अफ्रिकाबाट छरिएर पृथ्वीको कुनाकुनामा आफ्नो साम्राज्य स्थापित गर्न सफल ‘होमोसेपियन्स’ अब एउटा नयाँ उद्योगमा लागेको छ । अब यस महत्वाकांक्षी जीवको लक्ष्य पृथ्वीका सबै किसिमका प्रकृतिजन्य बाधा र सीमाना भत्काउँदै सौर्यमण्डलको अर्को पिण्डमा आफ्नो विजय झन्डा गाड्नु रहेको छ ।
यस उद्देश्य परिपूर्ति गर्ने दिशामा द्रुतगतिले काम भइरहेका छन् । पृथ्वीमा उत्पत्ति भएर ‘होमोसेपियन्स’ कहलाइएको यो प्राणी छिटोभन्दा छिटो यो ‘आइडेन्टिटी’ परिवर्तन गर्न चाहन्छ । ऊ ‘होमोसेपियन्स’बाट ‘मार्सियन’ हुन चाहन्छ । ‘मार्सियन’ अर्थात् मंगल ग्रहको बासिन्दा । पृथ्वीबाट मंगल ग्रहमा पुगी बसोबास गर्ने मानिसलाई यही नयाँ ‘आइडेन्टिटी’ ले चिनिने छ, निकट भविष्यमा ।
बलिउड सिनेमा ‘द मार्सियन’मा अभिनेता मैट डैमनले भने ‘होमोसेपियन्स’ बाट मार्सियन बन्ने अवसर पाएका थिए । यो त भयो कल्पनाको कुरा, तर यस कल्पनालाई साकार गर्न विश्वभरका अन्तरिक्ष एजेन्सीका साथै विश्वकै धनाढ्य एलन मस्क लागिपरेका छन् । आगामी ५–६ वर्षभित्र अर्थात् २०२६ सम्ममा मंगल ग्रह पुग्ने एलनको दाबी रहेको छ ।
यसै बहुप्रतीक्षित र अतिमहत्वाकांक्षी सपनालाई परिपूर्ति गर्ने दिशाको अग्रिम पाइलास्वरुप अमेरिकी स्पेस एजेन्सी नासाले आफ्नो नयाँ मंगल अभियानको ‘रोवर’ लाई मंगल ग्रहमा सफलतासाथ अवतरण गराएको छ । फेब्रुअरी १८ को राति यस अमेरिकी अभियानको ‘पर्सिवरेन्स मार्स रोवर’ ले मंगलमा अवतरण गरेको थियो ।
अवतरणपछि रोवरले पठाएको सन्देश आई पुग्नासाथ परियोजनामा संलग्न व्यक्तिले ताली बजाएर खुसी प्रकट गरेका थिए । रोवरको यस अवतरणले नासाको दस वर्षको मेहनत सफल भएको छ ।
नासाको यस अभियानको उद्देश्य मंगलमा जीवनको सम्भावना खोज्नु रहेको छ । ‘पर्सिवरेन्स मार्स रोवर’ मंगल ग्रहको अप्ठ्यारो स्थान ‘जेजेरो क्रेटर’ मा अवतरण गरेको छ । वैज्ञानिकका अनुसार मंगलको यस ठाउँमा अर्बौं वर्षअघि एउटा नदी बग्दथ्यो । मंगल ग्रहको बदलिएको वातावरण र पर्यावरणले त्यो नदी सुकेर डेल्टामा परिणत भयो ।
वैज्ञानिकहरुलाई विश्वास छ– यस डेल्टा वरिपरी सूक्ष्म जीवनका जीवाष्म भेटिन सक्छन् । मंगल ग्रहमा केही अर्ब वर्षअघि नदी बग्थ्यो भने त्यहाँ सूक्ष्म जीवन पक्कै पनि विकसित भयो होला ! यो सूक्ष्म जीवन कहाँसम्म कतिसम्म ‘लाइफ’ का कुन–कुन ‘डोमेन’सम्म विकसित भयो होला, यसबारे केही अनुमान लाउन सकिँदैन । यदि मंगल ग्रहमा जीवन सुरु भएको थियो र, पछि कुनै कारणले नष्ट हुन पुग्यो । त्यसो हो भने मंगल ग्रहको यस क्षेत्रमा सूक्ष्म जीवनका जीवाष्म भेटिने सम्भावना रहन्छ ।
