प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह

प्रविधिको प्रयोग गर्न चिकित्सक र अस्पतालहरुलाई प्रधानमन्त्री मोदीको आग्रह


भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रविधिको प्रयोग अधिकतम गरेर सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मी र अस्पतालहरुलाई आग्रह गरेका छन्।  

“मन की बात” नामक रेडियो कार्यक्रमको ७६औँ शृङ्खलामा बोल्ने क्रममा उनले स्वास्थ्यकर्मीहरुले सूचना र प्रविधिको प्रयोग गरेर स्वास्थ्य सेवा दिन सकेमा कोरोना भाइरसविरुद्धको लडाईं प्रभावकारी हुने बताए। 

प्रविधिको प्रयोग गरेर विशेषगरी कोरोना भाइरस सम्बन्धी सल्लाह दिने, सेवा सुविधाका बारेमा बताउने, सचेतना जगाउने लगायतका कार्य गर्नु उपयुक्त हुने उनको भनाइ थियो। 

“स्वास्थ्यकर्मीहरु नै कोरोना भाइरस विरुद्धको अग्रपंक्तिका लडाकु हुन्, उनीहरुले नै यसमा धेरै खट्नु र सहयोग गर्नु पर्दछ,” उनले भने। 

स्वास्थ्यकर्मीहरुका विभिन्न अनुभव अहिले सबैका लागि उपयोगी हुने प्रधानमन्त्री मोदीले बताए। विज्ञको सुझाव, सल्लाह यतिबेला अति महत्वपूर्ण हुने भएकाले उनीहरुले प्रविधि मार्फत आफ्नो ज्ञान बाँडिरहनु पर्नेमा उनले जोड दिए। 

कोरोना भाइरसबाट धेरै प्रभावित भएको भारतमा अहिले दैनिक झण्डै साढे तीन लाख मानिस सङ्क्रमित हुने गरेका छन्। 

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४९ हजार ६९१ जना सङ्क्रमित भएका छन्। त्यसैगरी सोही अवधिमा भारतभरी गरेर कुल दुई हजार ७६७ जनाको कोरोनाकै कारणले मृत्यु भएको छ।
भारतको दिल्लीमा मात्रै एकै दिनमा सबैभन्दा धेरै २४ हजार सङ्क्रमित

भारतको केन्द्रीय राजधानी समेत रहेको दिल्ली प्रदेशमा कोरोना भाइरसबाट एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित भएका छन्। 

सरकारी अधिकारीहरुले आइतबार दिएको जानकारी अनुसार दिल्ली प्रदेशभरी एक दिनमा २४ हजार १०३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन् । 

त्यसैगरी दिल्ली प्रदेशमा पछिल्लो २४ घण्टामा ३७५ जनाको मृत्यु भएको पनि सरकारी अधिकारीहरुले जनाएका छन्।दिल्लीमा अहिले पनि ९३ हजार ८० सङ्क्रमित अवस्थामै रहेका छन् । यो सङ्ख्या पनि अहिलेसम्मकै सवैभन्दा धेरै रहेको बताइएको छ । 

दिल्लीको स्वास्थ्य विभागले सङ्क्रमित र मृतकको सङ्ख्या दिनप्रति दिन बढ्दै गइरहेको जानकारी दिएको छ। पछिल्लो विवरण अनुसार दिल्लीमा मात्रै अहिलेसम्म १० लाख चार हजार ७८२ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। 

कोरोनाका कारण दिल्लीमा मात्रै मृत्यु भएकाहरुको सङ्ख्या अहिलेसम्म १३ हजार ८९८ पुगेको दिल्लीको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको परीक्षण गराएका मध्ये ३२।२७ प्रतिशतमा सङ्क्रमण देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। ती मध्ये १।३८ प्रतिशतको त मृत्यु नै हुने गरेको छ।

भारतमा देशभरी भने अहिलेपनि २५ लाख ५२ हजार ९४० जना सङ्क्रमित अवस्थामै रहेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।   

सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन लाख ४७ हजार ७८६ जना सङ्क्रमित भएका थिए।   

भारतमा गत जनवरी १६ देखि कोरोनाभाइरस विरुद्धको खोप अभियान चलिरहे पनि भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्यामा दिन प्रतिदिन बृद्धि हुँदै गएको छ।रासस

Logo