वृहस्पति ग्रह: पृथ्वीको जीवन र सुरक्षाको सजग प्रहरी

वृहस्पति ग्रह: पृथ्वीको जीवन र सुरक्षाको सजग प्रहरी


विज्ञान पृथ्वी जस्तो जीवन सम्पन्न हुन सक्ने ग्रहको खोजीमा रातदिन लागि परेको छ । अनेकन वैज्ञानिक ‘टेलिस्कोप’बाट आकाशको कुना कुनामा ‘यस सम्भावनाको खोजीमा’ संलग्न रहदै जीवन नै बिताउँछन् । तर आजसम्म पनि पृथ्वी बाहेक अन्यत्र कतै जीवन सम्पन्न ग्रह भएको पत्तो त के झिनो सम्भावनासम्म हात लागेको छैन ।

परग्रही जीवनको कल्पना अहिलेसम्म ‘साइन्स फिक्शन’ फिल्मा मात्रै सीमित रहेको छ । यस अनन्त ब्रह्माण्डमा पृथ्वीजस्तो जीवनयुक्त ग्रह कतै छ कि छैन भन्ने बारे ‘आफ्नो आफ्नो ढपली आफ्नो राग’ नै चरितार्थ भएको अवस्था कायम  छ।

एक थरी वैज्ञानिकहरुको मान्यता छ सम्पूर्ण पृथ्वीमा रहेका वालुवाको कणभन्दा पनि बढी आकाशमा ग्रह–नक्षत्र–तारा जस्ता पिण्डहरु रहेका छन् । यी रात्रिकालीन आकाशको शोभा मात्रै हुन सक्दैनन् । यस वर्गका वैज्ञानिकहरुको मान्यतामा हजारौँ ग्रहमा पृथ्वी जस्तो जीवन हुनुपर्छ ।

अर्का थरीको मान्यताअनुसार पृथ्वीमा जीवन हुनलाई एकका पछाडि सत्ताइस वटा जिरो राखेर जुन संख्या बन्छ  त्यति कारण अथवा संयोग जुटेर मात्र कुनै ग्रहमा जीवन सम्भव हुन्छ । यो संख्या भनेको पृथ्वीभरि रहेका वालुवाको कणभन्दा पनि बढी हो । वैज्ञानिकहरुको अनुमान अनुसार पृथ्वीभरी वालुवाको कणको संख्या एकका पछाडि उन्नाइस जिरो  मात्रै छ । ब्रह्माण्डमा रहेका समस्त ग्रह नक्षत्र ताराहरुको संख्या एकका पछाडि २२ जिरो छ।

 कुनै ग्रहलाई पृथ्वी जस्तो र यहाँ हुर्केको जस्तो जीवन सम्पन्न हुनलाई जति संयोग चाहिन्छ, त्यो चानचुने कुरा होइन ।

 तपाईँलाई पनि पृथ्वीमा जीवन हुनुका पछाडि अनेकौँ संयोग र कारण के हुन् भन्ने ज्ञात नै होला । पृथ्वी सूर्यदेखि जुन दूरीमा (चौध करोड छयानब्बे लाख किमी) छ त्यो एउटा महत्वपूर्ण कारण हो । बुध, शुक्र जस्तै नजिक भएको भए यो लेख्ने र तपाईँले पढ्ने सम्भावना नै हुने थिएन । अथवा भनौँ सूर्यदेखि मंगल, बृहस्पति, शनि जति टाढा भएको भए पनि पृथ्वीमा जीवन हुने सम्भावना शुन्य हुन्थ्यो ।

पृथ्वीको वर्तमान स्वरुप र जीवन्त हुनेमा वृहस्पति ग्रहको पनि ठूलो योगदान छ। अब तपाईँ भन्नु होला पृथ्वीबाट सरदर बासठ्ठी करोड, तिरासी लाख, बीस हजार किमी टाढा रहेको भीमकाय ग्यास दानव वृहस्पतिको के नै योगदान हुन सक्छ पृथ्वी जीवन्त हुनुमा ?

