राजकीय सम्मानबिना नै पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्येष्टि

राजकीय सम्मानबिना नै पूर्वप्रधानमन्त्री डा. गिरीको अन्त्येष्टि


काठमाडौं । पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको पशुपतिमा अन्त्येष्टि गरिएको छ । मंगलबार ९३ वर्षको उमेरमा निधन भएका गिरीको विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको हो ।

डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको श्रीमती साराह गिरीले जानकारी दिईन् । “साधारण नागरिकका रुपमा बिदाइ हुने उहाँको अन्तिम इच्छा थियो, नागरिकको पदलाई उच्च बनाउन उहाँले यस्तो इच्छा राख्नुभएको हो”, श्रीमती गिरीले भनिन् ।

पशुपतिमा अन्त्येष्टि गरिए पनि गिरीका नाममा कुनै कर्म नगरिने पारिवारिक स्रोतले जनाएको छ । उनको अन्त्येष्टिमा पूर्वउपप्रधानमन्त्री भीम रावल, पूर्वउपप्रधानमन्त्री कमल थापा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप गिरी, पूर्व मन्त्री सुनीलबहादुर थापा, टंक ढकाललगायत नेता पशुपति पुगेका थिए ।

डा. गिरी विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गर्ने पहिलो पूर्वप्रधानमन्त्री बनेका छन् । यसअघि पूर्वप्रधानमन्त्री सुशील कोइरालाको अन्त्येष्टि विद्युतीय शवदाह गृहमा गर्ने भनिए पनि परिवारले मानेका थिएनन् ।

महेन्द्र, वीरेन्द्र र ज्ञानेन्द्र शाहको शासनकालमा डा. गिरी प्रधानमन्त्री र मन्त्रिपरिषद्को उपाध्यक्ष बनेका थिए । नेपाली कांग्रेसबाट राजनीति शुरु गरेका गिरी विसं २०१७ पुस १ गतेको शाही कदमपछि पञ्चायतमा सक्रिय थिए ।

Logo