रुख चढेर अनलाइन क्लास लिन्छन् श्रीलंकाका बालबालिका (फोटो फिचर)

रुख चढेर अनलाइन क्लास लिन्छन् श्रीलंकाका बालबालिका (फोटो फिचर)


श्रीलंकाको बोहितिवाया गाउँमा अनलाइन कक्षाका लागि शिक्षक तथा विद्यार्थीले तीन किलोमिटरभन्दा बढी दूरी पैदल हिँड्दै चितुवा र हात्ती भएको जंगल पार गर्नुपर्ने हुन्छ। 

छेउछाउको एउटै इन्टरनेट सिग्नलका लागि तीन किलोमिटर जंगल पार गरेपछि शिक्षक र विद्यार्थी गरी ४५ जना एउटा अग्लो चट्टानमा चढ्छन्। 

सूचना प्रविधिकी शिक्षक निमली अनुरुद्धिकाले इन्टरनेट सिग्नल पाउनासाथ कोभिड–१९ का कारण भौतिक रूपमा स्कुलमा उपस्थित हुन नसकेका आफ्ना विद्यार्थीका लागि पाठ अपलोड गर्न थाल्छिन्। 

त्यसै गाउँमा रहेका विद्यार्थीले पनि पाठ डाउनलोड गर्नका लागि त्यही तरिका अपनाउँछन्। 

सबैसँग ल्यापटप वा फोन पनि छैन। एउटै डिभाइस चार–पाँच विद्यार्थीले प्रयोग गर्छन्। खेतीकिसानीमा लागेका बुवाआमाले बालबालिकालाई इन्टरनेट सिग्नल आउने ठाउँसम्म लिएर जान्छन्। 

बालबालिकाले अग्लो चट्टान दिनको दुई पटकसम्म चढ्नुपर्ने र अभिभावक बालबालिकाको सुरक्षाबारे चिन्तित रहेको ६ कक्षामा अध्ययनरत बालककी आमा एचएम पथ्मिनीकुमारी बताउँछिन्। 

श्रीलंकाको मध्य भागमा रहेको उक्त गाउँमा आधारभूत सुविधाको समेत कमी रहँदै आएको छ। त्यहाँका बालबालिका १६ किलोमिटर टाढा रहेको सरकारी विद्यालयमा अध्ययनरत रहे पनि कोभिडका कारण हाल सञ्चालनमा छैन। श्रीलंकाका विद्यालय २०२० को मार्चयता बन्द रहँदै आएका छन्। 

अधिकारीले शिक्षालाई सबै बालबालिकासम्म पुर्याउन सक्दो प्रयास गरिरहेको बताए पनि श्रीलंकाका ४३ लाख विद्यार्थीमध्ये बढीमा ४० प्रतिशतले मात्र अनलाइन कक्षा लिइरहेको सिलोन शिक्षक युनियनका प्रमुख जोसेफ स्टालिन बताउँछन्। अधिकांश विद्यार्थीसँग इन्टरनेट प्रविधिको पहुँच छैन। अलजजिराबाट

लुनुगलाको एक जंगलमा इन्टरनेट सिग्नल टिप्ने ठाउँमा आफ्नी छोरीको अनलाइन क्लासका लागि फोन हातमा लिएर सहयोग गरिरहेकी महिला (इरंग जयवर्देन/एपि फोटो)

मिगाहाकिवुलाधको बोहितिवाया गाउँका बालबालिका नजिकैको पहाडबाट अनलाइन कक्षा लिएर फर्कँदै (इरंग जयवर्देन/एपि फोटो)

असमान इन्टरनेट वितरण र उच्च डेटा मूल्यका कारण विद्यमान डिजिटल असमानताका कारण श्रीलंकाका धेरै बालबालिका औपचारिक शिक्षाबाट बाहिरिँदैछन् (इरंग जयवर्देन/एपि फोटो)

रूखमा बनाइएको छाप्रोबाट अनलाइन कक्षा लिँदै विद्यार्थीहरू (इरंग जयवर्देन/एपि फोटो)

Logo