चेक बाउन्सका घटनामा वृद्धि

चेक बाउन्सका घटनामा वृद्धि


काठमाडौं
पछिल्लो समय चेक बाउन्सका घटना बढिरहेको तथ्यांकले देखाएको छ । विशेषगरी चेक काट्नेलाई कानुनी ज्ञान नभएका कारण चेक बाउन्सका घटना बढिरहेको उच्च अदालत पाटनले जनाएको छ । आफ्नो खातामा पैसा नभईकन चेक काट्दा साट्न जाँदा बैंकले त्यसलाई बाउन्स गर्छ । अर्थात् यस चेक काटिएको खातामा पैसा छैन, यो खाली चेक हो भनेर प्रमाणित गर्ने काम बैंकले गर्छ । जुन चेक बाउन्स हो ।

उच्च अदालतका अनुसार चालू आर्थिक वर्षको साउनदेखि माघ मसान्सतसम्म ६०५ वटा चेक बाउन्सका मुद्दा परेका छन् । जसमा १० वटा विराटनगर, ८ वटा जनकपुर, दुईवटा वीरगन्ज तथा मकवानपुरबाट तीनवटा चेक बाउन्सका मुद्दा परेका छन् । गतवर्ष यस्ता २२९ वटा मुद्दा परेको उच्च अदालतले जनाएको छ ।

विषेशगरी कानुनी ज्ञानको अभावका कारण चेक बाउन्स सन्बन्धी मुद्दा बढेको उच्च अदालतका रजिस्टार बाबुराम दाहालले बताए । उनले भने, ‘चेक बाउन्स हुँदा के सजायँ हुन्छ भन्ने ज्ञानको कमीले यस्ता मुद्दा बढेको देखिन्छ ।’ त्यस्तै चिनजानकालाई विश्वास गर्दा त्यसको दुरुपयोग गरी पैसा नभएको चेक काटेर दिँदा चेक बाउन्स भएका पनि कतिपय घटना छन् । यस्ता घटनामा अधिकांश व्यापारिक कारोबारबाट भएको रजिस्टार दाहालले बताए ।

चेक बाउन्स भएपछि चेक काटेर दिनेलाई कानुनी कारबाही हुन्छ । त्यस्तो खाली चेक काट्ने व्यक्तिलाई बैंकिङ कसुर तथा सजायँ ऐन, २०६४ बमोजिम बिगो बराबर जरिमाना र तीन महिनासम्म कैदको कानुनी व्यवस्था छ ।

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को पछिल्लो तथ्यांक अनुसार हरेक वर्ष बैंकिङ कसुरका घटना बढिरहेका छन् । सीआईबीले विभिन्न बैंकिङ कसुरका घटनामा हालसम्म २०५ जना पक्राउ परेका छन् । जसमा २१ अर्ब ९७ करोड ७६ लाख ३० हजार ७४१ रुपैयाँ घोटाला भएको भन्दै बिगो दाबी गरी अदालतमा मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा बैंकिङ कसुरका घटना हरेक दिनजसो बढेको सीआईबीले जनाएको छ ।
राजधानीबाट

Logo