कोरोना संक्रमण बढेसँगै कतारमा आजबाट थप प्रतिबन्ध, यस्ता छन् नयाँ नियमहरु

कोरोना संक्रमण बढेसँगै कतारमा आजबाट थप प्रतिबन्ध, यस्ता छन् नयाँ नियमहरु


कतारमा कोरोनाका संक्रमित बढ्न थालेपछि सरकारले आजदेखि लागू हुने गरि थप क्षेत्रमा प्रतिबन्ध गर्ने भएको छ। कोरोनाको दोस्रो लहर आउन नदिन बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्को सूचना जारी नहुन्जेलसम्मका लागि विभिन्न क्षेत्रमा कडाइका साथ प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

मन्त्रिपरिषद्को निर्णय अनुसार सरकारी तथा निजी क्षेत्रका कार्यालयहरूका ८० प्रतिशत कर्मचारीले कार्यालय तथा २० प्रतिशतले घरबाट कार्य गर्नु पर्नेछ भने ५ जनाभन्दा बढीले बैठकमा भागसमेत लिन पाउने छैनन्। मस्जिदहरू खुल्ला रहे पनि बाथरुम तथा वृद्धकक्ष बन्द रहेनछन्। सार्वजनिक स्थानहरू पार्क, कर्नेच लगायतका ठाउँहरूमा एकै परिवारका सदस्यहरू बाहेक २ जनाभन्दा बढी जम्मा हुन नपाइने भएको छ भने विवाहका सम्पूर्ण गतिविधि रोकिएको छ। घरबाट बाहिर निस्किंदा मास्क तथा एतराजको प्रयोग अनिवार्य गरिएको छ।

सार्वजनिक सवारी साधनहरू बस तथा रेलमा ३० प्रतिशत यात्रु चढाउन अनुमति दिइएको छ भने शुक्रवार र शनिवार २० प्रतिशत  मात्र चढाउन पाइनेछ। निजी कारहरूमा चालकसहित ४ जना चढ्न पाइनेछ। त्यस्तै कम्पनीका बस तथा भ्यानहरुले आधा क्षमतामा मात्र बोक्न पाउनेछन्। अर्को सूचना जारी नहुन्जेल सबै ड्राइभिङ स्कुलहरू बन्द गरिएको छ। 

सैलुन, ब्युटी पार्लर ३० प्रतिशत मात्र क्षमतामा खोल्न पाइनेछ भने जिम लगायत स्वीमीङ पुलहरू पूर्णरुपमा बन्द गरिएको छ। निजी स्कुलहरू पूर्णरूपमा बन्द रहनेछन्। रेस्टुरेन्ट तथा क्याफेहरूमा भित्र १५ प्रतिशत र बाहिर ३० प्रतिशत मात्र बस्न पाउनेछन्। सिनेमा हलमा १८ वर्ष मुनिकालाई प्रवेश निषेध गरिएको छ भने मलहरूमा १२ वर्ष मुनिकालाई प्रवेशमा रोक लगाइएको छ। सिनेमाघरहरुले २० प्रतिशत दर्शकलाई प्रवेश दिन पाउनेछन् भने मलहरूमा ३० प्रतिशतलाई मात्र प्रवेश अनुमति रहेको निर्णयमा जनाइएको छ ।

Logo