पृथ्वीमा जताततै फोहोर हेर्दा हामी सबैलाई दिक्क लाग्छ। सगरमाथा पनि फोहोर बढेको यदाकदा सुन्न पाइन्छ।
के तपाईंलाई थाहा छ? अन्तरिक्ष पनि फोहोरको डंगुरले भरिभराउ छ। अन्तरिक्षमा हजारौं टन फोहोरका करोडौं टुक्रा घुमिरहेका छन्।
केही दिनअघि अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आइएसएस) बाट काम नलाग्ने वस्तु फाल्दा यस ‘स्पेस डेब्रिस’मा २.९ टन फोहोर बढेको छ।
पृथ्वीदेखि झन्डै ४ सय किमीमाथि रहेर पृथ्वीको परिक्रमा गरिरहने अन्तर्राष्ट्रिय स्पेस स्टेसन वास्तवमा एउटा वैज्ञानिक प्रयोगशाला हो। सन् २००० यता यहाँ सधैँ केही व्यक्ति बस्दै आएका छन्।
नासाले यस ‘स्पेस स्टेसन’मा प्रयोगमा आइसकेका अनेकौं वस्तु, ब्याट्री स्टेसनबाट बाहिर फ्याँकेको छ। भनिरहनु नपर्ला ‘स्पेस स्टेसन’बाट फ्याँकिएका यी वस्तुले पनि पृथ्वीको परिक्रमा गरिरहेका छन्। नासाले ‘स्पेस स्टेसन’ बाट फोहोर बाहिर फ्याँकेर प्रयोगशालालाई सफा र हलुका त बनायो तर, यस कृत्यले अन्तरिक्षमा भने फोहोरको मात्रा बढाएको छ।
नासाले प्याँकेको फोहोरमा स्टेसनमा काम नलाग्ने सामानका साथै ब्याट्रीसमेत छन् । तर, तपाईंले नासाले फ्याँकेको फोहोर कतै मेरो घरको छतमा आई बजारिने त होइन भनी चिन्ता लिनुपर्दैन।
खासमा अन्तरिक्षमा भएको फोहोर पृथ्वीबासीका लागि नभई अन्तरिक्षयात्रीका साथै अन्तरिक्षमा पठाइने विभिन्न भू–उपग्रह, पृथ्वीबाहिरको यात्रामा जाने रकेट र स्वयं ‘स्पेस स्टेसन’का लागि ठूलो खतराको विषय हुनसक्छ।
अन्तरिक्षमा रहेको फोहोर (विभिन्न रकेटका अवशेष, भूउपग्रहका अवशेष, अन्तरिक्ष यात्रीले छाड़ेका विभिन्न वस्तु, ‘स्पेस स्टेसन’का यात्रीले फालेका विभिन्न वस्तुमा टुथपेस्टका खोलदेखि अन्डरवेयरसम्म हुन सक्छन्) पहिलो कुरा त प्रथ्वीसम्म आइपुग्दैन र कथंकदाचित कुनै ठूलो आकार र संरचनाको वस्तु छ भने पनि यसलाई पृथ्वीको सतहमा आइपुग्न धेरै नै समय लाग्छ।
नासाले ‘स्पेस स्टेसन’ बाट फोहोर बाहिर फ्याँकेर प्रयोगशालालाई सफा र हलुका त बनायो तर यस कृत्यले अन्तरिक्षमा भने फोहोरको मात्रा बढाएको छ।
अन्तरिक्षमा पृथ्वीको न्युन कक्ष (लोअर अर्थ आर्बिट ) अर्थात् पृथ्वी सतहदेखि झन्डै ४ सय किमीमाथि रहेका वस्तु पृथ्वीको गति गर्ने दिशामै अतितीव्र गतिले हुइकिँदै पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन्। यहाँ कुनै किसिमको सघन वातावरण नभएका कारण वस्तु जुन अवस्थामा छन्, त्यसै अवस्थामा रहिरहन्छन्। यिनमा क्षय प्रक्रिया हुँदैन।
कालान्तरमा पृथ्वीको गुरुत्वाकर्षणले तान्दा यी वस्तु पृथ्वीतिर आउँछन्। तर, प्रथ्वीको नजिक करिब ८०–८५ किमीमाथिको अन्तरिक्ष क्षेत्रमा प्रवेश गर्नसाथ आफ्नो गति र त्यहाँ भएको मेसोस्फेयर क्षेत्रको वातावरणमा हुने घर्षणका कारण यी वस्तु जल्न थाल्छन् र प्रथ्वीको सतहमा आइपुग्नु अगावै जलेर नष्ट हुन्छन्। कहिलेकाही वस्तुको आकार र त्यसको बनावटमा प्रयुक्त भएको म्याटरियल क्वालिटीले गर्दा यी वस्तु जलेर पूर्णतया नष्ट हुनुपूर्व पृथ्वीको सतहमा आइ ठोक्किन्छन्।
प्रथ्वीको बनावटमा दुइ तिहाईभन्दा बढी जलक्षेत्र (समुद्र ) रहेका कारण यस्ता वस्तु प्रायः जलक्षेत्रमै खस्न पुग्छन्। मानिसको बसोबास भएको क्षेत्रमा यस्ता वस्तु कहिलेकाही मात्रै ठोक्किन आइपुग्छन्।
अन्तरिक्षमा रहेको ‘गार्बेज’ अथवा ‘डेब्रिस’ पृथ्वीबासीभन्दा अन्तरिक्ष यात्रामा पठाइने अभियानका लागि बढी खतरा हुन्छन्। अहिले वैज्ञानिकहरु अन्तरिक्षको फोहोर कसरी सफा गर्ने विषयमा सोच्न थालेका छन्।
पृथ्वीको चारैतिर घुमिरहेको यो फोहोर अहिले बहस विषयसमेत बनेको छ। हालै ब्रिटिश स्पेस एजेन्सीले पनि यस्ता फोहोर हटाउने प्रक्रिया सुरु गरेको छ। यसका लागि प्रभावकारी उपाय उपनाउन सुरु गरिएको छ। तर, केही वैज्ञानिकले भने पृथ्वीको तल्लो सतहमा जम्मा भएको यस्ता फोहोरलाई लिएर चिन्ता व्यक्त गर्ने गरेका छन्।
हाल पृथ्वीको चारैतिर १ सय ६० मिलियन ‘स्पेस डेब्रिस’ घुमिरहेको छ। यिनीहरु सबैमा पृथ्वीको गुरुत्वाकर्षणको प्रभाव परेको हुन्छ। यीमध्ये कसैको गति १८ हजार माइल प्रतिघण्टासम्म हुने गर्छ। यी बाहेक कमसेकम दश लाख यस्ता फोहोरका टुक्रा छन्, जसको आकार एक सेन्टिमिटरभन्दा ठूलो छ । यिनको नजिकको स्याटेलाइटसँग ठोक्किने खतरा पनि त्यत्तिकै छ। हाल पृथ्वीको कक्षमा २८ सय स्याटेलाइट छन्। त्यस्तै काम नलाग्ने तीन हजार स्याटेलाइट छन्।
अन्तरिक्षमा प्रयोग सकिएका वस्तु नै यस्ता फोहोर हुन्। नासाका अनुसार प्रत्येक दिन एउटा फोहोर पृथ्वीको कक्षतर्फ खस्ने गर्छ, जुन पृथ्वीको कक्षमा प्रवेश गर्नेबित्तिकै कि जल्ने गर्छ कि समुद्रमा खस्ने गर्छ।
प्रतिक्रिया