भारतको कोरोना कथाः मोदी सरकारको हेलचक्य्राइँले निम्त्याएको विभीषिका

भारतको कोरोना कथाः मोदी सरकारको हेलचक्य्राइँले निम्त्याएको विभीषिका


–रोयटर्स

भारतीय वैज्ञानिकको एक टोलीले कोरोना भाइरसको नयाँ र शक्तिशाली भेरियन्ट (स्वरुप) बारे मार्चको सुरुतिर जानकारी दिएको थियो। तर, त्यसलाई सरकारले वास्ता गरेन। 

चेतावनीका बाबजुद भारत सरकारले आवश्यक बन्देज नलगाएको  चार भारतीय वैज्ञानिकले खुलासा गरेको समाचार रोयटर्सले प्रकाशित गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी, सत्तारुढ भारतीय जनता पार्टी र विपक्षी दलका नेताको उपस्थितिमा लाखौं मानिस चाडपर्व र राजनीतिक सभामा सहभागी भए।

अर्कोतर्फ, प्रधानमन्त्री मोदीले ल्याएको नयाँ कृषि नीतिको विरोधमा लाखौं किसानले आन्दोलन गरेका थिए। 

पहिलो लहरभन्दा धेरै गुना खतरनाक कोरोनाको दोस्रो लहरसँग जुध्न संसारको दोस्रो ठूलो जनसंख्या भएको देशलाई हम्मे भएको छ। दोस्रो लहरलाई भारतमा देखिएको डबल म्युटेन्ट भेरिएन्ट र पहिलोपटक बेलायतमा देखापरेको अर्को भेरिएन्टले खतरनाक बनाएको केही वैज्ञानिकहरूको ठम्याइ छ। 

शनिबार मात्र भारतमा ४ लाख १ हजार ९९३ संक्रमित भेटिए जुन संसारभरमा अहिलेसम्मकै उच्च संक्रमण दर हो। शनिबार मृत्यु हुनेको संख्या ३ हजार ५२३ थियो। विज्ञहरूका अनुसार वास्तविक आँकडा योभन्दा बढी छ। 

अर्कोतर्फ, पश्चिम भारतको एक अस्पतालमा शनिबार आगलागी हुँदा १८ जनाको मृत्यु भयो। एक घन्टाभित्रै आगो निभाइएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कोरोना भाइरसको दोस्रो लहर मोदीले सन् २०१४ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेयताको सबैभन्दा ठूलो संकट हो। मोदी सरकारको कोरोना नियन्त्रण नीतिले उनी र उनको पार्टिलाई कस्तो राजनीतिक असर पुर्याउँछ, त्यो हेर्न बाँकी नै छ।

नयाँ भेरियन्टबारे मार्चमा चेतावनी दिने वैज्ञानिकहरू इन्डियन सार्स–कोभ–२ जेनेटिक्स कन्सोर्टियम (इन्साकोग) का थिए। सिधै प्रधानमन्त्रीप्रति उत्तरदायी मन्त्रिपरिषद्का सचिव राजिव गौबालाई उक्त जानकारी दिइएको उत्तर भारतको एक अध्ययन केन्द्रका वैज्ञानिकले नाम नखुलाउने सर्तमा बताए। 

जनस्वास्थ्यमा प्रतिकूल असर पुर्याउन सक्ने कोरोनाका भेरियन्ट पत्ता लगाउन वैज्ञानिकहरूको समूहका रूपमा   इन्साकोगको गठन भारत सरकारले गत डिसेम्बरमा गरेको थियो। इन्साकोगले भाइरसका भेरियन्टको अध्ययन गर्नसक्ने १० राष्ट्रिय प्रयोगशालालाई समेटेको छ।

अहिले इन्डियन भेरियन्टका नामले चिनिने ‘बी.१.६१७’ फेब्रुअरीमै पत्ता लागेको इन्साकोगका सदस्य अजय परिडाले बताए। 

उत्तरी भारत अध्ययन केन्द्रका निर्देशकका अनुसार इन्साकोगले १० मार्चअगावै आफ्नो खोजबारे राष्ट्रिय रोग नियन्त्रण केन्द्रलाई जानकारी गराएको थियो र, त्यो खोज स्वास्थ्य मन्त्रालयलाई बुझाइएको थियो। तर, स्वास्थ्य मन्त्रालयले प्रतिक्रियाको मागप्रति वास्तै गरेन। 

त्यसैताका इन्साकोगले स्वास्थ्य मन्त्रालयका लागि खेस्रा प्रेस विज्ञप्ति तयार पार्न थाल्यो। रोयटर्सले प्राप्त गरेको उक्त खेस्रामा इन्साकोगको अनुसन्धानका निष्कर्ष पनि थिए। 

इन्साकोगले नयाँ भारतीय भेरियन्टमा मानव कोषसँग भाइरसको अंगमा दुई उत्परिवर्तन देखापरेको र ती उत्परिवर्तन भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रका १५ देखि २० प्रतिशत नमूनामा फेला परेको निष्कर्ष  निकालेको थियो।
 
खेस्रामा ई४८४क्यू र एल४५२आर उत्परिवर्तनलाई ‘विशेष ध्यान दिनुपर्ने’ बताइएको थियो। उत्परिवर्तित भाइरस सजिलै मानिसको शरीरमा छिरेर रोग प्रतिरोधात्मक क्षमतामा असर पुर्याउन सक्ने समेत खेस्रामा उल्लेख गरिएको छ।

करिब दुई सातापछि २४ मार्चमा स्वास्थ्य मन्त्रालयले इन्साकोगको अनुसन्धानका निष्कर्ष  सार्वजनिक त गर्याे तर, त्यसमा ‘विशेष ध्यान दिनुपर्ने’ भन्ने शब्दावली नै थिएन। मन्त्रालयको विज्ञप्तिमा त्यस्ता भेरियन्टसँग जुध्न थप परीक्षण र क्वारेन्टिन रहेको र त्यसको तयारी भइसकेको मात्र उल्लेख थियो। 

भारतीय भेरियन्ट अहिलेसम्म बेलायत, स्वीजरल्यान्ड र इरान लगायत कम्तिमा पनि १७ मुलुकमा पुगिसकेको छ, जसले गर्दा ती मुलुकले भारतबाट आउने मानिसका लागि सीमा नाका बन्द गरिसकेका छन्। 

अनुवादः कुशल बस्नेत

Logo