शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्री

शिवसेनाका नेता सिन्दे भाजपाको समर्थनमा महाराष्ट्रको मुख्यमन्त्री


भारतको महाराष्ट्रमा भाजपाको समर्थनमा शिवसेनाका नेता एकनाथ शिन्दे मुख्यमन्त्री भएका छन् । 

शिवसेनाका नेता सिन्देले पार्टीको ५६ जना विधायकमध्ये ३९ को समर्थन प्राप्त गरेका हुन् । यसअघि कांग्रेसको समर्थनमा मुख्यमन्त्री रहेका शिवसेनाका प्रमुख उद्धव ठाकरेले बुधबार राजीनामा दिएका थिए । ठाकरेको राजीनामापछि भाजपा र शिन्दे समूह एक ठाउँमा आएको हो । 

भाजपाले समर्थन गरेपछि सिन्देले बहुमत विधायकको साथ आफूसमक्ष रहेको भन्दै राज्यपाल भगतसिंह कोश्यारीसमक्ष सरकारको दाबी गरेका हुन् । सन् २०१९ मा भएको विधानसभा चुनावमा भाजपा सबैभन्दा ठूलो पार्टी बनेको थियो । भाजपा र शिवसेनाले चुनावी तालमेल गरे पनि मुख्यमन्त्री को बन्ने विषयमा विवाद बढेपछि शिवसेनाले कांग्रेस र एनसीपीको साथ लिएर सरकार बनाएको थियो ।​ 

अहिले मुख्यमन्त्री बनेका शिवसेनाका प्रभावशाली नेता एकनाथ शिन्दे पहिले अटो रिक्सा चालक थिए । उनले १८ वर्षको उमेरदेखि आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए । ठाणे नगर निगममा विपक्षी नेताको रुपमा काम गरेपछि उनी सन् २००४ मा पहिलो पटक विधायक बने ।

त्यसपछि सन् २००९ देखि लगातार कोपरी–पचपाखडी विधानसभा क्षेत्रबाट उनी विधायक चुनिंदै आएका छन् । सन् २०१५ देखि २०१९सम्म उनी प्रदेशको लोक निर्माण मन्त्री बनेका थिए । हाल उनी शहरी विकास मन्त्रीका साथै ठाणे जिल्लाको प्रभारी मन्त्री पनि थिए ।

Logo