अब सफा हुन्छ अन्तरिक्षमा मानव निर्मित फोहोर

अब सफा हुन्छ अन्तरिक्षमा मानव निर्मित फोहोर


मानवले आफू बसेको पृथ्वीलाई मात्रै होइन सयाैँ किमीमाथिको अन्तरिक्षलाई पनि फोहोरी बनाएको छ।

विभिन्न प्रयोजनका लागि पठाइएको भूउपग्रह आफ्नो आयु समाप्त भएपछि पनि अन्तरिक्षमा रहेर पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन्। निष्क्रिय भएका सेटेलाइट, सेटेलाइटका टुक्रा, आफ्नो दम्भ प्रदर्शित गर्ने क्रममा अमेरिका, रूस, चीन र भारतले घुमिरहेका सेटेलाइटलाई पृथ्वीबाटै प्रहार गरी नष्ट गर्ने क्रममा बनेका हजाराैँ विभिन्न धातुका टुक्रा , इन्टरनेशनल स्पेस स्टेशनका यात्रीहरुले प्रयोग पश्चात् फ्यालेका विभिन्न वस्तु अन्तरिक्षमा फोहोरका रूपमा रहेका छन।  यी सबै टुक्रा र विभिन्न वस्तु पृथ्वीको परिक्रमा गरिरहेका छन्। पृथ्वीको परिक्रमा गरि रहेका यस्ता सबै वस्तु टुक्रा नै अन्तरिक्षको फोहोर हुन्।

अन्तरिक्षमा निष्क्रिय भएका सेटेलाइट र अन्य विभिन्न वस्तुको फोहोरको थुप्रो जम्मा भएको छ। यदि कुनै नयाँ सेटेलाइट अन्तरिक्षमा रहेको कुनै पनि टुक्रासँग ठोक्किन गएमा करोडौंको नोक्सान त हुन्छ नै साथै अनुसन्धान कार्य पनि प्रभावित हुन जान्छ।

मानव निर्मित यी फोहोरका टुक्रा विभिन्न प्रयोजनका लागि पठाइने उपग्रह तथा अन्तरिक्षयानका लागि पनि खतरा बनेका छन् । अन्तरिक्षको यो फोहोर सफा गर्न जापानका चारवटा  कम्पनीले द्रुत गतिमा काम थालेका छन् । उनीहरु यसको समाधानका लागि जुटेका छन् ताकि आगामी दिन अन्तरिक्ष यात्राका लागि सुरक्षित होस्।

सबै देश अन्तरिक्षमा आफ्नो उपस्थिति देखाउन लागि परेका छन् । यसका लागि उनीहरु धेरैभन्दा धेरै सेटेलाइट छोड्ने होडमा छन्। यस्तोमा अन्तरिक्षमा फोहोरको मात्रा झन बढ्नेछ। सेटेलाइटसँग ठोक्किएर बनेको फोहोर अथवा निष्क्रिय भइसकेका सेटेलाइट अथवा अन्य  कुनै पनि प्रकारको वस्तु  ४० हजार किमी प्रतिघण्टाको गतिले  घुमिरहेका हुन्छन् , पृथ्वीको परिक्रमा गरिरहेका हुन्छन् । यतिको  गतिमा घुमेको सानो भन्दा सानो टुक्रा ( बदामको दाना जत्रो आकरको) पनि गतिले गईरहेको सेटेलाइट अथवा अन्तरिक्षयानसँग  ठोक्किएको खण्डमा  बम प्रहार जस्तै हुनेछ।

अन्तरिक्षको फोहोर पृथ्वीको जीवनका लागि पनि खतरा हुन सक्छ। यदि फोहोरको कुनै टुक्रा पृथ्वीको तल्लो वायुमण्डलमा प्रवेश गरेर खरानी  हुनुभन्दा पहिला पृथ्वीसँग आई ठोक्किएको खण्डमा  त्यसले ठूलो विनाश निम्त्याउन सक्छ।

