को हुन् इङ्ल्यान्डको ५० पाउन्डको नयाँ नोटमा फोटो भएका ‘एलन ट्युरिङ’?

को हुन् इङ्ल्यान्डको ५० पाउन्डको नयाँ नोटमा फोटो भएका ‘एलन ट्युरिङ’?


बैंक अफ इङ्ल्यान्ड (बिओइ) ले ५० पाउन्डको नयाँ पोलिमर नोट बजारमा ल्याएको छ। ‘इलियट एन्ड फ्राइ’ नामक स्टुडियोले सन् १९५१ मा लिएको एलन ट्युरिङको तस्बिर उक्त नोटमा राखिएको छ। 

बिओइले ५० पाउन्डको नयाँ नोटमा कुन वैज्ञानिकको तस्बिर राख्ने भनेर सर्वसाधारणसँग सुझाव मागेको थियो। सुझावका रूपमा आएका स्टेफन हकिङ, चाल्र्स ब्यावेज, एडा लभलेस, श्रीनिवास रामानुजनलगायत ९ सय ८८ नामी वैज्ञानिकलाई पछि पार्दै ट्युरिङ ५० पाउण्डको नोटमा छाएका हुन्। 

आखिर को हुन् ट्युरिङ? के कारणले मृत्यु भएको ६७ वर्ष पछि पनि उनले आफूभन्दा धेरै पछिका र अति नै चर्चित स्टेफन हकिङलाई समेत पछि पारे? यो जान्न ट्युरिङको योगदान र जीवनीको चर्चा गरौँ।

दोस्रो विश्वयुद्धको गर्मागर्मी चलिरहेको थियो। एडल्फ हिटलर नेतृत्वको जर्मनीलाई रोक्न असम्भवजस्तै प्रतीत भइरहेको थियो। युद्धरत जर्मनहरू सांकेतिक भाषामा पत्राचार गर्थे, जसलाई ‘एनिग्मा कोड’ भनिन्थ्यो। यस्तो कोड टाइपराइटर जस्तो एक यन्त्रबाट जर्मनहरूले तयार गर्थे, जसको नाम ‘एनिग्मा’ (रहस्यका लागि ग्रीक शब्द) राखिएको थियो। यसबाट एउटा कुरा टाइप गर्दा अर्कै लेखिन्थ्यो, जसलाई जर्मन संयन्त्रभित्रका प्रापकले सक्कल सूचनामा अनुवाद गर्न सक्थे। 

युद्धमा सूचनाको विशेष महत्व हुन्छ। आफ्नो सैन्य संयन्त्रभित्रको सूचना चुहावट हुनबाट जोगाउन सक्नु वा दुश्मनको सैन्य संयन्त्रभित्रको सूचना हात पार्न सक्नुले युद्धको नतिजामै फेरबदल ल्याउन सक्छ। त्यसैकारण जर्मनी सूचना जोगाउने दाउमा थियो। तर, सांगठनिक हिसाबले चुस्त जर्मनीलाई रोक्न सूचना नै ब्रिटेन (इङ्ल्यान्ड) का लागि एउटा उपाय थियो। त्यसै रणनीतिअनुरुप एनिग्मा कोडमा भएको वास्तविक सूचना पत्ता लगाउन इङ्ल्यान्डका संकेतबाट सूचना प्रशोधन गर्ने संस्था ‘गभर्मेन्ट कोड एन्ड साइफर स्कुल’ सक्रिय थियो, जहाँ एलेन ट्युरिङ कार्यरत थिए। 

सन् १९३९ देखि एनिग्मा कोडलाई हल गर्न ट्युरिङको टोली लागिपर्याे, जसले सन् १९४० मा त्यस कोडमा इंगित गरिएको सूचनालाई प्रशोधन गरी वास्तविक रूपमा ल्याउने यन्त्र ‘भिक्ट्री’ को प्रारम्भिक संस्करण तयार गर्याे। सन् १९४१ मा इनिग्मा कोडमा भएको गोप्य सूचना पूर्ण रूपमा पत्ता लगाउने स्तरमा ‘भिक्ट्री’ पुग्यो। सन् १९४३ मा यस यन्त्रले मासिक ८४ हजार (अर्थात् प्रति मिनेट दुई) का दरले सूचना अनुवाद गर्न थाल्यो।

