२५ वर्षीया महिलाले एकैपटकमा जन्माइन ९ शिशु

२५ वर्षीया महिलाले एकैपटकमा जन्माइन ९ शिशु


अफ्रिकी मुलुक मालीकी एक महिलाले मोरक्कोको एक क्लिनिकमा नौ जना शिशुलाई जन्म दिएकी छन्। मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको पुष्टि गरेका छन्।

कुनै महिलाले एकैपटक नौ जना शिशुलाई जन्म दिएको सम्भवतः यो विश्वकै पहिलो घटना हो। मोरक्कोको क्लिनिकका अनुसार नौ जना शिशुको स्वास्थ्य अवस्था सामान्य छ।

जन्मिएका शिशुहरुमा पाँच छोरी र चार छोरा छन्। मालीका स्वास्थ्य मन्त्रीले आमाको स्वास्थ्य पनि सामान्य रहेको बताएका छन्। २५ वर्षीया हालिमा सिस्सेले मंगलबार मोरक्कोको क्लिनिकमा सिजेरियन विधिबाट ती शिशुलाई जन्म दिएकी थिइन्। मालीका स्वास्थ्य अधिकारीहरुले ती आमाको स्वास्थ्य स्थितिलाई विचार गरी माली पठाइएको जनाएका छन्।

जन्मिएका शिशुहरुको तौल ५०० ग्रामदेखि एक किलोग्राम सम्मका रहेको क्लिनिकले जनाएको छ। तीस हप्ताको गर्भपछि यी शिशुहरु अपरिपक्व अवस्थामा जन्मिएका हुन्।

धेरै रगत बगेर आमाको स्वास्थ्यमा जोखिम देखिन थालेपछि चिकित्सकहरुले सिजेरियन विधिबाट बच्चा निकालेका थिए। गिनिस बुक अफ वर्ल्ड रेकर्ड्समा कुनै पनि आमाले ८ जनासम्म जीवित सन्तान जन्माएको पाइएको छ। सन् २००९ मा अमेरिकी आमा नादया सुलेमानले आठ बच्चालाई जन्म दिएकी थिइन्।

Logo