मोरक्कोमा एक महिलाले एकै पटक नौ शिशुलाई जन्म दिइन् !

मोरक्कोमा एक महिलाले एकै पटक नौ शिशुलाई जन्म दिइन् !


अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन्। मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका हुन्।

कुनै महिलाले एकै पटक नौ जना शिशुलाई जन्म दिएको सम्भवत यो विश्वकै पहिलो घटना हो। मोरक्कोको क्लिनिकका अनुसार सबै नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ। 
जन्मिएका शिशुहरुमा पाँच बालिका र चार बालक छन्। मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको जनाएका छन्। 

पच्चीस वर्षीया आमा हालिमा सिस्सेले मङ्गलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन्। मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्यस्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन्।

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ। तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन्। 

धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए। 

गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ। सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन्।रासस

Skip This
Logo