यता ब्रिटेनले एनिग्माको कार्यशैलीबारे अध्ययन गर्दै गर्दा जर्मनीले अर्को यन्त्र सन् १९४० मा तयार गरिसकेको थियो। यसको नाम ब्रिटिसहरुले ‘टुन्नी’ राखेका थिए। टुन्नी यन्त्र एनिग्माभन्दा पनि शक्तिशाली थियो। एनिग्मा यन्त्रका लागि टाइप गर्ने, कोडमा अनुवाद गर्ने र रेडियो सिग्नल पठाउने गरी तीनजना सञ्चालक चाहिन्थ्यो। 

तर, टुन्नीले भने सूचना टाइप गरेपछि आफैं गोप्य कोडमा अनुवाद गर्थ्याे अनि पठाउँथ्यो पनि। प्रापकले पनि गोप्य कोडहरूका साटो सिधै अनूदित सूचना पाउँथ्यो। त्यसो हुँदा सूचना सम्प्रेषणको क्रममा मात्रै गोप्य कोडमा रहन्थ्यो। टुन्नी यन्त्र विशेष गरी जर्मनीका उच्च अधिकारीले प्रयोग गर्ने भएकाले यसमा भएको सूचना अधिग्रहण गर्नु पनि ब्रिटिसहरूका लागि आवश्यक थियो। ट्युरिङको अग्रसरतामा त्यसको पनि हल सन् १९४२ मा तयार भयो, जसलाई ‘ट्युरिङ्गरी’ नाम दिइयो। 

यता ब्रिटेनले एनिग्माको कार्यशैलीबारे अध्ययन गर्दै गर्दा जर्मनीले अर्को यन्त्र सन् १९४० मा तयार गरिसकेको थियो। यसको नाम ब्रिटिसहरुले ‘टुन्नी’ राखेका थिए। टुन्नी यन्त्र एनिग्माभन्दा पनि शक्तिशाली थियो। एनिग्मा यन्त्रका लागि टाइप गर्ने, कोडमा अनुवाद गर्ने र रेडियो सिग्नल पठाउने गरी तीनजना सञ्चालक चाहिन्थ्यो। 

ब्रिटेनलाई ट्युरिङको प्रयासबाट प्राप्त भएको सूचना युद्ध जित्न महत्वपूर्ण सावित भयो। खाद्यान्नलगायत विविध सामग्री बोकेर अमेरिकाबाट ब्रिटेन आउँदै गरेका जहाजमाथि जर्मनीको हमला हुँदा एनिग्मा कोड हल गर्ने भिक्ट्री यन्त्रको प्रयोगबाट हमला गर्नेहरूबीचको सूचना आदानप्रदानको आधारमा अवस्थिति पत्ता लगाई स्थिति नियन्त्रणमा ल्याइएको थियो, जसको जिकीर तत्कालीन ब्रिटिस प्रधानमन्त्री विन्स्टन चर्चिल आफैंले गरेका छन्। 

ट्युरिङको तस्बिर अंकित नयाँ नोट सार्वजनिक गर्दै बैंक अफ इङ्ल्यान्डका गभर्नर एन्ड्रिउ बेलीले दोस्रो विश्वयुद्ध छोट्याउन ट्युरिङले मुख्य भूमिका खेलेको बताए। ‘इतिहासकारका अनुसार उनका कारण विश्वयुद्ध दुई वर्षले छोटियो र करोडौँ मानिस ज्यान गुमाउनबाट बचे,’ उनले भने। 

ट्युरिङको योगदान विश्वयुद्धमा मात्रै सीमित छैन। उनले कम्प्युटर विज्ञानको क्षेत्रमा पनि उल्लेख्य काम गरेका छन्। उनले दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दाअघि सन् १९३६ मा नै ‘ट्युरिङ मेसिन’ को अवधारणा प्रतिपादन गरेका थिए। ‘ट्युरिङ मेसिन’ कुनै यन्त्र नभई एउटा यान्त्रिक नमुना हो, जसले ‘एल्गोरिदम’ (कुनै काम फत्ते गर्न तयार गरिएको क्रमिक निर्देशन) को प्रयोगलाई स्थापित ग¥यो। कालान्तरमा एल्गोरिदम कम्प्युटर विज्ञानमा एकदमै सहयोगी हुन पुग्यो। अहिले पनि कम्प्युटरले कुनै पनि काम गर्दा प्रक्रिया सञ्चालन गर्न कुन कदम कसरी अगाडि बढाउने भन्ने मार्गचित्र दिन एल्गोरिदमकै प्रयोग हुन्छ। 

