महिलाको शंकास्पद मृत्यु, परिवारबाटै हत्या भएको माइतीपक्षको आरोप

महिलाको शंकास्पद मृत्यु, परिवारबाटै हत्या भएको माइतीपक्षको आरोप


सिरहा,

सिरहाको लहान नगरपालिका १९ छर्रापट्टि गाउँकी २२ वर्षीया नुरजहाँ खातुनको परिवारले कुटपिट गरी हत्या गरेको आरोप माइती पक्षले लगाएको छ । घाइते अवस्थामा बिहीबार राति लहान हुँदै विराटनगर पुर्याइएकी उनको विराट नर्सिङ होममा मृत्यु भएको थियो ।

सिरहाको सुखीपुर नगरपालिका–२ विद्यानगरकी खातुनको तीन वर्षअघि समीर राइनसँग विवाह भएको थियो । उनीहरूको ६ महिनाको छोरा र डेढ वर्षकी छोरी छन् । उनको शव विराटनगरबाट शुक्रबार दिउसो घर ल्याउनेक्रममा माइती पक्षले हत्या गरिएको भन्दै पोस्टमार्टम गराउनुपर्ने अडान लिएपछि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ ।

मृतकका पति र सासू बाटोबाटै फरार

नुरजहाँलाई लिएर विराटनगर गएका पति समीर र सासू बतुलिया खातुन शव ल्याउनेक्रममा सुनसरीको इनरुवामा ओर्लिएर फरार भएका छन्  । मृतकको दाहसंस्कार गर्ने तयारीका साथ शव ल्याउँदै गर्दा माइतीपक्षले प्रहरीमा उजुरी गरेपछि उनीहरू भागेको आशंका गरिएको छ । सिरहाको खिरौना लवटोली घर भएका मामा जहाँगिरका अनुसार भान्जीलाई राति कुटपिट गरी गम्भीर घाइते बनाएपछि अन्तिम अवस्थामा लहान ल्याइएको थियो ।

नुरजहाँका पति समीर बेरोजगार भएको र दिनभर साथीसंगीसँग बरालिएर घर फर्किने अनि आफूलाई लगातार कुटपिट गर्ने गरेको भान्जीले फोनमा सुनाउने गरेको जहाँगिरको भनाइ छ । लहानमा भान्जीको शव हेर्न आएका मामा जहाँगिरले भक्कानिँदै भने, ‘भान्जीको विवाह भएको तीन वर्षदेखि कहिल्यै कुटपिट नगरेको दिन नै थिएन, अन्ततः ज्यान नै लिए ।’ प्रहरीले पोस्टमार्टम रिपोर्ट आएपछि मृत्युको कारण खुल्ने बताएको छ ।
नयाँ पत्रिकाबाट

Logo