यसरी विकराल बन्दैछ, दक्षिणपूर्वी एशियामा कोरोना महामारीको तेस्रो लहर

यसरी विकराल बन्दैछ, दक्षिणपूर्वी एशियामा कोरोना महामारीको तेस्रो लहर


कोरोना महामारीको दोस्रो लहरसँगै देखा परेको ‘डेल्टा भेरिएन्ट’ विश्वव्यापी हुने क्रममा छ। केही महिनाअघि आक्रान्त बनाएको ‘डेल्टा भेरिएन्ट’जन्य कोरोना संक्रमण नेपालमा फेरि बढ्ने क्रममा छ। दक्षिणपूर्वी एशियामा भने यो भेरिएन्टले कहालीलाग्दो तेस्रो लहर निम्त्याएको छ।

इन्डोनेशिया, भियतनाम, मलेशिया, थाइल्याण्ड र म्यानमार अहिले अक्सिजन र हस्पिटल बेड अभाव तथा स्वास्थ्यकर्मीहरूमा बढ्दो संक्रमणजस्ता समस्याहरूबाट ग्रस्त छन्। 

इन्डोनेशिया 

इन्डोनेशिया भारत र ब्राजिललाई उछिन्दै संसारमै सबैभन्दा बढी संक्रमण दर हुने मुलुक भएको छ। त्यहाँ ३५ लाख मानिसमा संक्रमण हुँदा लाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्।

एकै दिन ५० हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भइरहेको छ भने हजारभन्दा बढीले दिनहुँ ज्यान गुमाउँदै छन्। 

राजधानी जकार्ताको एक करोड ६ लाख जनसंख्यामध्ये आधाजसोमा कोभिड–१९ संक्रमण भएको एक सर्भेले देखाएको छ। 

भियतनाम

भियतनाममा ९ करोड ६० लाख जनसंख्याको ०.६ प्रतिशतले मात्रै कोभिड–१९ विरुद्धको खोपको पूरा डोज पाएको छ। 

त्यहाँ अहिलेसम्म १ लाख ७७ हजार ८ सय १३ जना संक्रमित भएकोमा त्यसको ८५ प्रतिशत पछिल्लो एक महिनामा मात्रै पत्ता लागेको हो। त्यस्तै जम्मा २ हजार ३ सय २७ मृत्युमध्ये आधा पछिल्लो महिनामा मात्रै भएको हो। 

मलेशिया

राष्ट्रियस्तरको लकडाउन गरिएको भए पनि मलेशियामा कोभिड–१९ को संक्रमण र मृत्युदर अचाक्ली बढ्दो छ। 

जनतामाझ निराशा बढ्दो छ। गत साता सयौँको संख्यामा लकडाउन उल्लंघन गर्दै सडकमा आएर प्रधानमन्त्री मुहियिद्दिन यासिनको राजीनामासमेत मागे।

कूल संक्रमण १० लाख नाघेसँगै अस्पतालहरूको अवस्थाप्रति ध्यानाकर्षण गराउन अघिल्लो साता हजारौँ चिकित्सकहरू हड्तालमा उत्रिए। बेड र भेन्टिलेटरको अभावमा काम गर्न नसक्ने भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्। 

बुधबार मात्रै मलेशियामा १९ हजार ८ सय १९ संक्रमित भेटिए, जबकि अघिल्लो महिना दैनिक संक्रमण सात हजार हाराहारी थियो। बुधबार कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या २ सय ५७ रहेको थियो।

पछिल्लो महिनामा छिमेकी देशहरूको तुलनामा मलेशियाको खोप दर राम्रो भने छ। ‘आवर वल्र्ड इन डेटा’का अनुसार मलेशियाको २२.५ प्रतिशत जनसंख्याले पूरा डोज खोप पाइसकेको छ। 

थाइल्याण्ड 

थाइल्याण्ड सन् २०२० मा कोरोना महामारीको पहिलो लहर नियन्त्रणमा लिन सफल भएको थियो। डिसेम्बरमा दोस्रो लहर नियन्त्रणमा पनि सफल भएको थाइल्याण्ड तेस्रो लहर नियन्त्रणमा भने चुकेको छ।

बुधबार थाइल्याण्डमा अहिलेसम्मकै उच्च २० हजार ९ सय २० संक्रमित भेटिए। सोही दिन १६० जनाको मृत्यु पनि भयो। बैंककस्थित अस्पतालहरूको क्षमताले धान्न नसक्ने स्थिति सिर्जना भएको छ। 

थाइल्याण्डको ७ करोड जनसंख्यामा २३ प्रतिशतले कम्तिमा एक डोज खोप पाएको भए पनि ५ प्रतिशतले मात्रै पूरा डोज पाएका छन्।  

म्यानमार 

सैनिक शासन लागू भएको केही समय नबित्दै म्यानमार महामारीबाट ग्रस्त हुन पुगेको छ। अहिले म्यानमारमा अक्सिजनको हाहाकार छ। 

अहिले म्यानमारको ४० प्रतिशत स्वास्थ्य सेवा मात्र सञ्चालनमा रहेको संयुक्त राष्ट्रसंघले आँकलन गरेको छ। गएको जुनमा दैनिक १ सय संक्रमित मात्रै भेटिएकोमा अहिले दैनिक ५ हजारभन्दा बढी संक्रमण पुष्टि हुन थालेको छ। त्यस्तै मृत्यु हुनेको संख्या १० हजार ३ सय ७३ पुगेको छ। 

अघिल्लो साता राष्ट्रसंघका लागि बेलायती राजदुत बार्बरा वुडवार्डले दुई महिनाभित्र म्यानमारको आधाभन्दा बढी जनसंख्या कोरोना संक्रमित हुन सक्ने बताएकी थिइन्। 

स्थिति गम्भीर हुँदै जाँदा शासनमा रहेको जुन्ता भने दमनमा लागेको छ। संयुक्त राष्ट्रसंघका अनुसार स्वास्थ्यकर्मीविरुद्ध २६० आक्रमण भइसकेका छन् भने ६७ जनालाई थुनामा राखिएको छ। साथै ६ सय चिकित्सक र नर्सका नाममा पक्राउ पूर्जी जारी भएको छ। 

सेनानियन्त्रित स्वास्थ्य मन्त्रालयले यसै वर्ष ५० प्रतिशत जनसंख्यालाई खोप लगाउने उद्देश्य लिएको भए पनि सेनाप्रति विश्वास घट्दै गएको पाइन्छ। 

(सीएनएनको सहयोगमा, तस्विरः एपी)

Skip This
Logo