्पनी स्टारलिंक परियोजना अन्तर्गत पृथ्वीको निम्न कक्षामा ४० हजार भूउपग्रह स्थापित गरेर सञ्चार लगायतका विविध क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याउने योजनामा काम गरिरहेको छ।  अहिलेसम्म यस परियोजना अन्तर्गत एक हजारभन्दा बढी भूउपग्रह स्थापित भइसकेका छन्। मस्कलाई १२ हजार भू–उपग्रह पठाउने अनुमति प्राप्त छ।

स्टारबेस सहर बनाउन मस्कले भूमि अधिग्रहण गर्ने कानुनी प्रक्रियाका साथै हजारो ‘स्टारसिप रकेट’ बनाउने काम द्रुत गतिले गरिरहेका  छन्।  यी सबै रकेट उनको स्वप्न सहरमा तैनात रहने छन्। स्मरणीय छ मस्कको कम्पनीले बनाएका रकेट मल्टीपर्पज  रकेट हुन्, भनौं उनका रकेटलाई बारम्बार प्रक्षेपित गर्न सकिन्छ।

Logo