अत्याधुनिक वैज्ञानिक उपकरणजडित ‘पर्सिवरेन्स रोवर’ले मंगलको यस स्थानमा खनी–खोस्री गरि सुक्ष्म जीवनबारे अनुसन्धान गर्नेछ । ६ पाङ्ग्रा भएको यो ‘रोवर’ न्यूक्लियर शक्तिबाट सञ्चालित हुन्छ । यस अभियानको प्रमुख उद्देश्यमा मंगल ग्रहमा भविष्यमा मानव बस्ती बसाउने सम्भावना छ कि छैन भनेर अध्ययन गर्नु पनि रहेको छ ।
नासाको यो अभियान निकै चुनौतीपूर्ण थियो । पहिलो, नासाले यस अभियानको रोवर अवतरणका लागि अति विकट स्थान जेजेरो क्रेटरलाई अवतरणस्थल बनाएको थियो र, दोस्रो, यसपालि रोवरको भार एक टनभन्दा बढी रहेको थियो ।
नासाको यो रोवर सामान्य नभएर पाँचौं पुस्ताको विकसित रोवर हो । यसलाई कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स) कै कमाल मान्नुपर्छ । यो ‘रोवर’ले आउँदो दस वर्षसम्म काम गर्नेछ । यसले मंगलबाट पृथ्वीस्थित नियन्त्रण कक्षलाई अनेक किसिमका जानकारी पठाइरहनेछ । यसले पठाएका सन्देश (फोटोलाई पृथ्वीमा आइपुग्न झन्डै ११ मिनेट लाग्नेछ ।
नासाको पृथ्वीस्थित नियन्त्रण कक्ष र ‘रोवर’का बीचको दूरी प्रत्येक दिन बदली रहन्छ अर्थात् ‘रोवर पर्सिवरेन्स’ले पठाएका सन्देश पृथ्वीमा आइपुग्न लाग्ने समय बदली रहनेछ । दुवैबीचको दूरी बढेर ४० करोड किमिसम्म हुन पुग्नेछ । दूरी बढ्दै जाँदा ‘रोवर’ले पठाएका सन्देश नियन्त्रण कक्षसम्म आइपुग्ने समय थपिँदै जानेछ । रेडियो सन्देशले प्रकाशको गति बराबर २ लाख ९९ हजार ७९२.४५७ किमीप्रति सेकेन्डले गति लिने गर्छ । दूरी ४० करोड पुग्दा रोवरले पठाएका सन्देश पृथ्वीमा आइपुग्न २२ मिनेट लाग्नेछ र, पृथ्वीबाट पठाइएको सन्देश पुग्न पनि त्यत्ति नै समय लाग्छ ।
‘रोवर’को अवतरणको क्रममा नासाको यानले मंगलको अर्बिटमा प्रवेश गरेको थियो । त्यसपछि ‘रोवर’ राखिएको ल्यान्डर अर्थात् मंगलमा प्रवेश गर्ने क्याप्सुल यानसँग विच्छेद भएर मंगल धरातलको दिशामा अघि बढेको थियो । यस क्याप्सुलमा पनि अनेकौं इन्जिन रहेका थिए । यो झन्डै २० हजार किमी प्रति घन्टाको गतिले मंगल ग्रहको माथिल्लो वातावरणमा प्रवेश गरेको थियो । मंगलको माथिल्लो वायुमण्डलमा प्रवेश गर्नासाथ भएको घर्षणका कारण क्याप्सुलको तल्लो भागको तापमान १ हजार ३ सय डिग्री सेल्सियस हुन पुगेको थियो । तर, क्याप्सुलको डिजाइन नै यसरी गरिएको थियो कि यसभित्र राखिएको ‘रोवर’लाई भने कुनै हानि भएन ।
यसपछि क्याप्सुलमा रहेको प्यारासुट खोलियो । प्यारासुट खोलिनासाथ क्याप्सुलबाट ‘रोवर’ राखिएको अर्काे क्याप्सुल विच्छेद भई प्यारासुटका माध्यमले मंगलको यात्रामा अघि बढ्यो । ‘रोवर’मा जडान गरिएको राडारले यसलाई सारा जानकारी उपलब्ध गराइरहेको थियो । ‘रोवर’मा अवतरणका लागि एउटा अति उच्च प्रविधि ‘टेरेन रिलेटिभ नेभिगेसन’ जडान गरिएको थियो । यस प्रविधिले ‘रोवर’लाई ओर्लिने ठाउँको नक्सा र फोटो उपलब्ध गराइरहेको थियो, यसकै आधारमा ‘रोवर’ मंगल विजय गर्ने क्रममा सुरक्षितरूपले अघि बढ्दै गयो । नासाले यस अभियानको अवतरणमा ‘स्काइक्रेन’ प्रविधिको प्रयोग गरेको थियो । नासाले यसअघि यसै प्रविधिबाट आफ्नो एउटा ‘स्पेस प्रोभ’ ओसिरिस–आरइएक्स एउटा छुद्र ग्रह ‘१०१९५५ बेन्नु’ मा सन् २०१८ मा अवतरण गराएको थियो ।