त्यसपछि सन् १९४६ मा उनले ‘अटोमेटिक कम्प्युटिङ इन्जिन’ नामको स्वचालित कम्प्युटरको नमुना तयार पारे जसलाई पछि उनको उपस्थितिमा राष्ट्रिय भौतिकशास्त्र प्रयोगशालामा विकास गर्दै लगियो। सन् १९५५–५६ मा बजारमा आएका कम्प्युटर उनले बनाएको नमुनामा आधारित रहेको मानिन्छ। 

‘जे आउँदैछ, त्यसको यो सुरुआत मात्र हो र भविष्यमा यो के हुनेछ भन्ने कुराको छायाँ मात्र हो,’ अटोमेटिक कम्प्युटिङ इन्जिनका बारेमा उनले दिएको यो वक्तव्य नयाँ नोटमा पनि राखिएको छ।

हिजोआज ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (कृत्रिम बुद्धिमत्ता) फस्टाउँदै गएको छ। चालकरहित कार, साइकल अदिको विकास यसका केही उदाहरण हुन्। ट्युरिङलाई कृत्रिम बुद्धिमत्ताको पिता पनि मानिन्छ। सन् १९५० मा प्रकाशित अध्ययनमा उनले कृत्रिम बुद्धिमत्ताको चर्चा गरेका थिए। त्यसमा उनले कुनै यन्त्रमा बुद्धिमत्ता छ कि छैन भन्ने पत्ता लगाउने विधि प्रतिपादन गरेका छन् जसलाई ‘ट्युरिङ टेस्ट’ भनियो। 

मानिससँग लिखित संवाद गर्नेगरी तयार पारिएको कुनै पनि यन्त्रले संवादका क्रममा प्रयोग गर्ने भाषा परीक्षण गर्न कसैलाई दिँदा कुन अभिव्यक्ति मानिसको हो र कुन यन्त्रको हो भन्ने छुट्याउन नसके उक्त यन्त्रमा बुद्धिमत्ता भएको मान्नु पर्ने अवधारणा नै ‘ट्युरिङ टेस्ट’ हो। यस टेस्टलाई उनी आफैले भने ‘इमिटेसन गेम’ (नक्कल गर्ने खेल) नाम दिएका थिए। 

ट्युरिङ समलिंगी थिए। सन् १९५२ मा उनी १९ वर्षीय आर्नोल्ड मुरेसँग प्रेमसम्बन्धमा गाँसिए। त्यसको केही दिनपछि नै उनको घरमा लुटपाट भयो। मुरेले आफूले डकैती गर्ने मान्छेलाई चिनेको बताएपछि उनी प्रहरीकहाँ गए जहाँ उनले आफ्नो घरमा भएको डकैतीका बारेमा जानकारी दिने क्रममा आफू मुरेसँग सम्बन्धमा रहेको पनि बताए। त्यस समय ब्रिटेनमा समलिंगी हुनु गैरकानुनी थियो। उनलाई महिलामा हुने हर्मोन इस्ट्रोजन लिन दबाब दिइयो जसले उनलाई कमजोर बनाउँदै लग्यो। 

सन् १९५१ मा उनी आफ्नै घरमा मृत भेटिए। मृत्युको कारण साइनाइड विष सेवन रहेको बताइयो। समलिंगी भएकै कारण राज्यले ट्युरिङलाई यातना दिएको भन्दै चर्को आवाज उठेपछि सन् २०१४ मा मात्रै उनी निर्दोष रहेको घोषणा ब्रिटेन सरकारले गर्याे। उनी विज्ञान तथा प्रविधि र खासगरी ब्रिटेनका लागि योगदान गरेका व्यक्तित्व त हुन् नै, तर यतिको योगदानपछि पनि समलिंगी भएकै कारण उनले भोगेको शोषणप्रति सहानुभूति जनाउँदै ब्रिटिसहरूले उनको नाम सिफारिस गरेका हुन्। 
  
बेनेडिक्ट कम्बरब्याचको अभिनय रहेको ‘द इमिटेसन गेम’ नामको चलचित्र ट्युरिङको जीवनमा आधारित छ।

Logo