श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धने नियुक्त

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा दिनेश गुणवर्द्धने नियुक्त

केन्द्रबिन्दु
0
Shares

श्रीलंकाका दिग्गज नेता दिनेश गुणवर्द्धने नयाँ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । नवनिर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् । राष्ट्रपति विक्रमासिङ्घेले उनलाई पद तथा गोपनियताको सपथ गराएका थिए । विक्रमासिङ्घे बुधबार नयाँ राष्ट्रपतिमा निर्वाचित भएका हुन् । श्रीलंकालाई अभूतपूर्व आर्थिक संकटबाट जोगाउने भार अब विक्रमासिङ्घे र गुणवर्द्धनेमा छ। पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका सहयोगीहरूले देश छोडिसकेका छन्।

गुणवर्द्धने परराष्ट्र, गृह र शिक्षा मन्त्री थिए

राष्ट्रपति विक्रमासिङ्घे र प्रधानमन्त्री गुणवर्द्धने दुवै ७३ वर्षका छन् । दिनेश गुणवर्द्धने एक वरिष्ठ श्रीलंकाली राजनीतिज्ञ, संसद सदस्य, पूर्व क्याबिनेट मन्त्री  हुन्। गुणवर्द्धने यसअघि श्रीलंकाका विदेशमन्त्री र शिक्षामन्त्री भइसकेका छन् । पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षेले उनलाई अप्रिलमा गृहमन्त्री बनाएका थिए । विक्रमासिङ्घेले बिहीबार सपथ लिएका हुन् । उनी देशको आठौं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

गत साता तत्कालीन राष्ट्रपति गोटाबायाले देशमा ठूलो कोलाहल र विरोध भएपछि परिवारसहित देश छाडेका थिए । त्यसपछि संसदले गोटबायाको बाँकी कार्यकालका लागि रनिल विक्रमासिङ्घेलाई राष्ट्रपतिमा निर्वाचित गरेको छ । विक्रमासिंघे देशको ६ पटक प्रधानमन्त्री भइसकेका छन् । तर उनी राष्ट्रपतिमा पहिलो पटक चुनिएका हुन ।
अहिले श्रीलंकाले ठूलो आर्थिक संकटको सामना गरिरहेको छ। देशको आर्थिक अवस्था यति बिग्रिएको छ कि अत्यावश्यक वस्तु र इन्धन आयात गर्न पैसा छैन । यस्तो अवस्थामा देशलाई यो संकटबाट बाहिर निकालेर ट्रयाकमा ल्याउने महत्वपूर्ण जिम्मेवारी राष्ट्रपति र प्रधानमन्त्रीको नयाँ जोडीको छ । विक्रमासिङ्घेले व्यक्तिगत स्वार्थ छाडेर संकटको सामना गर्न सबै पक्षलाई आह्वान गरेका छन् ।
 

Skip This
Skip This
Logo