भारतमा ११८ दिनपछिकै सबैभन्दा थोरै सङ्क्रमित

भारतमा ११८ दिनपछिकै सबैभन्दा थोरै सङ्क्रमित


भारतमा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ११८ दिनपछिकै सवैभन्दा थोरै सङ्क्रमित भएका छन्। सरकारी अधिकारीहरुले सोमबार दिएको जानकारीअनुसार भारतमा अहिले थप ३१ हजार ४४३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। 

संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले नयाँ थपिएकासँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेका सङ्क्रमितहरुको सङ्ख्या चार लाख ३१ हजार ३१५ रहेको छ। यो सङ्ख्या पनि १०९ दिनपछिकै सवैभन्दा कम भएको बताइएको छ। 

अहिले सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या कुल सङ्क्रमितहरुको सङ्ख्याको १.४० प्रतिशत रहेको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।     

कोरोना भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भारतमा तीन करोड ६३ हजार ७२० पुगेको छ। ती मध्ये पछिल्लो एक दिनमा ४९ हजार सात जना सङ्क्रमणमुक्त भएका छन्।     

भारतमा कोरोना भाइरसबाट कुल सङ्क्रमित मध्ये अहिलेसम्म ९७.२८ प्रतिशत सङ्क्रमण मुक्त भएको पाइएको छ। महामारी नियन्त्रणका लागि भारतमा गत जनवरी १६ देखि खोप अभियान संचालन भइरहेको छ। अभियान अन्तर्गत अहिलेसम्म ३८.१४ करोड मानिसलाई खोप लगाइएको मन्त्रालयले जनाएको छ।

Logo