पोखरा गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार

पोखरा गठबन्धनको घोषणापत्र : समुन्नत पोखराको आधार, सवल अर्थतन्त्र र पूर्वाधार


सत्तारूढ गठबन्धन पोखराले आसन्न स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पोखरामा बिहीबार आयोजित पाँच दलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत साझा चुनावी घोषणापत्र सार्वजनिक गरिएको हो। 

‘समुन्नत पोखराको आधारः सवल अर्थतन्त्र र पूर्वाधार’ भन्ने नाराका साथ घोषणापत्र सार्वजनिक गरिएको छ। पोखरामा रोकिएको विकासलाई अघि बढाउन घोषणापत्र तयार गरिएको गठबन्धनले जनाएको छ। 

पोखरा महानगरपालिकामा गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका नेता धनराज आचार्य र उपमेयरमा कांग्रेस नेतृ कोपीला रानाभाटले उम्मेदवारी दर्ता गराएका छन्। 

सो कार्यक्रममा धनराज आचार्यले पोखरेलीलाई धनी बनाउने आधार र पूर्वाधार बनाउनेमा जोड दिए। वडाहरुमा पनि गठबन्धन हुन लागेको जानकारी दिँदै उनले केही वडामा टुंगिन बाँकी रहेको बताए। आपसी सल्लाहमै सबै विषय टुंग्याउने उनको भनाइ छ। 

सोही कार्यक्रममा कोपीला रानाभाटले गठबन्धनबाट उम्मेदवारी दिएका सबै निष्कलंक रहेका दाबी गरिन् । गठबन्धन समयको माग रहेको र ओली प्रवृत्तिको विरोधका लागि पनि रहेको भन्दै उनले गठबन्धनका उम्मेदवार निर्वाचित हुने दाबी पनि गरिन् । पाँच दलीय गठबन्धन स्थानीय तह निर्वाचनसम्मका लागि मात्र नभएर संसदीय चुनावसम्म सँगै जानुपर्ने उनको भनाइ छ।

Logo