पेट्रोलियम पदार्थको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे

पेट्रोलियम पदार्थको मूल्य बढेपछि साइकल प्रयोगकर्ता बढे


अफगानिस्तानको राजधानी काबुलमा साइकल प्रयोग गर्नेहरुको सङ्ख्यामा वृद्धि भएको पाइएको छ। पछिल्लो समयमा पेट्रोलियम पदार्थको मूल्य अत्यधिक बढ्दै गएपछि पेट्रोलियम पदार्थको आवश्यकता नपर्ने सवारी साधन साइकलको प्रयोग बढेको हो।  

यसअघि अफगानिस्तानी मूल्यअनुसार ३५ रूपैयाँ प्रतिलिटर पर्ने पेट्रोलियम पदार्थको मूल्य अहिले ७६ रूपैयाँ पुगेको अधिकारीले जनाएका छन्। 

पछिल्लो दुईदेखि तीन महिनामा दोब्बरभन्दा बढी मूल्यवृद्धि भएकाले काबुलवासीले पेट्रोलियम पदार्थको प्रयोग घटाउन साइकलको प्रयोग बढाएका हुन्।

“पेट्रोलियम पदार्थको मूल्य बढेकाले बस तथा ट्याक्सीको भाडा पनि अत्यन्त धेरै बढेको छ, मैले त्यो मूल्य तिर्न सक्दिन,” स्थानीय अब्दुल क्वाडीरले भने। 

“गाडी तथा ट्याक्सीको प्रयोग गर्नुको सट्टामा सम्भव भएसम्म साइकल नै प्रयोग गर्ने गरेका छौँ, नजिकै जान त हिडेर पनि जाने गरेका छौँ,” उनको भनाइ थियो। सरकारी अधिकारीले काबुलमा पछिल्लो समयमा पैदल यात्रीको सङ्ख्या धेरै देखिएको पनि जानकारी दिएका छन्। 

“पैदल यात्रीको सङ्ख्या बढेकाले पैदल मार्गमा भीडभाड पनि धेरै हुने गरेको छ,” एक सरकारी अधिकारीले भने। साइकलको प्रयोग सस्तो हुनुका साथै स्वास्थ्यलाई पनि फाइदा गर्ने र वातावरणलाई पनि फाइदा गर्ने भएकासमेतले साइकल प्रयोगकर्ता बढेको अनुमान गरिएको छ। 

विज्ञ तथा सरकारी अधिकारीले पनि साइकलको प्रयोगका लागि प्रोत्साहन गर्ने गरेको पाइएको छ। केही ढिला हुने बाहेक साइकलको कुनै बेफाइदा नभएको विज्ञको भनाइ छ।

पेट्रोलियम पदार्थको मूल्यअनुसार भाडादरसमेत वृद्धि भएपछि ट्याक्सीका प्रयोगकर्ता कम भएको भन्दै ट्याक्सी व्यवसायी चिन्तीत भएका छन्। उनीहरुले पहिला पहिलाको तुलनामा अहिले ट्याक्सीका ग्राहक निकै कम पाइने गरेकाले कमाइ निकै कम हुने गरेको बताएका छन्। 

Skip This
Logo