ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चीनको अर्को चेतावनी

ताइवानको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चीनको अर्को चेतावनी


चीनले ताइवानलाई अनावश्यक महत्व नदिन र उसको स्वतन्त्रताबारे नबोल्न अमेरिकालाई चेतावनी दिएको छ। लोकतन्त्रका लागि अमेरिकाले आयोजना गरेको शिखर सम्मेलनमा ताइवानलाई निम्तो दिएपछि चीनले सो चेतावनी दिएको हो। अमेरिकी निम्तोको कडा शब्दमा विरोध गर्दै चीनका  विदेश मन्त्रालयका प्रवत्ता झाओ लिजियानले अमेरिका एक चीन नीतिप्रति प्रतिबद्ध हुनु पर्ने सुझाव दिएका छन्। 

यही ९ र १० डिसेम्बरमा आयोजना हुने भर्चुअल सम्मेलनमा अमेरिकाले ताइवानसहित ११० देशलाई बोलाएको छ। तर, चीन, रुस, अफगानिस्तानलगायत केही देशलाई भने बोलाएको छैन।  
ताइवानले अमेरिकी निम्तोको स्वागत गर्दै उसले वर्षौंदेखि प्रजातान्त्रिक मूल्य र मानव अधिकारको रक्षा गर्दै आएको जनाएको छ।

चीनका दर्जनौं लडाकु जहाज ताइवानको सुरक्षा क्षेत्रनजिक उडेपछि ताइवान र चीनबीचको तनाब बढिरहेको छ। विवादमा अमेरिका पनि तानिएको छ। ताइवानको सुरक्षा क्षेत्रमा चीन गैरकानुनी ढंगले प्रवेश गरेको भन्दै अमेरिकाले त्यसको विरोध गर्दै आएको छ। चीनले ताइवानलाई हमला गरे त्यसको प्रतिकार गर्ने अमेरिकाले बताउँदै आएको छ। 

केही साताअघि अमेरिकी सांसदहरुको एउटा प्रतिनिधिमन्डलले ताइवानको भ्रमण गरेको थियो। भ्रमणको चीनले विरोध गरेको थियो। चीनले ताइवानलाई आफ्नो अभिन्न क्षेत्रको रुपमा व्यवहार गर्दै आएको छ। तर, ताइवानले आफूलाई सधै स्वतन्त्र र सार्वभौम मुलुक सम्झन्छ।एजेन्सी

Logo