‘रोवर पर्सिवरेन्स’ले आउँदो दस वर्षसम्म मंगल ग्रहमा विचरण गर्दै अनेकौँ वैज्ञानिक प्रयोग गर्नेछ । माटो, ढुंगा, बालुवाका नमुना एकत्रित गर्नुका साथै यसले बालुवामा ‘माइक्रोब्याक्टेरियल’ जीवनको जीवाष्म खोज्ने महत्वपूर्ण काम गर्नेछ । ‘रोवर’ले मंगल ग्रहमा अक्सिजन बनाउने काम पनि गर्नेछ । यो ‘रोवर’ कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टिेलिजेन्स) को सर्वाेत्कृष्ट संरचना एवं प्रयोग साबित हुने आशा गरिएको छ । नासाले यसलाई थप कुनै कमाण्ड नपठाए पनि आउँदो दस वर्षसम्म यसले काम गरिराख्नेछ । यसको मेमोरीमा नासाका वैज्ञानिकले दस वर्षको कमाण्ड लेखेर यसलाई बनाएका हुन् । यसले दस वर्षसम्मका लागि लिखित सबै कमाण्ड स्वतः सञ्चालित गरी काम गरिरहने छ ।
‘रोवर’ले आफूसँग रहेको एउटा ड्रोन हेलिकप्टरलाई पनि मंगलको सतहबाट आकाशमा उडाउने काम गर्छ । ‘रोवर’मा हेलिकप्टरलाई ५ पटकसम्म उडाउने ‘बुद्धि’ हालिएको छ । यस हेलिकप्टरले उडेर माथि आकाशबाट मंगल ग्रहका तस्बिर लिनुका साथै अन्य महत्वपूर्ण जानकारी जुटाउने छ । रोवर र हेलिकप्टर दुवैमा अनेकौं क्यामेरा, माइक्रोफोनका साथै थुप्रै वैज्ञानिक उपकरण जडान गरिएका छन् ।
नासाको यस ‘रोवर’ले अहिलेसम्म मंगल ग्रहका विभिन्न तस्बिर खिचेर पठाइसकेको छ । ‘रोवर’सँग रहेको हेलिकप्टर ‘इनजेन्युनिटी’ले पनि आफ्नो खबर पृथ्वीस्थित नियन्त्रण कक्ष क्यालिफाेर्नियास्थित ‘जेट प्रपोलसन ल्याबोरेटेरी’ (जेपीएल) लाई पठाइसकेको छ ।
सामाजिक सञ्जाल ट्विटरमा यस अमेरिकी ‘पर्सिवरेन्स मार्स रोवर’का नामले अकाउन्ट नै सञ्चालित छ । यस अकाउन्टबाट प्रत्येक दिन यसले मंगल ग्रहमा गरिएका गतिविधिका सारा जानकारी ‘अपडेट’ गरिन्छ । नासाले पनि सामाजिक सञ्जालमा रहेका थुप्रै अकाउन्टबाट ‘रोवर’ले गरेका गतिविधि विषयक सारा जानकारी ‘पोस्ट’ गरी रहन्छ । ‘रोवर’ले मंगल ग्रहका विभिन्न एङ्गलले खिचेका फोटो पठाउने कार्य जारी राखेको छ ।
केही दिनभित्रै ‘रोवर’ले मंगल ग्रहमा रहेको अत्यधिक कार्बनडाइक्साइडबाट अक्सिजन बनाउने कार्य गर्नुका साथै त्यहाँ रुख रोप्ने, हेलिकोप्टर उडाउनेलगायत थुप्रै वैज्ञानिक प्रयोग गर्नेछ । नासाले आगामी दुई वर्ष अर्थात् २०२३ भित्रै अर्को दुईवटा ‘रोवर’ पठाएर यसले संकलन गरेका अनेकौं नमुना पृथ्वीमा ल्याउने योजना पनि बनाएको छ । स्मरण रहोस् आजका मितिसम्म मंगल ग्रहबाट सूचना र फोटोबाहेक अन्य कुनै किसिमको नमुना पृथ्वीमा ल्याउन सकिएको छैन । अहिलेसम्म मंगल ग्रहको यात्रा एकतर्फी ट्राफिक मात्रै रहेको छ ।
प्रतिक्रिया