निल आर्मस्ट्रङलाई चन्द्रमामा पाइला टेकाउने पाइलट माइकल कोलिन्सको निधन

निल आर्मस्ट्रङलाई चन्द्रमामा पाइला टेकाउने पाइलट माइकल कोलिन्सको निधन


अपोलो ११ मिशनका पाइलट तथा अन्तरिक्ष यात्री माइकल कोलिन्सको २८ अप्रिलमा  निधन भयो। अपोलो ११ मिशनलाई सफलता पूर्वक चन्द्रमामा पुर्याउने यात्रीको रुपमा कोलिन्सलाई चिनिन्छ। यसका कारण नै निल आर्मस्ट्रङले चन्द्रमामा पहिलो पाइला टेकेका थिए । त्यसपछि एल्ड्रिन बजले चन्द्रमाको सतहमा पाइला टेकेका थिए।

माइकल कोलिन्सको एकमात्र उद्देश्य भनेको एपालो ११ लाई सही तथा सुरक्षित तवरले चन्द्रमाको  अर्बिटमा पुर्याउनु रहेको थियो। त्यसपछि नील तथा बजलाई सुरक्षित तवरले पृथ्वीमा अवतरण गराउनु थियो। अपोलो ११ अन्तरिक्ष यान सन् १९६९ मा अमेरिकाको केनेडी स्पेश सेन्टर लन्च कम्प्लेक्स ३९ ए बाट बिहान ८ः३२ मा लन्च गरिएको थियो। र यसले २० जुलाईमा चन्द्र अवतरण गरेको थियो।

अपोलो ११ बाट निस्किएर नील तथा बज जुन मोडलमा गएका थिए त्यसको नाम इगल रहेको  थियो। यी तीनै एस्ट्रोनट्सका लागि यात्रा भने सहज थिएन। यात्रा सुरु हुने बित्तिकै पृथ्वीसँगको रेडियो सम्पर्क टुटेको थियो। त्यसपछि यानको कम्प्युटरमा ग्लिच आएको थियो। र  इगलमा इन्धनको कमीसमेत भएको थियो।

नील, बज तथा माइकलको टिम चन्द्रमाको यात्रा पुरा गरी २४ जुलाइ १९६९ मा पृथ्वीमा अवतरण गरेको थियो । यसको ल्यान्डिङ क्याप्सुलको  स्पैल्श डाउन प्रशान्त महासागरमा भएको थियो।

अपोलो मिशनलाई पूरा गर्नका लागि संसार भरका ४० हजार भन्दा धेरै मानिसले मिहेनत तथा समयको योगदान दिएका थिए।

माइकल कोलिन्सको निधनमा नासाका एक्टिङ एड्मिनिस्ट्रेटर स्टीव जुरासिकले अमेरिका तथा संसारले आज एउटा अन्तरिक्ष यात्री गुमाएको बताए । माइकल सधैँ अन्तरिक्षमा खोजका लागि तयार रहेका हुन्थे । माइकललाई इतिहासका सबैभन्दा एक्लो मानिस पनि भनिन्छ किनकी उनका अरु साथीले चन्द्रमामा पाइला टेके तर उनी भने यानका साथ चक्कर काटिरहे। यसको वर्णन उनले आफ्नो आत्मकथामा गरेका छन्। उनले अन्तरिक्ष विज्ञान सम्बन्धी थुप्रै पुस्तक लेखेका छन्।

Logo