बीमा क्षेत्रमा कोरोना प्रभाव : डिजिटल प्रविधिको प्रयोग बढ्यो

बीमा क्षेत्रमा कोरोना प्रभाव : डिजिटल प्रविधिको प्रयोग बढ्यो


काठमाडौं ।

कोरोना संक्रमणका कारण सरकारले गरेको लकडाउनले अघिकांश क्षेत्रमा क्षति पुर्याए पनि केही क्षेत्रमा भने सकारात्मक परिवर्तन गराएको छ ।

लकडाउन भएसँगै विभिन्न कम्पनीहरुले घरमै बसेर डिजिटलको माध्यमबाट कारोबार गरे । लकडाउनले डिजिटल कारोबारलाई बढवा दियो । बीमा क्षेत्रमा पनि लकडाउन भए यता उल्लेख्य मात्रामा डिजिटल कारोबार बढेको छ । अधिकांश बीमा कम्पनीहरुले डिजिटलको माध्यमबाट प्रिमियम संकलन गर्ने तथा बीमा पोलिसी जारी गरि बिक्री गर्ने काम गरेका छन् ।

लकडाउनले बीमा कम्पनीहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरेको बीमा समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । सरकारले कोरोनाका कारण गत चैत्र ११ गते लकडाउन गरेको थियो । सोही बेलादेखि समितिले सम्पूर्ण बीमा कम्पनीहरुलाई डिजिटलको माध्यमबाट कारोबार गर्न निर्देशन दिएको थियो । त्यसका साथै समितिले अनलाईनमार्फत बीमालेखहरु जारी गर्न निर्देशन दिएको थियो ।

सो बेलादेखि बीमा कम्पनीहरूले डिजिटल प्रविधिको प्रयोग बढाउँदै लगेका छन् । समितिले बैंक तथा वित्तीय संस्था, आइएमई पे, इ सेवा, प्रभु पे मार्फत पनि बीमाशुल्क तिर्न सकिने व्यवस्था गरिएको थियो । समितिले यस्तो व्यवस्था गरेसँगै बीमा कम्पनीहरु डिजिटल कारोबारमा आकर्षित भएका हुन् । अनलाईन कारोबार लकडाउन अवधिका लागि मात्रै होइन । अब संचालनमा रहेका अधिकांश बीमा कम्पनीहरुले अनलाईन सुविधा उपलब्ध गराउँदै आएका छन् ।

समितिका अनुसार नेपाल लाइफ, युनियन लाइफ, मेट लाइफ, एशियन लाइफ, सिटिजन लाइफ, प्राइम लाइफ लगायतका जीवन बीमा कम्पनीहरुले बीमाको नविकरण गर्न अनलाईनमार्फत शुल्क तिर्ने व्यवस्था गरेका छन् । यस्तो व्यवस्था गर्ने जीवन बीमा कम्पनीहरुमा सूर्या लाइफ, रिलायवल लाइफ, प्रभु लाइफ, सन नेपाल लाइफ, ज्योति लाइफ, रिलायन्स लाइफ, गुराँस लाइफ, महालक्ष्मी लाइफ, नेशनल लाइफ, लगायत रहेको समितिले जनाएको छ ।

त्यसैगरी, जीवन बीमासहित निर्जीवन बीमा कम्पनीहरूले पनि अनलाईन कारोबारलाई जोड दिएका छन् । नेपाल इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, ओरियन्टल इन्स्योरेन्स एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स, जनरल इन्स्योरेन्स कम्पनी, सगरमाथा इन्स्योरेन्स लगायतले प्रिमियम तिर्न अनलाईनको व्यवस्था गरेका छन् । यस्तो व्यवस्था गर्ने निर्जीवन बीमा कम्पनीहरुमा नेको इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स, र एभरेष्ट इन्स्योरेन्स लगायत रहेको समितिले जनाएको छ ।

लकडाउनका सामयमा बीमा कम्पनीहरूले आफ्नो मोवाईल एप्समार्फत अनलाईन तथा आफ्नो मोबाइल एप्सबाट पनि प्रिमियम तिर्न तथा दावी गर्न तथा भुक्तानी प्राप्त गर्न सकिने व्यवस्था गरेका थिए । सो व्यवस्थाका कारण भौतिक रुपमा कार्यालयमै उपस्थित हुनु नपर्ने तथा छिटो र सहज रुपमा काम गर्ने व्यवस्था बीमा कम्पनीहरले मिलाएका थिए । अहिले अधिकांश बीमा कम्पनीहरुले सोही अनुसार काम गरिरहेका छन् ।

समितिले जारी गरेको सूचना प्रविधि मार्गदर्शनमा बीमा कम्पनीहरूले कार्य सञ्चालन गर्न एप्लीकेशन सफ्टवेयरको प्रयोग गर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसका साथै मोवाइल तथा अन्य प्रकारको एप्सको पनि प्रयोग गर्न सकिनेछ । बीमकले नयाँ बीमालेख जारी गर्दा र नविकरण शुल्क भुक्तानी गर्दा इजाजत प्राप्त विद्युतिय भुक्तानीका माध्यमहरू प्रयोग गर्नुपर्ने सो मार्गदर्शनमा भनिएको छ ।

Logo