जापानको प्रधानमन्त्रीमा फुमिओ किशिदा नियुक्त भएकामा विश्वका नेताहरुले उनलाई बधाई दिएका छन् ।
उनी सोमबार प्रधानमन्त्रीमा नियुक्त भएका थिए । नवनियुक्त प्रधानमन्त्री किशिदालाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बधाई दिएका छन् ।
राष्ट्रपति पुटिनले आगामी दिनमा जापानी प्रधानमन्त्री किशिदासँग मिलेर काम गर्न आफू इच्छुक रहेको पनि बताएका छन् । साथै उनले आगामी आमनिर्वाचनका लागि पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई शुभकामना दिएका छन् ।
त्यसैगरी चिनियाँ राष्ट्रपति सि चिनफिङले पनि नवनियुक्त प्रधानमन्त्री किशिदालाई बधाई बधाई दिएका छन् । उनले नवनियुक्त प्रधानमन्त्री किशिदाको समयमा चीन–जापान सम्बन्ध राम्रो रहने बताएका छन् । त्यस्तै चिनियाँ प्रधानमन्त्रीले पनि नवनियुक्त प्रधानमन्त्रीलाई बधाई सन्देश पठाएका छन् ।
उता नवनियुक्त प्रधानमन्त्री किशिदाले प्रधानमन्त्रीमा नियुक्त भएकै दिन आमनिर्वाचनको तयारी पनि थालेका छन् ।
उनले देशको १०० औँ प्रधानमन्त्रीमा नियुक्त भएपछि सोमबार पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यस क्रममा उनले निर्वाचनको तयारी सुरु गर्ने घोषणा गरे ।
उनले यही अक्टोबर ३१ मा जापानमा आम निर्वाचन गराउने तयारी गरेका छन् । जापानको प्रतिनिधिसभाको म्याद यही अक्टोबर २१ देखि सकिन लागेको छ । त्यसैले उनले जिम्मेवारी सम्हाल्ने वित्तिकै निर्वाचनको घोषणा गरेका हुन् । रासस/सिन्हवा
प्रतिक्रिया