हैटीका प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध

हैटीका प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध


हैटीका प्रधानमन्त्री एरियल हेनरीलाई देश छोड्न प्रतिबन्ध लागेको छ । राष्ट्रपति जोभेनल मोइसको हत्यामा उनको संलग्नताबारे छानबिन भइरहेकोले प्रधानमन्त्रीलाई देश छोड्न प्रतिबन्ध लगाइएको हो । 

प्रधानमन्त्री हेनरीबिरूद्ध अभियोजनकर्ताले मुद्दा चलाउने तयारी गरिरहेका छन् । राष्ट्रपतिको हत्याका मुख्य शंकास्पद जोसेफ फिलिक्स बाडियोको प्रधानमन्त्रीसँग सम्बन्धबारे सोधपुछसमेत गरिएको छ । 

राष्ट्रपतिको हत्यापछि प्रधानमन्त्री र जोसेफबीच धेरै पटक फोनवार्ता भएको अभियोजनकर्ताले बताएका छन् । राष्ट्रपति मोइसको ७ जुलाईमा आफ्नै घरमा हत्या भएको थियो । बन्दूकधारीले राजधानीस्थित उनको निजी निवासभित्र पसेर गोली हानी हत्या गरेका थिए । उनको मृत्युसँगै हैटीमा राजनीतिक संकट चुलिएको छ । 

पदीय दुरूपयोग गरेको भन्दै मंगलबार प्रधानमन्त्रीले मुख्य अभियोजनकर्ता बेडफोर्ड क्लाउडेलाई बर्खास्त गरेको पत्र पठाएका थिए । उनको ठाँउमा अर्को व्यक्ति नियुक्त गरेका थिए । 

तर,अदालतले क्लाउडेको बर्खास्त गैरकानूनी भएको फैसला गरेपछि उनले प्रधानमन्त्रीबिरुद्धको कानूनी कारबाही तीब्र पारेका छन् । आक्रमणको चेतावनीपछि क्लाउडेलाई थप सुरक्षा प्रदान गरिएको छ । 

Logo