आज अन्तर्राष्ट्रिय खुसी दिवस : फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी

आज अन्तर्राष्ट्रिय खुसी दिवस : फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी


आज अन्तर्राष्ट्रिय खुसी दिवस हो । हरेकवर्ष मार्च २० लाई अन्तर्राष्ट्रिय खुसी दिवसको रुपमा मनाइने गरिएको छ । नेपालमा भने सन् २०१६ देखि यो दिवस मनाउन थालिएको हो ।

खुसी आफैंभित्र छ, तर मानिसले यसलाई बुझ्न सकिरहेको छैन भन्ने सन्देश प्रवाह गर्ने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।

अन्तर्राष्ट्रिय अध्ययन अनुसार फिनल्याण्डका नागरिक विश्वकै सबैभन्दा धेरै खुसी रहेको पाइएको छ। खुसी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सबैभन्दा अगाडि परेको हो। 

संयुक्त राष्ट्रसंघ अन्तर्गतको निकायले तयार पारेको विश्व खुसीयाली प्रतिवेदन २०२१ शुक्रबार सार्वजनिक भएको छ। गत वर्ष विश्वभरी नै कोरोना भाइरसको महामारी फैलिए पनि फिनल्याण्डका नागरिकको खुसीयाली तुलनात्मक रुपमा अगाडि नै रहेको छ।

एक अर्काप्रतिको विश्वास र सरकारप्रतिको पूर्ण भरोसाका कारण आम नागरिकमा खुसीयाली देखिएको अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। अध्ययनकर्ताहरुका अनुसार फिनल्याण्डपछि धेरै खुसी हुनेमा आइसल्याण्डका नागरिक परेका छन्। नागरिकलाई खुसी राख्ने देशहरुको सूचीमा डेनमार्क र स्वीजरल्याण्ड तेस्रो र चौथो क्रममा रहेका छन्।

सूचीमा रहेका अघिल्ला दश देश मध्ये न्युजल्याण्ड बाहेक अरु सबै युरोपेली मुलुक रहेका छन् । न्युजल्याड नवौँ क्रममा रहेको छ। सूचीमा अमेरिका १४ औँ क्रममा रहेको छ भने बेलायत १८ औं नम्बरमा परेको छ। जर्मनीले भने पहिलाभन्दा धेरै सुधार गरेको देखिएको छ। यसअघि १७ औं नम्बरमा रहेको जर्मनी यस पटक सातौं क्रममा परेको छ।

विश्व खुसीयाली प्रतिवेदन सन् २०१२ देखि हरेक वर्ष सार्वजनिक गर्ने गरिएको छ। प्रतिव्यक्ति आय, सामाजिक सहयोगको स्तर, आकांक्षा, रोजगारीको सुनिश्चितता, भ्रष्टाचारको अवस्था लगायतका धेरै पक्षलाई आधार बनाएर नागरिकको खुसीयाली मापन गर्ने गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।

Logo