कसरी जन्मियो अफगानिस्तानमा ‘तालिवान’?

कसरी जन्मियो अफगानिस्तानमा ‘तालिवान’?


पास्तो भाषामा तालिवानको अर्थ हुन्छ ‘विद्यार्थी’। सन् १९९० को दशकमा अफगानिस्तानबाट सोभियत संघको सेना फिर्ता भएसँगै एक समूहको जन्म भयो, जसको नाम राखियो-तालिवान। अफगानिस्तान र पाकिस्तानमा फैलिएको पास्तुन क्षेत्रमा तालिवानले आफू सत्तामा आए आफ्नै कडा ‘शारिया’ (मुस्लिम कानुन) लागू गरेर शान्ति र सुरक्षाको पुनर्स्थापना गर्ने आश्वासन दिएर आफ्नो यात्रा सुरु गरे। 

अफगानिस्तानको दक्षिण पश्चिमी क्षेत्रबाट द्रुत गतिमा तालिवानले आफ्नो प्रभाव बढाउँदै लग्यो। सन् १९९५ को सेप्टेम्बरमा उनीहरूले इरानको सीमासँग जोडिएको हेरात प्रान्तमा कब्जा जमाए। त्यसको एक वर्षपछि तालिवानले सोभियत अतिक्रमणको प्रतिवाद गरेको मुजाहिद्दिन समूहका संस्थापक एवं राष्ट्रपति बुह्रानुद्दिन रब्बानीको सरकारलाई अपदस्थ गर्दै अफगानिस्तानको राजधानी काबुलमाथि कब्जा जमायो। सन् १९९८ सम्ममा तालिवानले अफगानिस्तानको ९० प्रतिशत भूभागमा कब्जा जमाइसकेको थियो। 

मुजहिद्दिन समूहको अत्याचार र सोभियतहरू फिर्ता भएपछिको किचलोबाट आजित अफगानिस्तानका नागरिकले तालिवानको आगमनको स्वागत गरेका थिए। तालिवानको सुरुआती लोकप्रियताका पछाडि उसको भ्रष्टाचारविरोधी अभियान, दण्डहीनताको न्यूनीकरण र व्यापार प्रवद्र्धनका लागि सडकमा कायम गरेको शान्ति सुरक्षा रहेको थियो। 

तर, शारिया कानुनको खरो व्याख्यामा आधारित सजायको पक्षमा पनि तालिवान रहेको थियो। यस्ता सजायमा हत्यारा र गैरवैवाहिक यौनसम्पर्कमा संलग्नलाई सार्वजनिक स्थलमा फाँसी दिने र चोरीमा संलग्नलाई अंगभंग गर्ने गर्दथे। तालिवानले सबै पुरुषलाई दाह्री पाल्न र महिलालाई बुर्का लगाउन अनिवार्य गरेका थिए। 

तलिवानले टेलिभिजन, संगीत र नाटकमा प्रतिबन्ध लगाउनुका साथै १० वर्ष मुनिका बालबालिकालाई स्कुल जानबाट पनि वर्जित गरेको थियो। धेरै खालका मानअधिकार र सांस्कृतिक अत्याचारको आरोप उनीहरूमाथि लागेको थियो। सन् २००१ मा तालिवानले मध्य अफगानिस्तानमा रहेको वामियन बुद्धको मुर्ति तहसनहस पारे। 

संसारकै ध्यान तालिवानमाथि तब केन्द्रित भयो, जब सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको न्युयोर्कस्थित ‘वर्ल्ड ट्रेड सेन्टर’ माथि आक्रमण भयो। आक्रमणका मुख्य योजनाकार मानिएका ओसामा बिन लादेन र उनको अल–कायदा आन्दोलनलाई आश्रय दिएको आरोप तालिवानलाई लाग्यो। 

सन् २००१ को अक्टोबर ७ मा अमेरिका नेतृत्वको सैन्य गठबन्धनले तालिवान नेतृत्वको अफगानिस्तानमा हमला गर्याे, जसका कारण डिसेम्बरको पहिलो हप्तासम्ममा तालिवान सरकार धराशायी भइसकेको थियो। त्यस समय तालिवानका नेता मुल्लाह मुहम्मद उमर विन लादेनसहित आक्रमणबाट बचेर भाग्न सफल भए। त्यसपछि उनीहरू पाकिस्तानमा शरण लिएर बसेको मानिन्छ। 

तालिवानको मुख्य योजनाकार रहेको आरोप लाग्दै आएको पाकिस्तानले उक्त आरोपको खण्डन गर्दै आएको छ। तर, तालिवानी आन्दोलनमा सुरुआती दिनमा संलग्न अफगानहरूमध्ये धेरै पाकिस्तानमा रहेका मदरसामा शिक्षित भएको पनि सत्य हो। 

अफगानिस्तानमा तालिवानको शासनलाई मान्यता दिने तीन मुलुकमध्ये पाकिस्तान एक हो भने बाँकी दुई मुलुक साउदी अरेबिया र युनाइटेड अरब इमिरेट्स हुन्। साथै तालिवानसँग कुटनैतिक सम्बन्ध तोड्ने अन्तिम देश पनि पाकिस्तान नै हो। एक पटक त तालिवानले पाकिस्तानमा हमला नै गर्याे। पाकिस्तानमा भएको पेशावर स्कुल हत्याकाण्डपछि सेनासँगको भिडन्तले भने पाकिस्तानमा तालिवानको प्रभाव घटायो। 

सन् २०१३ मा भएको ‘ड्रोन स्ट्राइक’ मा पाकिस्तानी तालिवानका कम्तिमा ३ जना मुख्य व्यक्तिहरूको निधन भयो, जसमा समूहका नेता हकिमुल्लाह मेहसुद पनि परे।

अफगानिस्तानी अधिकारीले अन्तर्राष्ट्रिय समुदायको सहयोग विना तालिवानसँग अफगानी सरकार लड्न नसक्ने बताएको भए पनि अमेरिकी राष्ट्रपतिले अप्रिलमा सेप्टेम्बर ११ भित्र सबै अमेरिकी फौज अफ्गानिस्तानबाट फिर्ता हुने बताएका थिए। 

विश्व शक्तिलाई पनि दुई दशकसम्म टक्कर दिएको तालिवानले ठूला क्षेत्रहरूमा कब्जा जमाउदै फेरि काबुलमा कब्जा जमाउने संकेत देखाएको छ। 

सन् २००१ मा सत्ताबाट हटाइएयता अहिले तालिवान सबैभन्दा दह्रो भएको मानिन्छ। नेटोको पछिल्लो आँकलनका अनुसार तालिवानसँग हाल ८५ हजार पूर्णकालीन लडाकु छन्। हाल उनीहरूले अफगानिस्तानको २० देखि ३५ प्रतिशत भाग नियन्त्रणमा लिएको बताइन्छ।

नियन्त्रण बढाउँदै लगेको तालिबान हेरात, लस्कर गह र कान्दहर गरी अफगानिस्तानका तीन मुख्य सहरमा हाल सरकारी फौजसँग भिडिरहेको छ।

Logo