छाउगोठ भत्काउने अभियानमा कैलालीका महिला

छाउगोठ भत्काउने अभियानमा कैलालीका महिला


टीकापुर

कैलालीको लम्कीचुहा नगरपालिकासमेत छाउपडी प्रथाबाट अछुतो छैन । यहाँ धेरै महिला छाउपडी बारेकै अवस्थामा हिंसात्मक घटनामा परेका छन् । कतिपय महिलाले ज्यानसमेत गुमाएका छन् ।

छाउपडी प्रथा महिला हिंसाको कारक भएको बताउँदै जनप्रतिनिधिहरूले नगर कार्यपालिका बैठकमा आवाज उठाए । सोही बैठकले छाउपडी प्रथा उन्मूलन अभियान सञ्चालन गर्ने निर्णय गर्यो । नगरपालिकाले गत वर्ष छाउगोठको लगत संकलन गरेको थियो । जसमा जनप्रतिनिधिहरू आफैं खटिए । नगरपालिकाका विभिन्न वडामा गरी नौ सय छाउगोठ भेटिएको बताइएको छ ।

नगरपालिकाले पुस ६ गतेदेखि छाउपडी प्रथा उन्मूलन अभियान थालेको हो । अभियानको सुरुवातमा नगरपालिकाले सरोकारवालासँग रायसुझाव संकलन गरेको थियो । जसमा छाउपडी प्रथाको बाधकका रूपमा रहेका मानिएका धामी, झाँक्री, ज्योतिषी, पण्डित, गुरुबा थिए । उनीहरुले छाउपडी प्रथा धार्मिक आस्थासँग सम्बन्धित नरहेको सामूहिक प्रतिक्रिया दिँदै सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । सरोकारवाला अन्यले समेत नगरपालिकाको अभियानमा साथ दिने बताए ।

नगरपालिकाले सबै सरोकारवालाको सकारात्मक प्रतिक्रिया पाएपछि यतिबेला छाउपडी प्रथा उन्मूलन अभियान अन्तर्गत घरदैलो अभियान थालेको छ । उपमेयर टीका थापाको संयोजकत्वमा गठित मूल समन्वय समितिले घरदैलो अभियानको नेतृत्व गरेको छ । जसमा जनप्रतिनिधि, सामाजिक कार्यकर्ता, महिला अधिकारकर्मी लगायतको सहभागिता छ । उनीहरूले अभियानका क्रममा महिलालाई छाउपडी प्रथाको नकारात्मक असरबारे सचेतता फैलाउने काम गरेका छन् ।

अभियानमा महिलाको सहभागिता बढ्दै गएको छ । उनीहरू आफै छाउगोठ भत्काउन अग्रसर भएका छन् । ‘हामीले छाउपडी प्रथाको नकारात्मक असरबारे मात्रै भन्ने गरेका छौं,’ उपमेयर थापाले भनिन्, ‘महिला आफै छाउगोठ भत्काउन तयार भइरहेका छन् ।
नागरिकबाट

Logo