प्रचण्ड र नेपालद्वारा भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार

प्रचण्ड र नेपालद्वारा भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार


काठमाडौं । दुई पूर्व प्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले भारतीय विदेशमन्त्रीलाई भेट्न अस्वीकार गरेका छन् । नेपाल–भारत विदेशमन्त्री स्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेशमन्त्री एस जयशंकरलाई भेट्न अस्वीकार गरेका हुन् ।

प्रोटकलका कारण उनीहरूले भेट्न अस्वीकार गरेको नेकपा स्रोतले जनाएको छ । जयशंकर बसेको होटल द्वारिकाजमा गएर भेट्न दुवै नेताहरूलाई निमन्त्रण दिइएको थियो । तर उनीहरूले प्रोटकलका कारण होटलमा गएर भेट्न अस्वीकार गरेका हुन् ।

जयशंकरका तर्फबाट होटलमा भेट्न निमन्त्रण आए पनि प्रचण्ड र नेपालले अरु नेताहरुले भन्दा फरक निर्णय लिएका हुन् । प्रचण्डले बिहीबार बिहान ८ बजे पार्टी सचिवालयको बैठक चलेकाले त्यो समयमा जयशंकरलाई भेट्न असमर्थ रहेको खबर पुर्‍याएका थिए।

प्रचण्डले आफ्ना केही निकटसँग सत्ताधारी पार्टीको अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीका हैसियतमा त्यहाँ गएर कुनै मन्त्रीलाई भेट्नु ‘प्रोटोकल’ विपरित भएको धारणा राखेका थिए ।

त्यस्तै नेता नेपालले पनि त्यही आधारमा जयशंकरलाई भेट्न अस्वीकार गरेका थिए । प्रधानमन्त्री ओलीलाई बालुवाटर पुगेर भेटेका जयशंकरसँग प्रचण्ड र नेपाल बाहेकका अरु पूर्व प्रधानमन्त्रीहरु द्वारिकाज गएर भेट गरेका थिए । कांग्रेस सभापति शेरबहादुर देउवा, बाबुराम भट्टराईसहितका पूर्व प्रधानमन्त्रीहरूले विदेशमन्त्रीलाई होटलमै गएर भेटेका हुन् ।

Logo