अन्तरिक्षको फोहोर सफा गर्ने उद्देश्यले २०१३ मा स्थापित जापानी कम्पनी एस्ट्रोस्केलले ब्रिटेन, अमेरिका, इजरायल तथा सिंगापुरमा समेत आफ्नो शाखा खोलेको छ। उक्त कम्पनीले यसै वर्ष २२ मार्चमा कजाकस्ताानको बाइकोननुर कस्मोड्रोमबाट  प्रक्षेपित गरेको सोयुज रकेटमा पठाइएको  'एल्सा डी डिमोन्शट्रेशन क्राफ्ट'को माध्यमले 'एण्ड अफ लाइफ सर्भिसेज' नामक अभियान सुरु गरेको छ।

'एल्सा डी' दुईवटा उपग्रह मिलेर बनेको छ जो एकमाथि अर्को जोडिएको छ। यसमा एउटा १७५ किलोग्राम 'सर्भिसर सेटेलाइट' तथा अर्को १७ किलोको 'क्लाइन्ट सेटेलाइट' रहेको छ। यसमा चुम्बकीय 'डकिंग मेकानिज्म'  जडान गरिएको  छ। यसले अन्तरिक्षमा रहेका  फोहोरका टुक्रा एकत्र गरी नष्ट गर्नेछ ।

जापानका अतिरिक्त युरोपीय अन्तरिक्ष एजेन्सीले पनि अन्तरिक्षमा रहेको फोहोर सफा गर्ने अभियान थाल्ने भएको छ । सन् २०२३ मा एजेन्सीले एउटा गार्बेज रोबोट लन्च गर्ने तयारी गरेको छ । यस स्पेश रोबोटमा एउटा हात हुनेछ जसले सेटेलाइटलाई समाएर पृथ्वीमा ल्याउनेछ।

अन्तरिक्षमा रहेको फोहोर सफा गर्नको लागि अन्य कैयौं उपायमाथि पनि काम भइरहेको छ। वैज्ञानिकको विचार भने फोहोरलाई अन्तरिक्षमा जलाउने रहेको छ। जर्मनीको अन्तरिक्ष एजेन्सी डिएलआरले यसका लागि एउटा लेजर प्रविधिको विकास गरेको छ। लेजर शटले फोहोरलाई त्यहीँ भस्म गर्ने योजना रहेको छ।

नासा भने यसका लागि एउटा इलेक्ट्रोनेट प्रविधिमा काम गर्दैछ। उक्त नेटले एउटा ठूलो इलाकामा रहेको फोहोरलाई बाँधेर पृथ्वीको वायुमण्डलमा ल्याउनेछ। पृथ्वीको वायुमण्डलमा प्रवेश गर्ने बित्तिकै धेरैजसो फोहोर आफैं जलेर नष्ट हुन्छ। तर, यसमा अझै ठोस रुपले काम हुन भने बाँकी छ।

यसका अलावा जापानको अन्तरिक्ष एजेन्सी जाक्सासँग 'इलेक्ट्रोडायनामिक माइन'को अवधारणा रहेको छ। ७ सय मिटर लामो इलेक्ट्रोडायनामिक सुरुगं स्टेनलेश स्टील तथा आल्मुनियमको हुनेछ । यस सुरुगंले फोहोरको रफ्तारलाई कम गरेर विस्तारै वायुमण्डल तर्फ धकेल्नेछ । वायुमन्डलमा प्रवेश गर्न साथ फोहोर जलेर नष्ट हुनेछ।

संसारभरीका सबै स्पेस एजेन्सीलाई राम्ररी थाहा छ अन्तरिक्षमा घूमिरहेको फोहोर यदि व्यवस्थापन गर्न सकिएन भने यो भविष्यका अन्तरिक्ष कार्यक्रमका लागि ठूलो खतरा साबित हुनेछ। त्यसैले सबै स्पेस एजेन्सी अन्तरिक्षको फोहोर सफा गर्न गम्भीर भएर लागेका छन् । आउने दिनमा अन्तरिक्षको फोहोर सफा गर्ने कामले ठूलो उद्याेगकै  रूप लिनेछ।

Skip This
Logo