क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु

क्यालिफोर्नियामा गोली चल्यो, ६ जनाको मृत्यु


क्यालिफोर्नियाको सेक्रामेन्टो सहरमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। आइतबार बिहान रेस्टुरेन्ट र बारहरूले भरिएको क्षेत्रमा बन्दुकको आवाज आएपछि मानिसहरू सडकबाट भागेका थिए। आक्रमणकारीमाथि प्रहरीले जवाफी गोली प्रहार गरेको थियो। 

आक्रमणपछि शंकास्पद व्यक्तिको खोजी भइरहेको जनाइएको छ। ‘यो वास्तवमै दुःखद अवस्था हो’, प्रहरी प्रमुख क्याथरिन लेस्टरले भने । आक्रमणकारी पत्ता लगाउन प्रहरीले सर्वसाधारणसँग सहयोग मागेको छ।

केही कुख्यात गोलीकाण्ड
बन्दुक राख्न पाउने कानुनका कारण अमेरिकामा भयानक गोलीकाण्डहरू दोहोरिने गरेको छ। प्रायः अमेरिकीले बन्दुक लिनु एउटा संस्कृतिजस्तै बनेको छ। सोही कारण बन्दुकसँग सम्बन्धित हमला भइरहेका छन्। हत्याहिंसाको अन्त्यका लागि बन्दुक संस्कृतिको अन्त्य हुनुपर्ने विज्ञहरू बताउँदै आएका छन्। 

सन् २००७ मा भर्जिनियाको एक विद्यालयमा भएको गोलीकाण्डमा आक्रमणकारीसहित ३३ जनाको मृत्यु भएको थियो। सो आक्रमणमा २३ जना घाइते भएका थिए । 

त्यसैगरी, सन् २०१२ मा पनि अमेरिकाको स्यान्डी हकमा एकजना बन्दुकधारीले विद्यालयमा गरेको हमलामा २८ जनाको ज्यान गएको थियो। सो घटनामा मारिनेमा अधिकांश बालबालिका थिए। 

त्यसैगरी, सन् २०१७ को अक्टोबरमा लास भेगासमा भएको बन्दुक हमलामा ६० जनाको ज्यान गएको थियो। सो गोलीकाण्डमा करिब ५ सय जना घाइते भएका थिए। सो आक्रमणलाई अमेरिकी इतिहासकै सबैभन्दा क्रूर र दर्दनाक मानिएको छ।एजेन्सी

Logo