तपाईँलाई सुन्दा अचम्म लाग्ला, पृथ्वीबाट यति टाढा रहेर पनि वृहस्पतिले पृथ्वीको सुरक्षा गर्दै आइरहेको छ । वृहस्पतिको अनुपस्थितिमा पृथ्वीमा जीवनको कल्पना गर्न सकिन्न ।

तपाईँलाई थाहै छ, सौर्यमण्डलमा आठवटा ग्रह छन् । दूरीका हिसाबले पृथ्वी बुध र शुक्रपछि तेस्रो नम्बरमा पर्छ । यसैगरि मंगल चौथो नम्बरमा र वृहस्पति पाँचौं नम्बरमा रहेका छन् । मंगल र वृहस्पति ग्रहको वीचमा सानातिना गरि लाखौँ पिण्ड छन् । यी सबैले सूर्यको परिक्रमा गर्छन् । यी पिण्डको आकृति र आकार फरक फरक रहेका  छन् । कोही एक मिटरका छन् भने कोहि झण्डै दश लाख मिटर सम्मका छन् ।

यी पिण्डलाई खगोल विज्ञानमा ‘ऐस्टेरायड’ (ASTEROIDS) र मंगल र वृहस्पति ग्रह बीचको आकाशलाई ‘ऐस्टेरायड बेल्ट’ भनिन्छ। यी ‘ऐस्टेरायड’ पृथ्वीका लागि ठूलो खतरा हुन् । एक–दुई किमी व्यास भएको कुनै ‘ऐस्टेरायड’ पृथ्वीमा खस्ने हो भने पृथ्वीमा रहेको सम्पूर्ण जीवन स्वाहा हुन सक्छ । वैज्ञानिकहरुको भनाइ अनुसार केही करोड वर्ष पहिला यस्तै एउटा ‘ऐस्टोरायड’ खसेर पृथ्वीमा ‘डायनासोर’ युगको अन्त्य भएको थियो ।

पृथ्वीको माथिल्लो वातावरणमा रहेको दोस्रो तहको वातावरण जसलाई ‘स्टाट्रोस्फेयर स्फेयर’ अथवा ‘ओजोन लेयर’ पनि भनिन्छ । यसपछिको अर्को वातावरणीय तहलाई ‘मेसोस्फेयर लेयर’ भनिन्छ । यसै ‘मेसोस्फेयर लेयर’ मा प्रवेश गर्नासाथ जुनसुकै पिण्ड पनि जलेर नष्ट हुन्छन् , तर कहिलेकाहीँ धेरै ठूला पिण्डहरु पूरै नष्ट हुनुभन्दा पहिला पृथ्वीमा ठोक्किएर विनाश निम्त्याउँछन् ।

जस्तो कि तपाईँलाई थाहा छ वृहस्पति सौर्यमण्डलको सबैभन्दा ठूलो ग्रह हो। यो पृथ्वीभन्दा झण्डै ११ गुणा ठूलो छ र यसको गुरुत्वाकर्षण शक्ति पृथ्वीभन्दा झण्डै अढाई गुणा बढी रहेको छ ।

वृहस्पतिको गुरुत्वाकर्षण शक्ति बढी भएकाले यसले अघिकांश ‘ऐस्टेरायड’लाई आफूतिर तानेर पृथ्वीलाई सुरक्षित रहन सहयोग गर्छ ।

वृहस्पतिमा दिनहुँ ‘ऐस्टेरायड’ खस्ने  गर्छन् । वृहस्पति नभएको भए ती सबै ‘ऐस्टरायड’ खसेर यहाँको अर्थात् पृथ्वीको जीवनलाई समाप्त पारी दिन्थे । ‘थैक्स जुपिटर यु गेभ परमानेन्ट सेक्युरिटी दु अवर अर्थ ।’

Logo